जुम्ला ।
राजमार्ग पहिरोले अवरुद्ध भएको केही बेरमै खुल्छ अनि खुलेको केही बेरमै फेरि अवरुद्ध हुन्छ । लगातारको वर्षासँगै कर्णाली राजमार्गमा भइरहेको यस्तो अवरोधले जुम्लामा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ ।स्याउ बजार पठाउने मुख्य सिजनमै कर्णाली राजमार्ग अवरुद्ध भएपछि किसान र व्यापारीलाई ठूलो क्षति हुने चिन्ता बढेको छ । पहिरो, लेदो र ढुंगासहितको अवरोधका कारण माथिल्लो कर्णालीबाट विभिन्न सहरतर्फ छुटेका स्याउ बोकेका गाडी तीन÷चार दिनसम्म बाटोमै थन्किने गरेका छन् ।
जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायतका बजारतर्फ दैनिक ठूलो सङ्ख्यामा गाडी छुट्ने गरेका छन् । सामान्य अवस्थामा एक–दुई दिनमै सुर्खेत वा नेपालगन्ज पुग्ने लक्ष्यसहित हिँडेका गाडी राजमार्ग अवरुद्ध भएपछि बीच बाटोमै रोकिने गरेका हुुन् ।
लामो समयसम्म स्याउ गाडीमै रोकिँदा उचित भण्डारणको अभावमा फल कुहिने, गुणस्तर घट्ने र बजार मूल्य प्रभावित हुने जोखिम बढेको व्यापारीहरू बताउँछन् । सडक अवरोधको प्रत्यक्ष भार किसान र व्यापारी दुवैको आम्दानीमा पर्ने उनीहरूको भनाइ छ । स्याउ व्यापारी मक्कर शाही शनिबारदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो, ढुंगा र लेदो खसेर सडक अवरुद्ध भएपछि आफू पनि तीन दिनसम्म बाटोमै रोकिएको बताए ।
‘सिजनको समयमा समयमै बजार पु¥याउन नसक्दा एकातिर स्याउ बिग्रिने जोखिम हुन्छ भने अर्कोतिर बजारमा मूल्य घट्ने सम्भावना रहन्छ,’ उनले भने, ‘सडककै कारण व्यापारमा घाटा व्यहोर्नुपर्ने अवस्था आउनु हाम्रा लागि ठूलो समस्या हो ।’गाडीमा लामो समयसम्म राखिएको स्याउमा गुणस्तर घट्ने र त्यसको प्रत्यक्ष असर बिक्री मूल्यमा पर्ने व्यापारीहरू बताउँछन् । स्याउ व्यापारी हस्तबहादुर रावतले वर्षा, बाढी र पहिरोका कारण अघिल्लो वर्ष करिब १० लाख रूपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको बताए । यस वर्ष पनि उस्तै समस्या दोहोरिन थालेपछि चिन्ता बढेको उनले बताए ।
‘भरपर्दो सडक नहुँदासम्म स्याउ व्यापारीको समस्या समाधान हुने देखिँदैन,’ उनले भने, ‘प्राकृतिक विपद्का कारण क्षति हुँदा राज्यका तर्फबाट राहत र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’ यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । त्यसमध्ये अहिलेसम्म करिब ५० प्रतिशत स्याउ बजारमा निर्यात भइसकेको छ ।मुख्य निर्यातको समयमा राजमार्ग अवरुद्ध हुँदा यसको असर व्यापारीमा मात्र सीमित नहुने अधिकारी बताउँछन् । ‘सडकमा रोकिएका स्याउ समयमै बजार पुग्न नसक्दा किसानदेखि ढुवानी व्यवसायी र स्थानीय अर्थतन्त्रसम्म प्रभावित हुन्छ,’ उनले भने, ‘मनसुनजन्य विपद्का कारण व्यापारीले ठूलो समस्या भोग्नुपरेको छ । स्याउ बोकेका दर्जनौँ गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र नभई सिंगो जुम्लाले क्षति व्यहोर्नुपर्ने अवस्था हो ।’
जुम्लाको अर्थतन्त्रमा स्याउ खेतीको योगदान बढ्दै गए पनि उत्पादनपछि बजारसम्म पु¥याउने पूर्वाधार भने अझै जोखिमपूर्ण छ । हरेक वर्ष वर्षायाममा सडक अवरोध हुँदा किसान तथा व्यापारीले उत्पादन बजारसम्म पु¥याउन समस्या भोग्दै आएका छन् ।कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नेक्रम रोकिएको छैन । विशेषगरी कालीकोटको गगने खोला क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या पुरानै हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार पहिरोका कारण माथिल्लो कर्णालीको यातायात सेवा प्रभावित भएको छ भने अविरल वर्षासँगै लेदोसहितको पहिरो खसिरहेकाले सडक खुलाउन सकस हुने गरेको उनले बताए ।
उनका अनुसार शनिबार आएको गगने खोलाको पहिरोका कारण जुम्ला, मुगु, हुम्ला र कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन प्रभावित क्षेत्र पुुग्न तीन दिन लागेको छ । उनका अनुसार सडक अवरुद्ध हुँदा यात्रु मात्रै प्रभावित भएका छैनन् । स्याउ बोकेर बजारतर्फ हिँडेका गाडी लामो समयदेखि बाटोमै रोकिँदा व्यापारीको चिन्ता झन् बढेको छ ।
यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार पटक पटक सडकमा पहिरो खस्ने र हटाउने क्रम चलिरहेको छ । वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रामा विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।
‘स्याउको मुख्य बजार पठाउने समयमा पटक–पटक कर्णाली राजमार्ग अवरुद्ध हुँदा उत्पादनको बजार पहुँच नै जोखिममा पर्न थालेको छ,’ उनले भने, ‘यस्तो अवरोध लामो समयसम्म कायम रहे किसानले उत्पादनको मूल्य नपाउने र व्यापारीले ढुवानी तथा कुहिने क्षतिको दोहोरो भार व्यहोर्नुपर्ने अवस्था देखिएको छ ।’
७२ घण्टापछि राजमार्ग सुचारु (बक्स)लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग अन्ततः ७२ घन्टापछि सञ्चालनमा आएको छ । शनिबार साँझ ५ः३० बजेदेखि अवरुद्ध भएको सुर्खेत–जुम्ला सडक मंगलबार साँझ ४ बजेदेखि पुनः सञ्चालनमा आएको हो ।
पानी पर्न रोकिएपछि हिलो र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कार्यालयका अनुसार वर्षा रोकिएलगत्तै बिहानदेखि पहिरो हटाउने काम सुरु गरिएको भए पनि लगातारको वर्षाले लेदो झरिरहेकाले सडक खुलाउन समय लागेको थियो ।
कर्णाली राजमार्गअन्तर्गत एस मोड, पिलि र गगनेखोलामा पहिरो हटाएर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक सञ्चालनमा आएपछि जुम्ला, मुगु र कालीकोटका साथै कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रास्कोट क्षेत्रबाट आएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
यसैबीच भदौ २० गते साँझ ७ बजे गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मान्म खण्ड पनि सञ्चालनमा आएको छ । सोमबार राति पौने १ बजेदेखि जुम्लादेखि मान्म हुँदै कालिकोटसम्मको सडक सञ्चालनमा आएको हो । जुम्ला–मान्म सडकखण्डको सेरावाडा, सिम्ले र सिम्ले मोडमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले मेसिन र प्राविधिक टोली परिचालन गरी उच्च प्राथमिकताका साथ सडक खुलाउने काम गरेको हो ।









प्रतिक्रिया दिनुहोस्