तरकारीले उकासिँदै जीवनस्तर



कालीकोट ।

कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताकी शान्ति चौलागाइँको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । कुनैबेला उनलाई समय घरायसी आवश्यकताका सामान्य खर्च टार्नसमेत अरूको भर पर्नुपर्ने अवस्था थियो । तर हाल चौलागाईले आफ्नै बारीमा तरकारी फलाएर बिक्री गर्न थालेपछि जीवनस्तर उकासिँदै गएको हो । शान्तिजस्तै शुभकालिकाका झण्डै ४० जनाभन्दा बढी किसानहरू आफ्नै बारीमा विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् । उक्त उत्पादनले किसानहरू घरको आवश्यकता पूरा गर्नेदेखि अतिरिक्त उत्पादन बिक्री गरी आम्दानी गर्न थालेका छन् ।

तरकारी बिक्रीबाट भएको आम्दानीले मासिक बचत गर्ने बानीको विकास भएको लालधरा रोकायाले बताइन् । शुभकालिका–२ र ३ नम्बर वडाका कृषकहरू समूह बनाएर तरकारी खेतीमा लागेपछि आफ्नो जीवनस्तरमा आर्थिक सुधार हुँदै गएको बताउँछन् । कृषि उत्पादनसँगै उनीहरूको आत्मविश्वास र निर्णय गर्ने क्षमता पनि बढेको किसानहरूको अनुभव छ । देउती बज्यै कृषक समूहमा आवद्ध २९ जना कृषकहरूले आफ्नै बारीमा तरकारी थालेको स्थानीय पदमकला रोकायाले बताइन् ।

‘सुरुमा त हामीले कसरी खेती गर्ने भन्ने बारेमा पनि अन्योल थियो,’ उनले भनिन्, ‘समूहमा आबद्ध भए पनि सदस्यहरूबीच एक आपसमा छलफल गर्दै कसरी उत्पादन बढाउने भन्ने योजनाअनुसार काम गर्दा आम्दानी बढेको छ ।’ उनका अनुसार किबसानहरूलाई स्थानीय उत्पादनहरू कसरी बढाउने, जलवायु अनुकुलनसहित तरकारी खेती गर्न सकिन्छ ? र अर्गानिक उत्पान कसरी बढाउन सकिन्छ ? भन्ने बिषयमा तालिम दिइएको थियो । तालिमपछि आफुहरू तरकारी उत्पादनमा आकर्षित भएको रोकायाले बताइन् ।

‘बारीमा तरकारी उत्पादन हुन थालेपछि दैनिक आवश्यकताका साना–साना खर्चका लागि समेत अरूको घरपरिवारमा निर्भर हुनुपर्ने बाध्यता छैन,’ उनले भनिन्, ‘पहिले सानो खर्चका लागि पनि घरमा अरूको भर पर्नुपर्ने अवस्था थियो ।’ घरमा चाहिने तरकारी आफैं उत्पादन गर्न थालेपछि बढी भएको बिक्री गरेर आम्दानी भइरहेको शुभकालिका–३ की मंगला खड््काले बताइन् । तरकारी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक व्यवस्थापनमा सहयोग पुगेको उनी बताउँछिन् ।

‘तरकारी फलाएर बेच्न थालेपछि छोराहरूलाई पढाउन सहज भएको छ,’ उनले भनिन्, ‘तरकारी खेतीबाट खर्च कटाएर वार्षिक २० देखि २५ हजार रूपैयाँँसम्म आम्दानी हुने गरेको छ ।’ किसानहरूको जीवनमा आएको यो परिवर्तनमा सेभ द चिल्ड्रेनको सहयोगमा भिडिसेफ नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाको सहयोग महत्वपूर्ण छ । परियोजनामार्फत किसानलाई बीउबिजन, कृषि औजार, सिँचाइका लागि पाइप तथा ट्यांकी र पोलिहाउस निर्माणमा सहयोग गरिएको हो । पोलिहाउसले मौसम तथा जलवायुजन्य जोखिमबाट बाली जोगाउन सहयोग पु¥याएको उनीहरू बताउँछन् ।

आवश्यक कृषि सामग्री र सिँचाइको व्यवस्था भएपछि तरकारी उत्पादन गर्न सहज भएको स्थानीय पविता बुढाले बताइन् । ‘तरकारी खेतीका लागि आवश्यक प्राविधिकसहितको सहयोग पाए पछि तरकारी उत्पादन गर्न सजिलो भएको छ,’ उनले भनिन्, ‘पहिले तरकारी खेतीका लागि उपयुक्त समय थाहा पाउन पनि गाह्रो थियो, त्यसैमा सिँचाइका लागि पाइप र ट्यांकीको व्यवस्था भएपछि पानीको उपलब्धताले सहज भयो ।’

मल उत्पादनसँगै आत्मनिर्भरताको बाटोमा

सहयात्रा परियोजनाले किसानलाई कृषि सामग्री उपलब्ध गराउनुका साथै विभिन्न तालिमसमेत प्रदान गरेको छ । तालिमबाट किसानहरूले जैविक मल तथा झोल मल बनाउने, बाली व्यवस्थापन र जलवायु अनुकूल कृषि प्रणालीका विषयमा व्यवहारिक ज्ञान हाँसिल गरेका छन् । परियोजनाले तालिम दिए पछि तीन किसिमको झोल मल बनाएर बारीमा प्रयोग गरिएको स्थानीय इशरा रोकायाको भनाइ छ । ‘मल कसरी बनाउने, झोल मल कसरी तयार गर्ने, जलवायु परिवर्तनअनुकूल खेती कसरी गर्ने भन्ने कुरा तालिमबाट सिकेका छौँ,’ उनले भनिन्, ‘त्यही सिकाइअनुसार खेती गर्दा उत्पादन पनि बढ्यो । अब गाउँलाई जलवायु न्यायिक गाउँ बनाउने अभियानमा जुटेका छौँ ।’

तरकारी खेतीबाट आएको परिवर्तन आर्थिक पक्षमा मात्र सीमित छैन । यसले महिलाको आत्मनिर्भरता र निर्णय गर्ने क्षमतामा समेत सकारात्मक प्रभाव पारेको किसानहरूको अनुभव छ । आफ्नै श्रमबाट उत्पादन गर्ने, उत्पादनको मूल्य निर्धारण गर्ने, बिक्रीबाट आएको रकम व्यवस्थापन गर्ने र घरका आवश्यकतामा त्यसको उपयोग गर्ने अवसरले महिलामा आत्मविश्वास बढाएको छ । शुभकालिकाका किसानहरूको अनुभवले सानो कृषि सहयोगले पनि ग्रामीण परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने देखाएको छ ।

बीउबिजन, कृषि औजार, सिँचाइ र पोलिहाउस जस्ता आधारभूत पूर्वाधारसँगै आवश्यक तालिम पाएपछि किसानहरू उत्पादनतर्फ आकर्षित भएका छन् । भने आफूले सिकेको सीपलाई आफ्नै बारीमा प्रयोग गर्न थालेका छन् । जैविक मल बनाउनेदेखि बीउ उत्पादन र जलवायु अनुकूल खेतीसम्मका ज्ञानले उनीहरूलाई परम्परागत खेती प्रणालीलाई क्रमशः व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग गरेको छ । किसानका लागि तरकारी बारी घरको आवश्यकता पूरा गर्ने आम्दानीको स्रोत, बचतको आधार र छोराछोरीको भविष्य निर्माण गर्ने माध्यम बन्दै गएको छ ।

तरकारी खेतीका माध्यमबाट किसानहरूको जीवनस्तर उकास्न र जलवायु अनुकूलनसहतिको न्यायिक गाउँ बनाउनका लागि भर्तामा परियोजनामार्फत विभिन्न क्रियाकलाप भइरहेको भिडिसेफ नेपालका कार्यक्रम संयोजक मानबहादुर शाहीले बताए । कृषकहरूलाई विभिन्न किसिमका सीपमुलक तालिम, बीउबिजन तथा तरकारी खेतीका लागि प्राविधिक लगाएतका सहयोग उपलब्ध गराइएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार