कोहलपुर (बाँके) ।
बाँके जिल्लाको बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई जिम्मेवारीबाट हटाइएको छ । बैजनाथ–६ स्थित ईश्वरी माध्यमिक विद्यालयको मावि तहको गणित शिक्षक भर्ना परीक्षा अनियमिमतामा ढकालको भूमिका शंकास्पद देखिएपछि जिम्मेवारीबाट हटाइएको हो । यसअघि गाउँपालिकाद्वारा गठित छानबिन समितिले ईश्वरी माध्यमिक विद्यालयको गणित विषयको शिक्षक भर्नाका लागि भदौ १ गते भएको परीक्षामा अनियमितता भएको पुष्टि गरेको थियो ।
मावि तहको शिक्षक भर्ना प्रक्रियाअन्तर्गत भएको प्रथमपत्रको परिक्षामा उत्तर पुस्तिका र उत्तर कुुञ्जिकामाथि प्रश्न उठाउँदै परीक्षामा सहभागी सागर चौधरीले छानबिनको माग गरेका थिए । चौधरीको मागपछि गाउँपालिकाले छानबनि समिति गठन गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा गाउँपालिकाद्वारा निर्मित प्रश्नपत्रमा कैफियत देखिएपछि गाउँपालिकाले ढकालको जिम्मेवारी खोसेको हो । गाउँपालिकाको शिक्षा समिति र शिक्षक छनौट समितिको सदस्यको रूपमा उनको भूमिकामाथि चौतर्फी रूपमा विरोध आउन थालेपछि गाउँपालिकाले उनको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यका अनुसार ढकालको जिम्मेवारीमाथि प्रश्न उठेपछि सहायक शिक्षा अधिकृत शोभा ढकाललाई जिम्मेवारी दिइएको छ । गाउँपालिकाले ढकाललाई शिक्षा नियमावली २०५९ को नियम ९६ को नियम (१)को बुँदा (ख)को व्यवस्थाअनुसार जिम्मेवारी प्रदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।ढकालले अब बैजनाथ गाउँपालिका तथा यस अन्तर्गतका समुदायिक विद्यालयमा प्रधानाध्यापक वा करारमा शिक्षक नियुक्ति कार्यमा शिक्षक छनौट समितिको सदस्यको रूपमा रही कामकाज गर्ने जिम्मेवारी दिइएको छ ।
पत्रमा गाउँपालिकाद्वारा अर्को पत्र प्राप्त नहुञ्जेल उक्त जिम्मेवारी बहन गर्न भनिएको छ । आचार्य भन्छन्, ‘हामीले तत्काललाई अर्कोलाई जिम्मेवारी दिएका छौँ । शिक्षा शाखा प्रमुखको जिम्मेवारी खोस्ने अधिकार मलाई छैन । मेरो कार्यक्षेत्रभित्र रहेर मैले अर्कोलाई जिम्मेवारी दिएको छु ।’ बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले शिक्षक छनौट प्रक्रियामा शिक्षा शाखा प्रमुखको गतिविधि शंकास्पद देखिएकोले तत्काल जिम्मेवारीबाट मुक्त गरिएको बताएका छन् ।
शिक्षक भर्ना अनियमितता प्रकरणमा मुछिएका ढकाल तीन दिनको बिदामा बसेका छन् । छानबिन प्रक्रिया सञ्चालन भइरहेको र ईश्वरी माविमा शिक्षक छनौट प्रक्रियासमेत सुरु गरिसकेको उनले बताए । उनका अनुसार मंगलबार सञ्चालन गरेको परीक्षामा ६ जना परीक्षार्थी सहभागी भएका थिए । प्रश्नपत्रमाथिको स्तरीयता जाँचको काम भइरहेको र यसअघि प्रश्नपत्र निर्माणमा सलंग्न सम्पूर्ण विज्ञहरूलाई हटाइएको अध्यक्ष शाहीको भनाइ छ । ‘यसअघि गाउँपालिकामा प्रश्नपत्र निर्माणमा सहभागी विज्ञहरूले जानाजान गल्ती देखियो । उनीहरूलाई जिम्मेवारीबाट हटाइएको छ । शिक्षक नियुक्तिको लागि जिल्लाबाट विज्ञ बोलाएर परीक्षाको प्रक्रिया सुरु भएको छ,’ अध्यक्ष शाहीले भने ।








प्रतिक्रिया दिनुहोस्