मालती खत्री
आज भदौ २३ । जेनजी आन्दोलन घटनाको ठिक १ वर्ष बित्यो । जेनजी आन्दोलनले खरानी बनेका कतिपय भौतिक संरचनाहरू आंशिक पुनर्निर्माण र रंगरोगन भएर फेरि उस्तै स्वरूपमा देखिन थालेको छन् । त्योमध्येको एउटा संरचना हो, कर्णाली प्रदेशसभा । प्रदेशसभा भवन बिस्तारै पुरानो लयमा फर्कँदै छ । तर बाहिरबाट हेर्दा यो भवन जति चम्किलो र शान्त देखिन्छ, तर यसको ठिक नजिकै बस्ने दुई निर्दोष दाजुभाइको मनभित्रको दन्किएको आगोको ज्वाला भने अझै शान्त हुन सकेको छैन् । भौतिक संरचनाहरू त इँटा, बालुवा र सिमेन्टले केही महिनामै ब्युँतिने प्रयास भइरहेको छ तर ती कलिला बालकहरूको मस्तिष्कमा लागेको चोट भने अझै उस्तै छ । यस्ता हिंस्रक राजनीतिक आन्दोलनहरूले केवल ढुङ्गा र माटोका पर्खालहरू मात्र ढाल्दैनन्, बरु देशको अर्थतन्त्र र आउने पुस्ताको भविष्यमा कहिल्यै निको नहुने गहिरा घाउहरू छोडेर जानछन् । भौतिक संरचना जल्दा आखिर कसलाई के फाइदा भयो र ? यसले न त कसैको अधिकार स्थापित ग¥यो, न त समाजलाई विकासको बाटोमा हिँडायो । उल्टै, जनताले रगत र पसिना बगाएर तिरेको करबाट बनेका सरकारी सम्पत्ति खरानी हुँदा त्यसको प्रत्यक्ष आर्थिक भार फेरि पनि तिनै नागरिक र हाम्रा आउने पुस्ताको काँधमा थुप्रिन पुगेको छ । यी दुई दाजुभाइको सिंगो बाल्यकाल कर्णाली प्रदेशसभाको वरिपरि नै बित्यो । उनीहरूले ताते ताते गर्दै पाइला चाल्न सिकेको, पहिलोपटक शब्दहरू उच्चारण गर्न थालेको र संसारलाई चिन्न थालेको ठाउँ यही थियो । आफू खेलेर हुर्किएको, हरेक कुना–कन्दरासँग आत्मीयता जोडिएको र आफ्नो बाल्यकालको सुन्दर संसार मानिएको त्यही परिसर आफ्नै आँखाअगाडि ध्वस्त हुँदा ती बच्चाहरूको मनमा कस्तो बज्रपात प¥यो होला ? जुन पेरिफेरिमा उनीहरूले हाँस्न र रमाउन सिकेका थिए, त्यही परिसर क्षणभरमै खरानीको थुप्रोमा परिणत भएको देख्दा उनीहरूको सुरक्षित संसार नै एकाएक भत्कियो । भौतिक संरचना त सरकारले बजेट छुट्याएर फेरि ठड्याउने रहेछ । तर आफू खेले हुर्केको परिसर ध्वस्त रहँदा उनीहरूको कलिलो मस्तिष्कमा जुन रिक्तता र असुरक्षाको भावना पैदा भयो, त्यसलाई भर्न सजिलो छैन । गत भदौ महिनाको त्यो कालो रात यी दुई भाइले आफ्नो जीवनभर कहिल्यै बिर्सन सक्ने छैनन् । जेनजीका नाममा सडकमा उत्रिएका आक्रोशित आन्दोलनकारीहरूले अचानक प्रदेशसभा भवनमा आगो लगाइदिए । आँखाले देख्दादेख्दै सुन्दर भवन आगोको चपेटामा प¥यो र त्यसको केहीबेरमै नजिकै रहेको मुख्यमन्त्री, कृषिमन्त्रीको निवास, प्रदेश लेखामा पनि उस्तै गरी दनदनी बल्न थाल्यो । त्यो रातभरि यी दुई दाजुभाइले आफ्नो डेराको झ्यालबाट आगोको त्यो भयानक रूप देखिरहे । रातको अन्धकारलाई चिर्दै आकाशतर्फ उडेका आगोका ज्वाला र जताततै फैलिएको धुवाँको मुस्लोले उनीहरूको मानसपटलमा पहिलोपटक ‘विनाश’ र ‘डर’को अर्थ सिकायो । यस्ता हिंस्रक घटनाले राष्ट्रको सम्पत्ति मात्र जलेन्, बरु छिमेकमै बस्ने ती अबोध वालापन पनि पल–पल जलिरह्यो । त्यो रातको त्रासले मानिसहरूको मनभित्र जुन असुरक्षाको आगो सल्काएको छ, त्यसलाई निभाउन कुनै दमकलले सक्दैन ।
त्यो रात चारैतिर चिच्याहट, ढुङ्गामुढा र आगोको राप थियो । त्यो भयानक अवस्थामा आत्तिएकी एउटी आमाले आफ्ना दुवै सन्तालाई सुरक्षित राख्न छातीमा बलियो गरी च्याप्नुको अर्को विकल्प थिएन । आँखाभरी आँसु लिएर देशको लागि कसम खाएका प्रहरी र दमकलकर्मीहरूलाई आगो निभाउन याचना गर्दा पनि माथिको आदेश भन्दै हात उठाएको क्षण सम्झँदा झनै नमिठो लाग्छ । एउटी आमाको त्यो कारुणिक चित्कार र विवशता ती बच्चाहरूले आफ्नो काखमा लुटुपुटु हुँदै स्पष्ट सुनिरहेका थिए । एकातिर दनदनी बलेको आगोको भयङ्कर आवाज, अर्कोतिर आफ्नै आमाको काँतर आवाज । ती कलिला कान र मस्तिष्कका लागि त्यो दृश्य र ध्वनि सहन सक्ने क्षमताभन्दा निकै माथिको थियो । यही कारणले गर्दा, त्यो घटनाअघि साँझबिहान यही प्रदेशसभाको हरियो चौरमा कुँद्ने र हाँस्ने ती दाजुभाइ अहिले यो भवनभित्र पसेर खेल्न कत्ति पनि मन गर्दैनन् । भवनको गेट देख्नेबित्तिकै उनीहरूको शरीर काँप्न थाल्छ । अहिले पनि साँझ पर्न थालेपछि वा सडकमा अलि ठूलो आवाज आउनासाथ उनीहरू झस्कन्छन् र तोते बोलीमा त्रसित हुँदै सोध्छन्, ‘मामु, फेरि आन्दोलनकारी आउँछन् र ? फेरि आगो लगाउँछनु ?’ यो दर्दनाक अवस्था केवल कर्णालीका यी दुई दाजुभाइको मात्र होइन । देशका विभिन्न कुनाकाप्चामा हुने हरेक साना–ठूला आन्दोलन, बन्द र हिंसात्मक प्रदर्शनका कारण हजारौँ बालिका र बालकहरूको मस्तिष्कमा यस्तै गहिरो नकारात्मक असर परिरहेको छ । तराईदेखि पहाडसम्म, जहाँ–जहाँ राजनीतिक स्वार्थका लागि टायर बालिन्छन्, ढुङ्गामुढा प्रहार गरिन्छ र बम विष्फोट गराइन्छ, त्यहाँ–त्यहाँका कलिला बालबालिकाहरू पनि घरभित्रै थरथर काँपिरहेका हुन्छन् । उनीहरूको बालसुलभ स्वतन्त्रता खोसिन्छ, विद्यालय जाने वातावरण धमिलिन्छ र मस्तिष्कमा सधैँका लागि एउटा अदृश्य मानसिक आघात बस्न पुग्छ । हरेक विषम् परिस्थितिमा, चाहे त्यो राजीनितक आन्दोलन होस् वा सामाजिक द्वन्द्व, सबैभन्दा ठूलो र दीर्घकालीन असर बच्चाको दिमागमा नै पर्छ । वयस्कहरू त समयसँगै परिस्थिति बुझेर सम्हालिएलान्, तर कलिलो उमेरमा देखिएका यस्ता भयावह दृश्यहरूले उनीहरूको आत्मविश्वासलाई जरैदेखि हल्लाइदिन्छ, जसले गर्दा उनीहरूको समग्र व्यक्तित्व विकास नै अवरुद्ध हुन पुग्छ । राजनीतिक नेतृत्व र आन्दोलनकारीहरूले आफ्नो जित सम्झिएर उत्सव मनाइरहँदा उनीहरूले यो बुझ्न जरुरी छ कि राज्य अन्ततः यो भवन फेरि बनाउन बाध्य त हुनैपर्छ, तर त्यसरी बनाइने हरेक पर्खालले समाजको अर्थतन्त्र र नयाँ पुस्ताको भविष्यलाई थप कमजोर बनाइरहेको हुन्छ । सरकारले राष्ट्रिय ढुकुटी वा वैदेशिक ऋणको भार थपेर भौतिक संरचना त ठड्याउला, तर त्यो बाध्यताको मूल्य कति महँगो छ भन्ने कुराको हिसाब कसैले राखेको हुँदैन । एउटा भवन जलाउँदा देशको विकास दशकौँ पछि धकेलिन्छ र पुनर्निर्माणका नाममा खर्च हुने करोडौँ रकम शिक्षा, स्वास्थ्य र बालबालिकाको हितमा हुनुपर्ने लगानीबाट कटौती हुन्छ । यो बाध्यता देशका लागि एउटा ठूलो आर्थिक पासो मात्र हो ।
भौतिक संरचना भत्किएपछि राज्य कानुन र बजेटको परिधिभित्र रहेर त्यसलाई पुनः बनाउनै पर्छ, तर समाजका अबोध बालबालिकाको भत्किएको मानसपटललाई पुनर्निर्माण गर्न कुनै कानुनी बाध्यता वा सरकारी बजेटले मात्र पुग्दैन । हाम्रो समाज र व्यवस्थाको सबैभन्दा ठूलो कमजोरी नै यही हो कि आन्दोलन सकिएपछि कति आर्थिक क्षति भयो, इँटा र सिमेन्ट किन्न कति बजेट चाहिन्छ र कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्ने कुराको हिसाबकिताब त दुरुस्तै राखिन्छ । तर त्यही आन्दोलनले कति निर्दोष बालबालिकाको मानसपटल भत्कायो र उनीहरूको भविष्यमा कस्तो नकारात्मक मनोवैज्ञानिक असर प¥यो भन्ने कुरामा न त सरकारको ध्यान जानछ, न त नीतिगत तहमा कहिल्यै यसको कुरै उठ्छ । भौतिक संरचना फेरि ठड्याउन बजेट र इन्जिनियरिङ भए पुग्छ, तर कलिलो मस्तिष्कमा परेको चोट निको पार्न विशेष ध्यान, समय र संवेदनशीलता चाहिन्छ, जसमा राज्य सधैँ चुकेको छ । नेतृत्वले कुर्सी र शक्तिको लडाइँ जित्ला, तर आफ्नै देशका कलिला दुई दाजुभाइ जस्ता हजारौँ बालबालिकाहरूको मनमा सल्केको डरको आगो निभाउन राज्य सधैँ असफल भइरहन्छ । संरचना बनाउने बाध्यता त पूरा होला, तर आन्दोलनको त्यो भयानक रातले बालमस्तिष्कमा छोडेको अदृश्य त्रास र खोसिएको बालसुलभ हाँसो फिर्ता ल्याउने कुनै योजना राज्यसँग देखिँदैन । राजनीतिक दल र आन्दोलनकारीहरूले बुझ्नुपर्छ कि भौतिक संरचना जलाएर कहिल्यै पनि देशको हित हुँदैन, बरु यसले देशको आर्थिक मेरुदण्ड भाँच्छ र नयाँ पुस्तालाई मानसिक रूपमा अपाङ्ग बनाउँछ । उनीहरूलाई अब केवल भौतिक संरचनाको पुनर्निर्माण होइन, माया, निरन्तरको ढाडस र सुरक्षित वातावरणको माध्यमबाट मानसिक पुनर्निर्माण (काउन्सिलिङ)को खाँचो छ, ता कि देशका कुनै पनि कुनाका बालबालिकाले डरको छायाँमा बाँच्नु नपरोस् र फेरि निर्धक्क भएर आफ्नो बाल्यकालको आनन्द लिन सकून् ।









प्रतिक्रिया दिनुहोस्