त्रिशूली–३‘ए’मा दोहो¥याएर खोजी



काठमाडौँ ।

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा अझै हराइरहेका मानिसको खोजी जारी छ । त्रिशूली–३‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोलीले एक चरणको खोजी पूरा गरेपछि पनि पुनः खोजी गरेको छ । तर अहिलेसम्म थप कुनै व्यक्ति जीवित वा मृत अवस्थामा फेला परेका छैनन् । भदौ १० गतेको बाढीले त्रिशूली र भोटेकोशी नदी आसपासका जलविद्युत् आयोजनाका हेडवक्र्स, पावरहाउस, आवासीय भवन, कार्यालय तथा निर्माणाधीन संरचनामा ठूलो क्षति पु¥याएको छ ।

बाढीको समयमा आयोजनाका विभिन्न संरचनामा कार्यरत सयौँ कर्मचारी, कामदार तथा प्राविधिक सम्पर्कविहीन भएका छन् । कतिपय आयोजनाका बाहिरी संरचना नै बाढीले बगाएका कारण हराइरहेकाको अवस्था पत्ता लगाउन सुरुङ, अडिट तथा पुरिएका संरचनाभित्र खोजी केन्द्रित गरिएको छ । उद्धारमा संलग्न टोलीका लागि सबैभन्दा ठूलो चुनौती बाढीपछि बनेको दलदल, पुरिएका संरचना, अवरुद्ध सुरुङ, उपकरण अभाव र कठिन भौगोलिक अवस्था बनेको छ ।नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्राविधिक, चिनियाँ, कोरियन तथा भारतीय विशेषज्ञ टोलीसमेत परिचालित छन् । बाढीले क्षति पु¥याएका आयोजनाहरूको अवस्था फरक भए पनि सबै उद्धार टोलीसामु सुरुङभित्र अझै कोही छन् कि छैनन् ? भन्ने कौतुुहलता कायमै छ ।

तर कठिन परिस्थितिबीच नेपाली सेना, आयोजनाका प्राविधिक तथा विदेशी विशेषज्ञ टोलीले सम्भावित हरेक क्षेत्रमा खोजी गरिरहेका छन् । त्रिशूली–३‘ए’मा दोहो¥याएर खोज्दा पनि थप व्यक्ति नभेटिनुले एउटा सम्भावना कमजोर बनाएको छ । तर माथिल्लो त्रिशूली–१, त्रिशूली–३‘बी’, रसुवागढी, चिलिमे तथा लाङटाङ खोलाजस्ता आयोजनामा सुरुङ वा पुरिएका संरचनाभित्र अझै मानिस हुनसक्ने आशंका पूर्ण रूपमा हटिसकेको छैन । त्यसैले अहिलेको उद्धार हराइरहेकाको खोजी मात्र नभई बाढीले तहसनहस बनाएको जलविद्युत् करिडोरमा मानवीय उपस्थितिको अन्तिम प्रमाण खोज्ने अभियान बनेको छ । समय बित्दै जाँदा जीवित उद्धारको सम्भावना स्वाभाविक रूपमा चुनौतीपूर्ण बन्दै गएको हो । तर सुरुङभित्रको वास्तविक अवस्था यकिन नभएसम्म खोजी रोक्ने अवस्था नरहेको उद्धारमा संलग्न टोलीको भनाइ छ ।

खोजी दोहो¥याउँदा पनि भेटिएनन्

त्रिशूली–३‘ए’मा बाढीपछि सुरुमा ४२ जना सम्पर्कविहीन थिए । खोजीका क्रममा १०औँ दिनमा दुई जनाको जीवितै उद्धार भयो भने एक जनाको शव सुरुङभित्रबाट फेला प¥यो । तर केही व्यक्ति सुरुङभित्र फसेको हुनसक्ने आशंकाका कारण उद्धार टोलीले सुरुङभित्र दुुई पटक खोजी गरेको हो । प्राविधिक तथा उद्धार टोलीले सुरुङको सम्भावित क्षेत्रमा दोहो¥याएर खोजी गर्दा पनि थप व्यक्ति फेला नपरेको जनाएको छ । आयोजनामा भदौ ११ गते बेलुकादेखि नै उद्धार सुरु गरिएको थियो । सुरुवाती चरणमै आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउन कठिन भएको नेपाली सेनाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग नक्सा लिएर ‘रेकी’ गरेपछि भदौ १३ गतेदेखि व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाइएको थियो । सुरुङको मुखसम्म पुग्न माथिबाट करिब २५ मिटर खन्नुपरेको थियो । त्यसपछि मात्रै सुरुङ पत्ता लागेपछि उद्धार टोली भित्र प्रवेश गरेको थियो । उद्धारका लागि आवश्यक उपकरण जुटाउनसमेत ठूलो कसरत गर्नुपरेको थियो । आयोजनास्थलमा रहेका एक्साभेटर इन्धन अभाव तथा प्राविधिक समस्याका कारण प्रभावकारी रूपमा प्रयोग हुन नसकेपछि हेलिकप्टरमार्फत थप एक्साभेटर पु¥याइएको थियो । हाल त्यहाँ ६ वटा एक्साभेटर परिचालन गरिएको छ ।

सुरुङको प्रवेशद्वार खोल्न काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग आयोजनाबाट विस्फोटन सामग्री तथा नागढुङ्गा टनेल आयोजनाबाट कम्प्रेसर झिकाइएको थियो । उपकरण ढुवानीमै पटक–पटक हेलिकप्टर उडान गर्नुपरेको थियो । ड्रिलिङ मेसिनसमेत हवाई माध्यमबाट पु¥याइएको थियो । नेपाली सेनासँगै चिनियाँ र कोरियन टोलीले समेत खोजी तथा उद्धारमा सहयोग गरेका थिए । इन्जिनियरसमेत रहेका सांसद श्रीराम न्यौपाने र सागर ढकालले पनि उद्धारमा प्राविधिक तथा अन्य सहयोग गरेको आयोजनाले जनाएको छ ।

सुरुङ सुरक्षित, आश कायमै

त्रिशूली–३‘बी’ आयोजनामा भने मुख्य सुरुङबाहेकका अधिकांश संरचना बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । आयोजनाले ४० भन्दा बढी कर्मचारी तथा कामदार पुरिएको आशंका गरेको छ । घटनाका बेला अधिकांश मानिस कार्यालय तथा आवासीय भवनमा रहेको कर्मचारी किसन अधिकारी बताउँछन् । उनका अनुसार सुरुङमा भने ठूलो क्षति भएको छैन । तर आयोजनानजिकको सुकुम्वासी बस्तीसमेत बाढीले पूर्ण रूपमा बगाएको छ । पावरहाउस, कार्यालय तथा ६ वटा आवासीय भवन पुरिएका छन् । करिब ५० मिटर क्षेत्रभित्र १५ मिटरसम्म गहिरो खाल्डो बनेको छ ।

सुरुवाती दिनमा दलदलका कारण हेभी उपकरण आयोजनास्थलसम्म लैजान सकिएको थिएन । भदौ ११ गते उद्धारका लागि पुगेको सेनाको टोलीसमेत हेलिकप्टर अवतरण गर्न नसकेपछि फर्किनुपरेको थियो । प्राविधिकको सहयोगमा भदौ १३ गतेदेखि उद्धार व्यवस्थित रूपमा अघि बढाइएको हो । हाल आयोजनाका प्रबन्ध निर्देशकसहित नेपाली सेनाका ८९ दक्ष जनशक्ति परिचालित छन् । जेनेरेटर, कम्प्रेसर तथा अन्य विपद् उद्धार उपकरणको प्रयोग भइरहेको छ । दलदल हटाउँदै अडिट टनेलमा करिब १ दशमलव ७ किलोमिटरभित्र प्रवेश गरिएको छ । खोजीका क्रममा एउटा गाडीसमेत फेला परेको छ ।

रसुवागढीको सुरुङभित्र खोजी

नेपाल–चीन सीमाबाट करिब ४ दशमलव ५ किलोमिटरको दूरीमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना बाढीबाट प्रभावित प्रमुख आयोजनामध्ये एक हो । यस आयोजनाका कर्मचारी, कामदार तथा विभिन्न कम्पनीमा कार्यरत गरी ९३ जना सम्पर्कविहीन छन् । दुई जनाको शव फेला परेको छ भने चार जनाको सकुशल उद्धार गरिएको छ । आयोजनाको हेडवक्र्सका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । पावरहाउसको बाहिरी संरचना तथा भूमिगत पावरहाउसमा रहेका अधिकांश सामग्रीमा पनि क्षति पुगेको छ । ड्याम पूर्ण रूपमा क्षतिग्रस्त भएको आयोजनाले जनाएको छ ।

आयोजनाका वरिष्ठ जियोलोजिष्ट तथा टनेल विज्ञ विष्णु सिवाकोटीका अनुसार भदौ १० गतेदेखि नै उद्धारको प्रयास थालिएको थियो । तर बाढीपछि उपकरण तथा जनशक्ति पु¥याउनै कठिन भयो । भदौ १२ गतेदेखि निरन्तर खोजी सुरु भयो । नेपाली सेनाले निरीक्षण गरेपछि मिनी एक्साभेटर प्रयोग गरेर उद्धारको काम अघि बढाइएको थियो । बाढीग्रस्त क्षेत्रमा सेनाको एमआई–१७ हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने अवस्था थियो । भदौ १४ गते एक जना कर्मचारीको उद्धार भएपछि उनकै सहयोगमा सुरुङभित्र खोजी गरिएको थियो । टोली करिब २७५ मिटरसम्म प्रवेश गर्न सके पनि त्यहाँ थप व्यक्ति फेला परेनन् । त्यसपछि पनि सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी छ । आयोजनामा कार्यरत कर्मचारीमध्ये विभिन्न कम्पनीका गरी ठूलो जनशक्ति घट्टेखोला क्षेत्रमा रहेको थियो । बाढीको समयमा को कहाँ थिए ? भन्ने विवरण यकिन गर्नसमेत कठिन भएको छ ।

शव भेटिएपछि खोजी थप तीव्र

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि नै उद्धार प्रयास सुरु गरिएको थियो । पहिलो दिन नेपाली सेनाले रेकी गरेको थियो । भदौ १३ गतेदेखि प्रत्यक्ष उद्धार कार्य अघि बढ्यो । सुरुवाती चरणमा भारतीय सेनासँगको सहकार्यमा पनि खोजी गरिएको थियो । सुरुङभित्र करिब ६० मिटर प्रवेश गरेपछि ठूला चट्टान भेटिए । त्यसपछि सहायक टनेलमा ग्यास वेल्डिङमार्फत प्वाल पारेर प्रवेश गर्ने प्रयास गरिएको थियो । भदौ १६ गते आयोजनाका तीन तथा नेपाली सेनाका २५ दक्ष जनशक्ति आवश्यक उपकरणसहित परिचालन गरिए ।

विद्युत् उत्पादन सुरु नभइसकेकाले आयोजनामा घटनाका बेला सीमित जनशक्ति मात्र कार्यरत थिए । उनीहरूमध्ये केही वेल्डिङ तथा मर्मतको काममा थिए भने अन्य पावरहाउस तथा क्वार्टरमा थिए । खोजीका क्रममा सुरुङभित्र तीन जनाको शव फेला परेको छ । थप खोजी गर्दा अन्य व्यक्ति नभेटिए पनि उद्धार कार्यलाई थप तीव्र रूपमा जारी राखिएको छ ।

मुख्य सुरुङसम्म पुग्नै सकस

२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना पनि बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ । आयोजनाका बाहिरी संरचना बाढीले बगाएको छ । भदौ १० गतेदेखि नेपाली सेनाले उद्धार सुरु गरेको थियो भने भदौ १३ गते भारतबाट आएको विशेषज्ञ खोज तथा उद्धार टोली पनि परिचालन भयो । भदौ १४ गतेदेखि संयुक्त रूपमा खोजी अघि बढाइएको थियो । सुरुमा सुरुङभित्र ठूलो मात्रामा हिलो भरिएकाले प्रवेश गर्न कठिन थियो । बाढीले सुरुङको मुखसम्मको भूभागसमेत कटान गरेका कारण ठूलो हेलिकप्टर अवतरण गर्न सम्भव थिएन ।

सानो हेलिकप्टरबाट एकपटकमा तीन जनासम्म मात्र उतार्नुपर्ने अवस्था थियो । भित्ताको आडमा हुक प्रयोग गरेर मानिस र उपकरण तान्नुपरेको थियो । सुरुङसम्म पुग्ने बाटो बनाउन स्याफ्रुबेँसी बजारबाट दुईवटा एक्साभेटर परिचालन गरिएको छ । तर लगातारको प्रयासपछि मुख्य टनेलभित्र करिब १०० मिटर बढी प्रवेश गर्न सकिने अवस्था बनेको छ । नेपाली सेनाको समन्वयमा भारतीय सेनाका करिब ४० जनशक्ति पनि खोजीमा संलग्न छन् । घटनाका बेला आयोजनामा सुरक्षा गार्ड एक, कर्मचारी एक तथा इन्जिनियर र ओभरसियर चार गरी जम्मा छ जना कार्यरत थिए । हालसम्म दुई जनाको शव फेला परेको छ । टनेलको इनलेट पोर्टलभन्दा ‘इमर्जेन्सी एसेम्बली’ क्षेत्र करिब १० मिटर माथि रहेकाले सुरुङभित्र रहेका व्यक्ति सुरक्षित स्थानमा पुगेको हुनसक्ने आशा अझै कायमै रहेको उद्धारमा संलग्न टोलीको आकलन छ ।

सबैभन्दा ठूलो चिन्ता

बाढीबाट प्रभावित आयोजनामध्ये २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ मा हराइरहेका मानिसको सङ्ख्या र आयोजनाको आकारका कारण सबैभन्दा ठूलो चासो देखिएको छ । आयोजनामा नेपाली, चिनियाँ, कोरियन तथा भारतीय नागरिकसहित एक हजारभन्दा बढी जनशक्ति कार्यरत थिए । हेडवक्र्स हाकुबेँसीमा थियो भने मैलुङ पोस्टनजिकका विभिन्न अडिट र सुरुङमा ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए । आयोजनाका रेसिडेन्ट हेड इन्जिनियर रवीन्द्र हमालका अनुसार बाढी आउँदा करिब ५०० जनाको हाराहारीमा मानिस सुरुङका विभिन्न भागमा काम गरिरहेका हुनसक्छन् । बाढीको समयमा कति जना बाहिर निस्कन सफल भए ? र कति जना सुरुङभित्र फसे ? भन्ने यकिन तथ्यांक अझै प्राप्त भएको छैन ।

नेपाली सेनाले सुरुवाती चरणमा आयोजनास्थलबाट २५४ जनाको उद्धार गरेको थियो । तर आयोजनाका अनुसार करिब ५०० जना अझै सम्पर्कविहीन छन् । आयोजनामा विभिन्न चरणका निर्माण कार्य चलिरहेका थिए । ग्राउन्डिङ, कङ्क्रिट लाइनिङ, ड्रिलिङ, इनभर्ट तथा फुल फेज लाइनिङ, भर्टिकल साफ्ट, जिभा ड्रेन, वाटर सेपेज कन्ट्रोल तथा पेनस्टक क्षेत्रमा फरक–फरक टोली परिचालित थिए । त्यसैले बाढीको समयमा मानिसहरू एउटै स्थानमा नभई आयोजनाका विभिन्न तह र सुरुङमा छरिएका थिए । यही कारण खोजी थप जटिल बनेको छ । बाढीको प्रभाव हेडवक्र्सबाट सुरु भएको अनुमान गरिएको छ । हेडवक्र्सबाट करिब दुई हजार ३०० मिटरपछि अडिट–१ तथा त्यसपछि अडिट–३ र अडिट–४ लगायतका संरचना छन् । अहिले सम्भावित सबै क्षेत्रमा सुरुङभित्र खोजी भइरहेको छ ।

नेपाली सेनाले २४ घण्टा खोजी जारी राख्ने रणनीति बनाएको छ । केही क्षेत्रमा ठूलो मात्रामा हिलो नपुगेका कारण मानिसहरू सुरुङको माथिल्लो वा सुरक्षित भागमा आश्रय लिएर बसेको हुनसक्ने अनुमान पनि गरिएको छ । यस आयोजनाबाट १०औँ दिनमा एक जनाको शव फेला परेको थियो भने ११औँ दिनमा एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो । भदौ २० गते सुरुङबाट थप दुई शव फेला परेका छन् । थप मानिस सुरुङभित्र हुनसक्ने आशंकामा नेपाली सेनाको नेतृत्वमा कोरियन तथा चिनियाँ विशेषज्ञ सम्मिलित टोलीले खोजीलाई निरन्तरता दिइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार