काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेका छन् । भदौ १० को हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको भन्दै राष्ट्रपछि पौडेलले नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न विश्व समुदायसामु अपिल गरेका हुन् । रसुवा बाढीको १२औँ दिनमा बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमनपछि राष्ट्रको नाममा सम्बोधन गर्दै उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरेका थिए ।
उनले भनेका छन्, ‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन । यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ ।’ कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण नहुनेमा उनको विशेष जोड रहेको छ ।
विपद्को समयमा छिमेकी मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति उनले विशेष कृतज्ञता व्यक्त गरेका छन्् । ‘अहिले हामी यति गहिरो पीडामा छौँ । जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग छैनन् । परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईँहरूले अनुभव गरिरहनुभएको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ,’ राष्ट्रपति पौडेलले भनेका छन् ।
उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्न सरकारसँग उनले मागसमेत गरेका छन् । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेकोमा पौडेलको जोड छ । मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्नेमा जोड दिँदै आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरेका छन् ।
‘यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो । यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो । हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ,’ राष्ट्रपछि पौडेलको भनाइ छ । अहिले देश भयावह विपत्तिकोे शोकमा रहेको भन्दै राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गरेका छन् ।
विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् । सम्बोधनमा उनले भनेका छन्, ‘उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्नुभएको छ । उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु ।’









प्रतिक्रिया दिनुहोस्