कीर्तिमानका चाङ र अविस्मरणीय क्षण सुम्पिँदै बिदा भएका मेसी



Argentina’s Lionel Messi (10) controls the ball while defended by Cape Verde’s Deroy Duarte (14) during the World Cup round of 32 soccer match between Argentina and Cape Verde in Miami Gardens, Fla., Friday, July 3, 2026. (AP Photo/Chris Carlson)

काठमाडौँ।

सोमबार लिओनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरे । उनी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने र सबैभन्दा धेरै खेल खेल्ने खेलाडीका रूपमा बिदा भए । उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जित्यो भने सन् २०२१ तथा २०२४ मा कोपा अमेरिकाको उपाधि जित्न पनि सफल भयो । २६ जुन २०१६ को त्यो दिन अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा मेसीको मन टुटेको थियो । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि २९ वर्षको मउरमेसीले फुटबलबाट सन्यास लिने कठोर निर्णय गरेका थिए ।

त्यतिबेला उनले भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीको यात्रा सकियो । मैले सक्दो कोसिस गरेँ, तर च्याम्पियन बन्न नसक्नुको पीडा असह्य छ । सायद सबैका लागि यही नै उत्तम निर्णय हुनेछ ।’ त्यो समय मेसीको पीडा बुझ्न सकिन्थ्यो । उनले लगातार २०१४ को विश्वकप फाइनल, र २००७, २०१५ र २०१६ का कोपा अमेरिका फाइनल हारेका थिए । विश्वकै उत्कृष्ट खेलाडी भनिए पनि देशका लागि ठूलो ट्रफी जित्न नसकेको आरोप उनले खेपिरहनुपरेको थियो । तर, भाग्यवश मेसीले आफ्नो निर्णयमा पुनर्विचार गरे ।

सन्यास फिर्ता लिएपछिको १० वर्षमा उनले फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट पुनरागमनको कथा लेखे । २०१६ मा सन्यासको घोषणा गरेको ६ हप्तापछि नै उनले देशको मायाका लागि फेरि खेल्ने निर्णय गरे । त्यसयता उनले थप ९४ खेल खेले, ७० गोल गरे र ४ वटा ठूला अन्तर्राष्ट्रिय ट्रफी जिते । आज मेसीलाई फुटबल जगत भगवान् सरह पुजिने गरिए पनि १० वर्षअघि स्थिति यस्तो थिएन ।अर्जेन्टिनाका अर्का महान् खेलाडी डिएगो म्याराडोनाले समेत त्यतिबेला भनेका थिए, ‘मेसी राम्रो मान्छे हुन्, तर उनमा नेतृत्व गर्ने क्षमता र व्यक्तित्वको कमी छ ।’

अर्जेन्टिनामा मेसीलाई ‘पेचो फ्रियो’ भनिन्थ्यो, जसको अर्थ हुन्थ्यो ‘जोस नभएको वा चिसो छाती भएको मान्छे ।’ मानिसहरू उनलाई म्याराडोनासँग तुलना गर्थे र भन्थे– ‘मेसी क्लबका लागि त राम्रा छन्, तर देशका लागि ठूला खेलमा हराउँछन् ।’ २०१६ मा जब मेसीले सन्यास लिए, अर्जेन्टिनामा सन्नाटा छायो। मानिसहरूले तुरुन्तै आफ्नो गल्ती महसुस गरे । सामाजिक सञ्जालमा मेसी नजाऊ भन्ने अभियान नै चल्यो । अर्जेन्टिनाका राष्ट्रपतिदेखि ब्युनस आयर्सका मेयरसम्मले उनलाई निर्णय फेर्न आग्रह गरे । सहरमा उनको मूर्ति नै स्थापना गरियो ताकि उनले जनताको माया महसुस गरुन् । नयाँ प्रशिक्षक एडगार्डो बाउजाले बार्सिलोना पुगेर मेसीलाई मनाए । मेसी फर्किए र भने, ‘म यो देश र यो जर्सीलाई धेरै माया गर्छु ।’

त्यसपछिको सफलता सबैका सामु छ । ३४ वर्षको उमेरमा पहिलो ठूलो अन्तर्राष्ट्रिय ट्रफी जितेका मेसीले ३९ वर्षको उमेरसम्म खेल्दै २०२६ को विश्वकप फाइनलमा समेत टोलीलाई पु¥याए । २०२६ को विश्वकपको फाइनलमा पराजित हुनुका बापजुद उनले ८ गोल र ४ असिस्ट गर्दै आफू अझै पनि उत्कृष्ट रहेको प्रमाणित गरे । अहिले ३९ वर्षको उमेरमा उनका पिता जर्ज मेसीको निधन भएको केही समयपछि उनले लिएको यो सन्यासको निर्णय अन्तिम मानिएको छ । अब उनी सायदै अर्जेन्टिनाको जर्सीमा मैदानमा देखिनेछन् । तर, अर्जेन्टिनाका फुटबल फ्यान उनलाई घरेलु मैदानमा एक पटक बिदाइ खेल खुवाउन चाहन्छन्, ताकि पूरा देशले उनलाई ‘धन्यवाद’ भन्न पाओस् ।

मेसीको खेल जीवनका सबैभन्दा यादगार क्षणहरूः

१. किशोर उमेरमै पहिलो ह्याट्रिक (२००७)
मेसीले आफ्नो करियरको पहिलो ह्याट्रिक फुटबलकै सबैभन्दा ठूलो भिडन्त ‘एल क्लासिको’मा गरेका थिए । मात्र १९ वर्षको उमेरमा रियल म्याड्रिड विरुद्ध ३–३ को बराबरी खेल्दा उनले बार्सिलोनाका लागि सबै ३ गोल गरेर विश्वलाई आफ्नो आगमनको संकेत दिएका थिए ।
२. म्याराडोनाको झल्को दिने जादुमयी गोल (२००७)
गेटाफे विरुद्धको खेलमा मेसीले आफ्नै हाफबाट बल लगेर ५ जना डिफेन्डर र गोलरक्षकलाई समेत छलाउँदै गोल गरे । यो गोल ठ्याक्कै सन् १९८६ मा म्याराडोनाले इंग्ल्याण्ड विरुद्ध गरेको ‘गोल अफ द सेन्चुरी’जस्तै थियो ।
३. च्याम्पियन्स लिग फाइनलमा हेड गोल (२००९)
धेरैले भन्थे– ‘मेसीले होचा छन्, उनले इंग्लिस टोलीविरुद्ध खेल्न सक्दैनन् ।’ तर म्यानचेस्टर युनाइटेड विरुद्धको फाइनलमा उनले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई जिताए र आलोचकको मुख बन्द गरिदिए ।
४. एकै वर्षमा ९१ गोलको विश्व कीर्तिमान (२०१२)
यो यस्तो तथ्यांक हो, जुन पत्याउनै गाह्रो पर्छ । सन् २०१२ मा मेसीले क्लब र देशका लागि गरी कूल ९१ गोल गरे । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाए, जुन कीर्तिमान सायदै कसैले तोड्न सक्ला ।
५. २४ वर्षकै उमेरमा बार्सिलोनाको सर्वाधिक गोलकर्ता (२०१२)
मात्र २४ वर्षको उमेरमा मेसीले सेजर रोड्रिग्वेजको २३२ गोलको ६० वर्ष पुरानो रेकर्ड तोडेर बार्सिलोनाको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । बार्सिलोना छाड्दासम्म उनले ६७२ गोल पु¥याएका थिए ।
६. ला लिगाको ऐतिहासिक रेकर्ड (२०१४)
मेसीले २०१४ मा टेल्मो जार्राको २५१ गोलको कीर्तिमान तोड्दै स्पेनिस ला लिगाको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ला लिगामा कुल ४७४ गोल गरे, जुन क्रिस्टियानो रोनाल्डोको भन्दा धेरै हो ।
७. ५००औँ गोल र त्यो यादगार उत्सव (२०१७)
रियल म्याड्रिड विरुद्धको खेलमा अन्तिम समयमा विजयी गोल गर्दै उनले बार्सिलोनाका लागि ५००औँ गोल पूरा गरे । गोल गरेपछि उनले आफ्नो जर्सी फुकालेर म्याड्रिडका फ्यानहरूतर्फ देखाएको दृश्य फुटबल इतिहासकै सबैभन्दा चर्चित उत्सव मानिन्छ ।
८. आँसुसहित बार्सिलोनाबाट बिदाइ (२०२१)
२१ वर्ष बार्सिलोनामा बिताएपछि, क्लबको आर्थिक अवस्थाका कारण मेसीले रुँदै क्लब छाड्नुप¥यो । त्यो पत्रकार सम्मेलनमा मेसीको आँसुले विश्वभरका फुटबलप्रेमीलाई भावुक बनाएको थियो ।
९. पहिलो अन्तर्राष्ट्रिय ट्रफी र विश्वकपको सफलता (२०२१–२०२२)
३४ वर्षको उमेरसम्म देशका लागि ठूलो ट्रफी नजितेका मेसीले २०२१ मा कोपा अमेरिका र २०२२ मा विश्वकप जितेर आफ्नो करियरलाई पूर्णता दिए । २०२२ को विश्वकप फाइनलमा २ गोल गर्दै उनले ‘प्लेयर अफ द टूर्नामेन्ट’को अवार्डसमेत जिते ।
१०. कीर्तिमानी आठौँ पटक बालोन डी’ओर (२०२३)
विश्वकप जितेपछि मेसीले आठौँ पटक विश्वकै उत्कृष्ट खेलाडीको ‘बालोन डी’ओर’ अवार्ड जिते । यति धेरै पटक यो अवार्ड जित्ने उनी एक्लो खेलाडी हुन् ।
११. अन्तिम विश्वकप र बिदाइ (२०२६)
आफ्नो अन्तिम विश्वकप (२०२६)मा मेसीले ८ गोल गरे । उनको कूल विश्वकप गोल सङ्ख्या २१ पुग्यो (जुन केही समयका लागि विश्व कीर्तिमान रह्यो) । यद्यपि फाइनलमा अर्जेन्टिना स्पेनसँग पराजित भयो, तर ३९ वर्षको उमेरमा पनि मेसीको जादु कायमै थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार