दूषित पानी पिउँदा पूरै गाउँमा भाइरल ज्वरो फैलियो



बाजुरा ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खोलाको दूषित पानी पिउँदा पूरै गाउँमा भाइरल ज्वरो फैलिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका—२ का पारिबगर, घट्टछुद्वरी र बालुवा बस्तीमा पछिल्लो एक सातादेखि भाइरल ज्वरोको संक्रमण फैलिएको हो । वर्षायममा खोलाको दूषित पानीका कारण स्थानीयमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखिन थालेपछि गाउँमा त्रासको वातावरण सिर्जना भएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए ।

उनकाअनुसार भाइरल ज्वरोका कारण तीनवटा बस्तीका ५१ घरपरिवारका नागरिक प्रभावित भएका छन् । ‘अविरल वर्षापछि बाढीका कारण गाउँको खानेपानी अवरुद्ध भयो, त्यसपछि सबैले खोलाको पानी पिउन थालेपछि पाँच दिनदेखि बालबालिकासहित स्थानीय बासिन्दा बिरामी छन्,’ अध्यक्ष रोकायाले भने, ‘स्वास्थ्य जाँचसँगै उपचारका लागि एक जना सामान्य स्वास्थ्यकर्मी पठाएका थियौँ तर अझै सन्चो नभएपछि पालिकाकै टिम खटिएको छ ।’

आइतबार गाउँ कार्यपालिका बैठकबाट निर्णय गरेर मंगलबार गाउँपालिका अध्यक्ष रोकायासहित स्वास्थ्य शाखा प्रमुख पारसबहादुर शाही, स्वास्थ्यकर्मीहरूको टोली प्रभावित बस्तीमै पुगेर उपचार तथा स्वास्थ्य परीक्षणमा जुटेको गाउँपालिकाले जनाएको छ । उक्त गाउँमा गाउँपालिकाले स्वस्थ खानेपानीका लागि पाइपसहिहत खानेपानी ट्याङ्की सफा गरिएको र औषधिसमेत वितरण गरेको भन्दै अब बिस्तारै सबैलाई सन्चो हुने अध्यक्ष रोकायाले बताएका छन् ।

उक्त गाउँ स्वास्थ्य संस्थाबाट टाढा छ । त्यहाँका नागरिले उपचारका लागि त्यही वडाको फयाल गाउँ सामुदायिक स्वास्थ्य इकाइ हो तर त्यहाँ टाढा हुँदा कर्णाली नदी तरेर जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा जाने गरेका छन् । यस्तै, भाइरल ज्वरोका कारण बालबालिकालगायत गाउँका सबै बिरामी भएपछि उक्त गाउँमा रहेको गंगादेवि आधारभूत विद्यालय एक हप्तादेखि बन्द भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । सुदूरपश्चिम प्रदेशको एक मात्र कर्णालीपारिको दुर्गम क्षेत्रमा पर्ने स्वामीकार्तिक खापरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा सामान्य स्वास्थ्य समस्यासमेत जटिल बन्ने गरेको स्थानीयहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार