बाढीपीडितलाई बढ्दै निजी क्षेत्रको सहयोग



काठमाडौँ ।

१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अकल्पनीय जनधनको क्षति पु¥याएको छ । एक साता हुँदासम्म पनि सरकारले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको छ । यो विपत्तिमा देश–विदेशका नागरिक तथा विभिन्न संघ–संस्थाले आर्थिकदेखि राहत सामग्री सहयोग गरिरहेका छन् ।

नेपालकै निजी क्षेत्र, कर्पोरेट हाउसले पनि घाइतेको उपचार, राहत तथा पुनस्र्थापनाका लागि सहयोग घोषणा गरेका छन् भने कतीपयले सहयोग गरिसकेका छन् । उनीहरूले विपत्को कठिन समयमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

केएल दुगड ग्रुपको खाद्यान्न सामग्री सहयोग

रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । ग्रुपले पहिलो चरणमा रसुवा र नुवाकोटका प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयलाई हस्तान्तरण गरेको हो । प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसलालगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो ।

विपद्का कारण दैनिक जीवनयापन समेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पु¥याउने उद्देश्यले ग्रुपले उक्त सहयोग ग्रुपले जनाएको छ । दुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको हो । सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो ।

यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खाने तेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ । ग्रुपअन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन् ।

साइमेक्स र बिवाइडीको ७ करोड सहयोग

बाढी प्रभावितको राहत र पुनस्र्थापनाका लागि बिवाइडी र नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ७ करोड रूपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेका छन् । सहयोग रकमको चेक साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । ‘रसुवा हाम्रो लागि केवल एउटा नाका मात्र होइन, हाम्रो यात्रासँग जोडिएको एउटा महत्वपूर्ण अध्याय हो । यही रसुवाबाट हाम्रो बिवाइडी÷साइमेक्सको यात्रा अघि बढेको थियो र आज यही ठाउँमा यति ठूलो विपत्ति आइपर्दा हामी अत्यन्त दुःखी र चिन्तित छौँ ।’ साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।

यस्तो कठिन समयमा हामीले एकअर्कालाई साथ दिनुपर्ने, प्रभावित परिवार, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्न बिवाइडी÷साइमेक्स आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताइन् ।
‘रसुवाले हाम्रो यात्रालाई सुरू गर्न साथ दिएको थियो । आज रसुवालाई हाम्रो साथ चाहिएको बेला हामी पनि पछाडि हट्ने छैनौँ,’ उनले थपिन्, ‘हामीसँगै थियौँ, सँगै छौँ र यो कठिन समय पनि सँगै पार गर्नेछौँ ।’

विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रूपैयाँ सहयोग गरेको छ । शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रूपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ ।
राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व रहेको भन्दै शंकर ग्रुपले यस्ता विपद्मा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।

हिमालयन बैंकको ३ करोड १ लाख सहयोग

हिमालयन बैंकले भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा प्रभावितहरूको उद्धार, सहायता तथा पुर्नस्थापनाका लागि ३ करोड १ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो । बैंक यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

शारडा र राठी ग्रुपद्वारा २ करोड सहयोग

बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि औद्योगिक घराना शारडा ग्रुप र राठी ग्रुपले संयुक्त रूपमा करिब दुई करोड रूपैयाँँ बराबरको सहयोग उपलब्ध गराएका छन् । प्राकृतिक विपत्तिका बेला नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्नदेखि दीर्घकालीन पुनस्र्थापनाका लागि नगद र निर्माण सामग्रीसम्म सहयोग पु¥याइएको शारडा ग्रुपले जनाएको छ ।

सहयोग रकम अन्तर्गत शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई १ करोड २२ लाख रूपैयाँँको चेक हस्तान्तरण गरेका छन् । यसमा शारडा ग्रुपको तर्फबाट १ करोड १ लाख रूपैयाँँ र ग्रुप मातहतकै शिवम् होल्डिङ्सबाट २१ लाख रूपैयाँँ समावेश गरिएको जानकारी नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष तथा शारडा ग्रुपका प्रबन्ध निर्देशक पवनकुमार शारडाले दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा, राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी तथा शिवम् सिमेन्टका निर्देशक रघुनन्दन मारुलगायत उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो । नगद सहयोगका अतिरिक्त, बाढीग्रस्त क्षेत्रमा भौतिक संरचना पुनर्निर्माणका लागि शिवम् सिमेन्टका तर्फबाट ११ हजार बोरा सिमेन्ट पनि प्रदान गरिएको छ ।

यसैगरी, विपद् प्रभावित क्षेत्रका बासिन्दाको तत्कालीन राहतका लागि एसियन थाइ फुड्समार्फत यसअघि नै ६० लाख रूपैयाँँ बराबरको खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिसकिएको प्रबन्ध निर्देशक पवन शारडाले जानकारी दिए । त्यसैगरी विराटनगरकै आकृति एडभर्टाइजिङका प्रबन्ध निर्देशक मनोज चौहानले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार ५ लाख ५५ हजार रूपैयाँँ जम्मा गरेका छन् । राहत कोषको खातामा रकम जम्मा गरेका चौहानले भौचर जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

नेसनल लाइफले दियो १ करोड ५१ लाख

नेसनल लाइफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । बाढीबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रूपैयाँ रकमको आर्थिक सहयोग गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा १ करोड ५१ लाख सहयोग

शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढी प्रभावितका लागि १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेका छन् । बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
मंगलबार अर्थ मन्त्रालयमा सहयोग रकम हस्तान्तरण गरिएको हो । शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा र संजीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरे ।

एमएडब्लू ग्रुपको राहत कोषमा एक करोड ११ लाख जम्मा

रसुवाको भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख योगदान गरेको छ । बाढीका कारण विभिन्न परिवारले घर, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजन समेत गुमाएको अवस्थामा कम्पनीले प्रभावित नागरिकलाई राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ । पुनस्र्थापना तथा पुनर्निर्माणको प्रक्रियामा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीको भनाइ छ । एमएडब्लू ग्रुपका अनुसार, बाढीबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ । प्रभावित परिवारको पुनस्र्थापनाको यात्रा सहज छैन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

उद्धार कोषमा शारदा ग्रुपको १ करोड १ लाख जम्मा

शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ । प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको हो । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले उल्लेखित रकम मंगलबार अर्थमन्त्रीको कार्यालयमा उपस्थित भइ हस्तान्तरण गरेका हुन् । साथै ग्रुपले तत्कालीन राहत तथा मानवीय सहयोगका कार्यक्रमहरूसमेत अघि बढाएको छ । उक्त सहयोग शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट प्रदान गरेको हो । जसअन्तर्गत पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख रूपैयाँ, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख रूपैयाँ, प्रिमियर वायर्स प्रालिले १५ लाख रूपैयाँ र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रूपैयाँ उपलब्ध गराएका हुन् ।

उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

कर्पोरेट क्षेत्रमा सामाजिक कार्यलाई ठूलो प्रचारप्रसारको विषय बनाउने चलनबीच अग्नि ग्रुपले भने एक अनुकरणीय र सादगीपूर्ण कदम चालेको छ । हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अग्नि ग्रुप अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप÷महिन्द्राका तर्फबाट ११ भदौमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रूपैयाँँ जम्मा गरेका थिए ।

बुटवल पावर कम्पनीद्वारा ५१ लाख हस्तान्तरण

बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट ५१ लाख ४१ हजार ९ सय ८६ रूपैयाँँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ । बाढीले जनधनको ठूलो क्षति पु¥याएपछि सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पान मार्फत मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

यस विषम परिस्थितिमा निजी क्षेत्रको तर्फबाट मानवीय सेवाका लागि यो सहयोग उपलब्ध गराइएको जनाएको छ । यस सामूहिक सहयोग रकममा बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रूपैयाँँ संकलन गरिएको छ, जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीहरूको ११ लाख ३६ हजार ९ सय ८६ रूपैयाँँ योगदान रहेको छ ।
त्यसैगरी, समूह अन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रूपैयाँँ सहयोग गरेका छन् ।

भेगास सिटी इन्टरनेसनलको २६ लाख सहयोग

भेगास सिटी इन्टरनेसनल प्रालिले विपद् प्रभावितहरूका लागि २६ लाख रूपैयाँ सहयोग गरेको छ । भेगास सिटी इन्टरनेसनलका सञ्चालक बलराम सापकोटाले उक्त सहयोग रकम पर्यटनमन्त्री गणेश पौडेललाई हस्तान्तरण गरेका हुन् । विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त रकम उपलब्ध गराएको हो । सहयोग रकम हस्तान्तरण गर्दै सञ्चालक सापकोटाले आपत् तथा विपद्का बेला नेपाल र नेपाली नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व र कर्तव्य भएको बताए ।

युसीएमएस भैरहवाद्वारा २५ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो मेडिकल कलेज युसीएमएस शिक्षण अस्पताल भैरहवाले २५ लाख रूपैयाँँ आर्थिक सहयोग गरेको छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले सहयोग रकम हस्तातरण गरेका थिए । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको शिक्षण अस्पतालका कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले बताए ।

मातृभूमि लघुवित्तको पाँच लाख सहयोग

मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रूपैयाँँ सहयोग प्रदान गरेको छ । संकटको यस घडिमा राहत तथा उद्धार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरूले गरेको सार्थक पहलप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रूपैयाँँ सहयोग प्रदान गरेको जनाएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवालगायत आसपासका जिल्लाहरूमा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति हुन गएकोप्रति संस्थाले दुःख व्यक्त गरेको छ ।

देशमा आइपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । यस प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति वित्तीय संस्थाले गहिरो सहानुभूति प्रकट गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार