सल्यान ।
सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्थानीयस्तरमा स्वास्थ्य जोखिम बढेको छ । पछिल्लो तीन सातामै संक्रमणका कारण चार जनाको मृत्यु भएपछि गाउँपालिकाका बासिन्दामा त्रास बढेको हो । ज्वरोका बिरामीको सङ्ख्या बढेसँगै स्थानीय स्वास्थ्य संस्थामा उपचार तथा परीक्षणका लागि आउने बिरामीको चापसमेत उल्लेख्य रूपमा बढेको छ ।गाउँपालिकाका अनुसार संक्रमणका कारण वडा नं. ५ लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्का, वडा नं. ६ मलिवाङका ८२ वर्षीय बलबहादुर थापा, सोही क्षेत्रका नरबहादुर बुढाथोकी र वडा नं. २ सिलिङ्गेका १२ वर्षीय नरेश ओलीको मृत्यु भएको हो ।
उनीहरूको दाङ र नेपालगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ । चार जनाको मृत्यु र ठूलो सङ्ख्यामा संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सम्भावित संक्रमणको अवस्था पहिचान गर्न स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ । बिरामीको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालय सल्यानसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीयको परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार किटमार्फत गरिएको परीक्षणमा हालसम्म एक सयभन्दा बढी व्यक्तिमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ भने संक्रमण पुष्टि हुने क्रम अझै रोकिएको छैन । अहिले पनि स्थानीय स्वास्थ्य संस्थामा दैनिक तीन–चार जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भइरहेको उनले बताए । ‘स्क्रबटाइफसको संक्रमण बढिरहँदा स्वास्थ्यकर्मीले ज्वरो आउनेबित्तिकै त्यसलाई सामान्य समस्या मानेर घरमै औषधि सेवन गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्,’ उनले भने, ‘विशेषगरी ज्वरो लामो समयसम्म रहँदा पनि मेडिकलबाट आफूखुसी औषधि सेवन गर्ने र परीक्षण नगराउने कारण संक्रमण पहिचानमा ढिलाइ हुन सक्छ ।’
उनका अनुसार दार्माका देवीराम नेपाली यसको एउटा उदाहरण हुन् । उनलाई केही दिनसम्म लगातार ज्वरो आए पनि सुरुमा सामान्य औषधि सेवन गरेका थिए । औषधि सेवनपछि पनि सुधार नभएपछि स्वास्थ्यकर्मीको सल्लाहमा परीक्षण गर्दा स्क्रबटाइफस संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि औषधि सेवन गरेका नेपालीको स्वास्थ्यमा अहिले सुधार आएको छ । स्वास्थ्यकर्मीका अनुसार स्क्रबटाइफस समयमै पहिचान गरी उपचार सुरु गर्न सके नियन्त्रणमा ल्याउन सकिन्छ । तर लक्षणलाई सामान्य ज्वरोका रूपमा लिएर उपचारमा ढिलाइ गर्दा अवस्था जटिल बन्न सक्छ ।
त्यसैले लगातार ज्वरो आएमा स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनीहरूले आग्रह गरेका छन् । स्वास्थ्यकर्मी टेकराज बोहराका अनुसार सामान्य अवस्थामा स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचारका लागि आउने गर्थे । अहिले भने दैनिक ३० जनासम्म परीक्षण तथा उपचारका लागि आउने गरेका छन् । उनका अनुसार ज्वरोका कारण स्वास्थ्य चौकीमा आउनेमध्ये सामान्य औषधि सेवन गर्दा पनि सुधार नभएका बिरामीलाई स्क्रबटाइफसको परीक्षण गर्ने गरिएको छ ।
‘संक्रमण पुष्टि भएका बिरामीलाई आवश्यक उपचार र औषधि दिने गरिएको छ,’ उनले भने, ‘बिरामीको सङ्ख्या बढेसँगै स्थानीय स्वास्थ्य संस्थामा नियमित उपचारसँगै संक्रमण पहिचान र परामर्शको कामसमेत बढेको छ ।’ यस्तै वर्षातको समयमा स्क्रबटाइफस संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । विशेषगरी घाँसपात, झाडी तथा जंगल क्षेत्रमा काम गर्ने क्रममा किर्नाको टोकाइबाट संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन उनीहरूले आग्रह गरेका छन् । दार्मामा एक सयभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको अवस्थामा संक्रमणको वास्तविक अवस्था अझै ठूलो हुन सक्ने अनुमान छ ।








प्रतिक्रिया दिनुहोस्