कैलाली ।
नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार ५५५ सहयोग
नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५ हजार ५५५ नगद सहयोग गरेको छ । विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च हुने भएकाले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको संस्थाका रूपमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त सहयोग गरिएको नेशनल प्याथ ल्याबले जनाएको छ ।
विपद्को समयमा राहतसँगै नागरिकको स्वास्थ्य सुरक्षा, रोगको पहिचान तथा रोकथाम पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूले आफ्नो विशेषज्ञता र स्रोतलाई सामाजिक हितमा परिचालन गर्नुपर्ने नेशनल प्याथ ल्याबको धारणा छ । यसै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कम्पनीले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत योगदान गर्ने योजना अघि सारेको हो ।
नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट ठूलो क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत चरणबद्ध रूपमा थप रु. २० लाखसम्म सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केजी अस्पतालको १२ लाख सहयोग
धनगढीमा रहेको केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको राहत र पुनस्र्थापनाका लागि सहयोग गरेको छ । अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख दुई हजार ७७४ रूपैयाँँ नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरेको हो । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत, खाद्यान्न वितरण, आपतकालीन चिकित्सा सेवा र दीर्घकालीन पुनस्र्थापनाका कार्यहरूमा परिचालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको केजी अस्पताल प्रालिका सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीले बताए ।
अस्पतालको भदौ ११ गतेदेखि १७ गतेसम्मको सबै आम्दानी ११ लाख ५१ हजार ६६३ रूपैयाँँ र कर्मचारीको तर्फबाट ५१ हजार १११ रूपैयाँँ बाढीपीडितलाई सहयोग गरिएको उनले जानकारी दिए ।
पीडामा रहेका नागरिकप्रतिको दायित्वलाई आत्मसात गर्दै अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले समेत आफ्नो तर्फबाट स्वेच्छिक रूपमा सहयोग गरेको अस्पतालले जनाएको छ ।
‘बाढीका कारण आफन्त गुमाउनुभएका र बेपत्ता परिवारको पर्खाइमा छटपटाइ रहनुभएका नागरिकको पीडाप्रति हामी स्तब्ध छौँ,’ सहायक प्रबन्ध निर्देशक अवस्थीले भने, ‘मानव जीवनको रक्षा र उपचार गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । यस विपद्को घडीमा समाजलाई आड भरोसा दिनु आफ्नो कर्तव्य ठानेर हामीले सात दिनको कलेक्सन र हाम्रा कर्मचारी साथीहरूको स्वेच्छिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका हौँ ।’
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले थोरै भए पनि पीडितको घाउमा मलम लगाउने विश्वास लिएको उनले बताए । यसका साथै सरोकारवाला निकायसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा प्रारम्भीक स्वास्थ्य सेवा पु¥याउन आफ्ना स्वयम्सेवक स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने तयारी रहेको पनि अस्पतालले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघको ५ लाख ५५ हजार सहयोग
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँँ सहयोग गर्ने निर्णय गरेको छ । संघको बुधबार बसेको बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिल गरेको छ ।
संघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघका विभिन्न तह, व्यवसायी, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेको छ । संघले ‘विपद्मा परेकालाई सहयोग गर्नु नै हाम्रो साझा मानवीय दायित्व हो’ भन्ने भावनाका साथ सबै क्षेत्रबाट एकजुट भई उद्धार तथा राहत कार्यमा सहयोग गर्नसमेत अपिल गरेको छ ।
बैठकले संघका तर्फबाट सरकारको राहतकोषमा उक्त ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँँ सहयोग गर्ने तथा भोटेकोशी बाढीमा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाएका परिवारलाई राहत सहयोग उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । साथै सरकारबाट आधिकारिक वास्तविक तथ्यांक प्राप्त भएपछि थप राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
चिरञ्जीवी पोलिक्लिनिकद्वारा ३ लाख ३३ हजार सहयोग
डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनस्र्थापनाका लागि ३ लाख ३३ हजार ३३३ रूपैयाँँ सहयोग गरेको छ । पोलिक्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री विपद् कोषमा जम्मा गरेको हो । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको पोलिक्लिनिककी डा. निर्मला भट्टले जानकारी दिइन् । रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटिरहेको छ । सोही अभियानमा ऐक्यबद्धता जनाउँदै चिरञ्जिवी पोलिक्लिनिकले पनि सहयोग गरेको हो ।
व्यवसायी ठाकुरले दिए ५१ हजार
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीका व्यवसायी जयशंकर ठाकुरले ५१ हजार १ सय ११ रूपैयाँँ आर्थिक सहयोग गरेका छन् । ठाकुरले सञ्चालन गर्दै आएको प्रेमा एग्रो इन्डस्ट्रिजका तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो । देशमा विपद्का घटना हुँदा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएकाले आफूले सहयोग गरेको ठाकुरले बताए ।
उनले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताए । ठाकुर धनगढी उपमहानगरपालिका–१५, कनरीस्थित ज्योति आयल स्टोर तथा प्रेमा एग्रो इन्डस्ट्रिजका सञ्चालक हुन् । उनी सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिवसमेत हुन् ।
तरुण दलद्वारा ५२ हजार सहयोग
नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ ‘ख’ क्षेत्रीय कार्यसमितिले हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमितिले राहतस्वरूप संकलन गरेको नगद रु ५२,९०९ नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिमा पठाएको हो । नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ ‘ख’ का सभापति तेजु रोकाया तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य दीपेन्द्रबहादुर बमको विशेष सक्रियता र पहलमा उक्त राहत रकम संकलन गरिएको जनाइएको छ ।
विपद्को यस घडीमा बाढी प्रभावित नागरिकहरूलाई सानो भए पनि मल्हमपट्टी लगाउन सकियोस् भन्ने उद्देश्यले तरुणहरू र स्थानीय स्तरबाट उक्त रकम जुटाइएको सभापति रोकायाले जानकारी दिए । संकलित राहत रकम एक कार्यक्रमका बीच नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय कैलालीका सचिवद्वय केशव मिश्र र निर्पबहादुर सुनारमार्फत तरुण दलको केन्द्रीय कार्यसमितिको राहत कोषमा जम्मा हुने गरी आधिकारिक रूपमा पठाइएको जनाइएको छ ।
बाढीपीडित विद्यार्थीका लागि राहत संकलन
भोटेकोशीमा आएको अकल्पनीय र विनाशकारी बाढीबाट प्रभावित बालबालिकाहरूका लागि डडेल्धुराका विद्यार्थीहरूले स्वस्फूर्त रूपमा राहत संकलन गरी पठाएका छन् । जिल्लाका विभिन्न विद्यालयमा क्रियाशील बालक्लब, जुनियर÷युवा रेडक्रस सर्कल र इको क्लबमा आबद्ध बालबालिकाहरू मानवीय सहायताका लागि अघि बढेका हुन् । आफूजस्तै विद्यालयमा पढ्ने साथीहरू महाबाढीका कारण खान–बस्न र पढ्न–लेख्न पाउने अवस्थाबाट वञ्चित भएको भन्दै विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च बचाएर रकम संकलन गरेका हुन् ।
अजयमेरु गाउँपालिकास्थित सहस्रलिङ्ग माध्यमिक विद्यालय चमडाका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले आफ्नो दिवाखाजाबापत प्राप्त ८ हजार ५८५ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा जम्मा गरेका छन् । सोही क्रममा भोटेकोशी किनारमा स्थित श्री महेन्द्र त्रिशूली माध्यमिक विद्यालयका विद्यार्थीको ज्यानरक्षाका लागि त्यहाँका प्रधानाध्यापकले खेलेको साहसिक भूमिकाको प्रशंसा गर्दै सहस्रलिङ्ग माविका प्रधानाध्यापक वीरबहादुर ऐरसहित डडेल्धुराका शिक्षक तथा प्रधानाध्यापकहरूले धन्यवाद व्यक्त गर्दै बाढीमा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
यसैगरी, परशुराम नगरपालिकास्थित भागेश्वर माध्यमिक विद्यालय सलौनका युवा रेडक्रस, बालक्लब र इको क्लबका विद्यार्थीहरूले पनि आफ्नो खाजा खर्च कटाइ ७ हजार ५७५ संकलन गरेर प्रधानमन्त्री राहत कोषमा पठाएका छन् । साना नानीबाबुहरूले विपद्को घडीमा देखाएको यो मानवीय संवेदना र सहयोगप्रति भागेश्वर माविका प्रधानाध्यापक करवीर बोहराले विद्यार्थीहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्