आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए ७ जनाको ज्यान



हेटौँडा । 

“बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो ।

रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो । त्यस बिहान भने अवस्था फरक देखियो । रातिको काम बिहान ६ः०० बजे सकेर कोठामा फर्किएका उाले हातमुख धोएर खाजा खाएका थिए । केहीबेर आराम गर्दै गर्दा साथीले बाढी आएको खबर गरेका थिए ।

खोलाको अवस्था देखेपछि उनी हतारिँदै कोठामा फर्किए । रातिको ‘ड्युटी’ सकेर सुतेका सालो नवीन स्याङ्तान र अर्का साथीलाई उठाए । तीनै जना सुरक्षित स्थानतर्फ भाग्न थाले तर केही क्षणमै भाग्ने बाटो पनि बाढीले छेक्यो । “बाटोतिर भाग्न खोज्दा त्यतैबाट बाढी आयो । बम पड्किएजस्तो आवाज थियो, ठूला–ठूला ढुङ्गा आइरहेका थिए”, त्यो क्षण सम्झँदै राजेन्द्रले भने, “हामी बसेको कोठाबाट निस्किएर भाग्दा–भाग्दै कोठा नै गइसक्यो । त्यहाँ सुतेका मान्छे उठ्नै पाएनन् ।”

भाग्ने बाटो बन्द भएपछि राजेन्द्रसहितका कामदार नजिकै चिनियाँ कामदार बस्ने मेसतर्फ पुगे । त्यहाँबाट पनि माथि उक्लने सहज बाटो थिएन । बाढीले संरचना भत्काइरहेको थियो । तल राखिएका सिलिन्डरलगायत सामग्री बगिरहेका थिए । चारैतिर भागदौड र चिच्याहट थियो । त्यस क्षण आफू बाँच्ने आशा पनि मारिसकेको राजेन्द्र सुनाउँछन् ।
“अब बाँचे बाँच्छौँ, मरे मर्छौँ भन्ने भइसकेको थियो । भाग्ने ठाउँ थिएन”, उनले भने । त्यही निराशाबीच उनले बाहिर निस्कने उपाय खोजे । एउटा ढोका फोरेर झ्यालबाट निस्किएपछि पर्खाल चढेर माथि पुगे । आफू माथि पुगेपछि उनले तल फसेका साथीलाई एकपछि अर्को गर्दै माथि तान्न थाले । सुरुमा एक चिनियाँ कामदारलाई निकाल्ने प्रयास गरे । तर सफल हुन् सकेन  । त्यसपछि साथी सुजन गोलेसहित अरूलाई ताने । अन्तिमतिर आफ्नै सालो नवीन आत्तिएर माथि आउन सकिरहेका थिएनन् । “मैले बोलाएको बोलायै गरेँ । बल्ल ऊ आयो र उसलाई पनि तानेँ”, राजेन्द्रले भने, “त्यसरी सात जनालाई माथि तानेर बचाउन सकेँ ।”

हेटौँडा उपमहानगरपालिका–१५ का नवीन कामका लागि रसुवा पुगेको १२ दिन मात्रै भएको थियो । पहिलोपटक कामका लागि त्यहाँ पुगेका उनी पनि रातिको ड्युटी सकेर कोठामा सुतिरहेका थिए । “म सुतिरहेको थिएँ । भिनाजुले उठाएर लैजानुभयो । उहाँले तानेर नै म बाँच्न सफल भएँ”, नवीनले भने, “धेरै साथी आँखा अगाडि नै बाढीमा परे, हामी चाहीँ बाँच्यौँ ।”

बाढीबाट तत्काल ज्यान जोगाएर माथिल्लो सुरक्षित स्थानमा पुगेपछि राजेन्द्रले घरमा फोन गरे । मोबाइलमा पर्याप्त चार्ज थिएन । परिवारसँग लामो कुराकानी गर्ने अवस्था पनि थिएन । आफू बाँचेको र चिन्ता नगर्न परिवारलाई जानकारी गराएपछि उनको मोबाइल बन्द भयो ।

राजेन्द्रकी श्रीमती करिश्मासिंह तामाङका अनुसार बाढी आएपछि श्रीमान्सँग केही मिनेट कुराकानी भएको थियो । त्यसपछि सम्पर्क टुट्यो । “सम्पर्क गर्न धेरै प्रयास ग¥यौँ तर फोन लागेन”, उनले भनिन्, “उहाँले ‘म सुरक्षित छु, चिन्ता नगर’ भन्नुभएको थियो । त्यही कुराले उहाँ फर्केर आउनुहुन्छ भन्ने आशा थियो ।” करिश्माका लागि चिन्ता श्रीमान्को मात्रै थिएन । बाढी प्रभावित क्षेत्रमा उहाँका भाइ नवीन पनि थिए । श्रीमान् र भाइ दुवैको अवस्था बुझ्न नपाउँदा परिवारका सदस्यको चिन्ता दिन बित्दै जाँदा बढिरहेको थियो ।

राजेन्द्र र नवीन भने बाढीबाट जोगिएपछि अन्य कामदारसँगै माथिल्लो क्षेत्रतर्फ लागेका थिए । तत्काल बाहिर निस्कने अवस्था नभएपछि उनीहरूले स्थानीय विद्यालयमा आश्रय लिए । राजेन्द्रका अनुसार पाँच दिनसम्म त्यहीँ बसेर छैटौँ दिनमा उद्धार गरिएको थियो ।

त्यो अवधिमा सहज खाना र बसोबासको व्यवस्था थिएन । बिस्कुट, चाउचाउलगायत उपलब्ध खानेकुराको भरमा दिन बिताउनुपरेको उनले सुनाए । बाढीमा सहकर्मी गुमाएको पीडा र आफू कहिले घर पुग्ने भन्ने अनिश्चितताबीच उनीहरू उद्धारको प्रतीक्षामा थिए ।

हेटौँडामा परिवार भने उनीहरूको अवस्थाबारे थप जानकारी खोजिरहेको थियो । हेटौँडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तानका अनुसार राजेन्द्र र नवीनको अवस्था पत्ता लगाउन विभिन्न निकायसँग समन्वय गरिएको थियो । गृह मन्त्रालय र मुख्यमन्त्रीको सचिवालयदेखि जिल्ला प्रशासनसम्म समन्वय गरेर उनीहरू सुरक्षित रहेको प्रमाण खोजिएको उनले बताए । त्यसक्रममा सुरक्षित स्थानमा बसेका व्यक्तिहरूको एउटा भिडियो प्राप्त भयो ।

मोक्तानले उक्त भिडियो परिवारलाई पठाए । भिडियोमा आफ्ना मान्छे छन् कि छैनन् भनेर हेर्न आग्रह गरेपछि परिवारले नवीनलाई चिन्यो । “भिडियोमा आफ्नो मान्छे देखिएपछि मात्रै हामी ढुक्क भयौँ”, वडाध्यक्ष मोक्तानले भने । त्यसपछि पनि उनीहरूलाई सुरक्षित रूपमा फर्काउन विभिन्न निकायसँग समन्वय जारी राखिएको उनले बताए। अन्ततः नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूको उद्धार भयो । राजेन्द्रका अनुसार हेलिकप्टरले उनीहरूलाई धुन्चेसम्म ल्याएको थियो । त्यसपछि सवारीसाधनमार्फत काठमाडौँ हुँदै उनीहरू हेटौँडा फर्किएका हुन् ।

धेरै दिनको प्रतीक्षापछि राजेन्द्र र नवीन सकुशल हेटौँडा फर्किए । राजेन्द्रकी सासूआमाले बाढी र त्यसपछिको अवस्था आफूलाई अझै सपना जस्तो लाग्ने बताइन् । “धन्न जोगिएर आउनुभयो । अरुलाई पनि जोगाउनु भएछ”, उनले भनिन् ।

वडाध्यक्ष मोक्तानका अनुसार बाढीमा वडाका दुई जनाको मृत्यु भइसकेको छ भने हिरा स्याङ्तान अझै सम्पर्कविहीन छन् । “देश नै रोइरहेको बेला खुसी छौँ भन्न त नमिल्ला”, उनले भने, “तर हाम्रा दुई भाइ जीवित भएर फर्किनुभएको छ, त्यसमा हामीलाई राहत महसुस भएको छ ।” वडाले राजेन्द्र र नवीनको स्वास्थ्य उपचार तथा बाढीमा हराएका नागरिकतालगायत आवश्यक कागजात पुनः बनाउन सहयोग गर्ने मोक्तानले बताए ।

रोजगारीले राजेन्द्रलाई साढे दुई वर्षदेखि रसुवामा राखेको थियो । नवीन भने काम थालेको १२ दिनमै विपत्तिमा परे । बाढीले उनीहरूका लत्ताकपडा र कागजात बगायो, सँगै काम गरेका धेरै साथी छुटे । पाँच दिन विद्यालयमा उद्धारको प्रतीक्षा गरेर छैटौँ दिन बाहिरिएका राजेन्द्र र नवीन अहिले परिवारसँग छन् । बाढी आएको त्यो बिहान आफू बाँच्ने आशासमेत मारिसकेका राजेन्द्र घर फर्किँदा भने एक्लै बाँचेको अनुभव लिएर फर्किएन । आफू सुरक्षित स्थानमा पुगेर पनि फर्कीफर्की अरूलाई तानेका उनले आफ्नै भनाइमा सात जनाको ज्यान जोगाए ।  रासस

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार