सामाजिक सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै प्रहरी



कोहलपुर (बाँके) ।

भदौ १० को विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेन हरेक दिन सामाजिक सञ्जालमार्फत खोज, राहत र उद्धारबारे जानकारी दिइरहेका छन् । सरकारले गरेका सम्पूर्ण गतिविधिहरू समेटिएको बुलेटिन सार्वजनिक गरिरहेका प्रधानमन्त्री शाहले शनिबार कडा अभिव्यक्ति दिए । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेखे, ‘यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् । ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ ।’

विभिन्न माध्यममा बाढीमा परी आफन्त गुमाएका र हराएका व्यक्तिहरूले दिएका अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा अमानवीय कमेन्ट र टिप्पणी आएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा धृणा फैलाउनेविरुद्ध सरकार निर्मम बन्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि बाढीपीडितहरूलाई थप पीडा दिने खालका स्ट्याटस, कमेन्ट र टिप्पणी गर्ने तथा भ्रमपूर्ण भिडिओ बनाउनेहरूविरुद्ध नेपाल प्रहरीले कडा निगरानी तथा कारबाही सुरु गरेको छ । सोही क्रममा सामाजिक सहिष्णुतामा आघात पु¥याउने खालको भिडिओ सामग्री प्रसारण गर्ने व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुसी व्यक्त गर्ने भिडिओ सामग्री बनाई सामाजिक सञ्जालको रिल्समा प्रसारण गर्ने बैतडीको सुर्नया गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बु बस्ने वर्ष–२४ को बिरेन्द्र मडैलाई पक्राउ गरिसकेको छ । ‘उनीविरुद्ध कसैले उजुरी नगरे पनि साइबर ब्युरोले पक्राउ गरेको हो । यस्ता कमेन्ट गर्नेहरूलाई प्रहरीले प्रमाण संकलन गरेर अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ,’ साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले भने ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ । यसैबीच, सामाजिक सञ्जालमा बाढीपीडितविरुद्ध घृणा फैलाउने खालका अभिव्यक्तिहरूको निगरानीका लागि नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टिम बनाएर अनुसन्धान थालिसकेको छ । पीडितका तर्फबाट कुनै उजुरी नपरे पनि पीडितमाथि असंवेदनशील ‘कमेन्ट’ गर्नेहरूको सूची बनाएर अनुसन्धान सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ ।

बाढीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक सञ्जालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाटै यसप्रति सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइरहेका थिए । असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सामाजिक सञ्जालमा बाढीपीडितलाई थप पीडा दिनेगरी पोष्ट गर्ने, कमेन्ट गर्ने व्यक्तिमाथि सुक्ष्म रूपमा अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।

सञ्जालको कमेन्टले कलाकार र सांसद नै आजित

बाढीमा श्रीमान् बेपत्ता भएपछि काखमा बच्चा च्यापेर खोजी गरिदिन सरकारसँग आग्रह गरेकी एक महिलाको भिडिओमा अशोभनीय तथा घृणास्पद टिप्पणी सरकार समर्थित व्यक्तिहरूबाटै आएपछि सत्तारुढ दलका सांसदहरूले नै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा समर्थकको कमेन्टबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नै आजित भएका हुन् । महिलाको भिडिओमा चरित्र हत्या गर्ने खालका कमेन्टको बाढी नै लागेको छ । श्रीमान्को उद्धार माग्दा सरकारको विरोध गरेको भन्दै ती महिलामाथि भद्दा र हेरिनसक्नुका टिप्पणी गरिएको छ । रास्वपाकी सहमहामन्त्री एवं सांसद निशा डाँगीले विपत्तिमा परेका व्यक्तिको पीडामाथि सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन् ।

बाढीले श्रीमान् गुमाएकी महिलाको पीडा र असहायपनलाई बाहिरबाट बसेर मूल्यांकन गर्न नसकिने बताएकी हुन् । त्यस्तै, रास्वपाकी अर्की सांसद रञ्जु दर्शनाले पनि काखमा बच्चा च्यापेर हराएका श्रीमान्को खोजी गरिदिन सरकारसँग आग्रह गरिरहेकी महिलाको भिडिओमा आएका कमेन्टप्रति आपत्ति जनाएकी छन् । पीडितको अवस्थामाथि खिसीट्युरी गर्ने तथा अशोभनीय टिप्पणी गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरेकी हुन् । उनले भनेकी छन्, ‘ती दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ । उहाँले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन तर त्यो गालीभन्दा माथि धेरै पर मनको कुनामा आशा छ आफ्नो मान्छे आउनुहुन्छ फर्केर भन्ने । ए साथी हो, हाम्रो जीवनमा अकल्पनीय र अन्याय पूर्ण केही भयो भने भगवान्सँग त हामी रिसाउँछौ, झोकिन्छौँ ।’

रास्वपाका अर्का सांसद गणेश कार्कीले पनि विपत्तिमा परेका व्यक्ति आक्रोशित हुनु स्वाभाविक भएको बताएका छन् । हरेक व्यक्तिले आफ्नो पीडा अरूले अपेक्षा गरेकै भाषा, व्यवहार र शैलीमा व्यक्त गर्न नसक्ने उनको भनाइ छ । अभिनेत्री सनिशा भट्टराईले पछिल्लो केही महिनादेखि आफू अनलाइन उत्पीडनमा परेको भन्दै चेतावनी दिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत एक व्यक्तिले विभिन्न आइडी प्रयोग गरेर आफूलाई निरन्तर हैरानी दिइरहेको बताएकी हुन् । उनका अनुसार ती व्यक्तिले आफू जोडिएका समाचार, फोटो लगायतका सामग्रीमा आपत्तिजनक कमेन्ट गर्ने र म्यासेज पठाउने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार