बाढी प्रभावित क्षेत्रमा खाद्यान्न संकट



काठमाडौँ ।

रसुवाको बाढीबाट प्रभावित जिल्लाहरू विशेषगरी रसुवा र नुवाकोट जिल्लामा खाद्यान्न संकटको अवस्था देखिएको छ । ती जिल्लाहरूको सडक सम्पर्कविच्छेद भएको र आवतजावतमा कठिनाइ भएको अवस्थामा बाढी प्रभावित र जिल्लावासीहरू खाद्यान्नको अभावमा रहेका त्यहाँका स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । सरकारले समयमै खाद्यान्न पु¥याउन नसक्दा विशेषगरी बाढी प्रभावितहरूमा भोकमरी सृजना हुनसक्ने भन्दै स्थानीय तहका जनप्रतिनिधि तथा त्यस क्षेत्रका स्थानीय बासिन्दाहरूले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले जिल्ला र गाउँपालिकामा खाद्य संकट हुन सक्ने अवस्था रहेको बताएकी छन् । बाढी प्रभावित क्षेत्रमा मात्र नभई समग्र भूगोलमै खाद्यान्न संकट उत्पन्न हुन सक्ने अवस्था रहेको गुरुङको भनाइ छ । सडक सन्जाल पूर्णरूपमा अवरुद्ध हुँदा नुन, तेल, दाल, चामललगायत अत्यावश्यक खाद्यान्नको मौज्दात सकिँदै गएको गुरुङले बताएकी छन् । गुरुङका अनुसार बगर बनेका सडक तत्कालै बन्ने अवस्था नरहेकोले आपूर्तिको विकल्प नअपनाउने हो भने खाद्य संकट आउँछ र लामो समयसम्म रहन सक्ने अवस्था देखिएको छ ।

यसैगरी उत्तरी रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले पनि सरकारले तत्कालै खाद्यान्नको व्यवस्था गर्न नसकेमा भोक भोकै पर्नुपर्ने अवस्था आउन सक्ने देखिएको बताएका छन् । तामाङका अनुसार अब गाउँलेसँग केही दिनलाई पुग्ने खानेकुरा मात्रै रहेको त्यसपछि भोकै बस्नुपर्ने अवस्था आउने बताए । आमाछोदिङमो गाउँपालिका अहिले पूर्णरूपमा नाकाबन्दीमा रहेको बताउँदै तामाङले हेलिकोप्टरबाट खाद्यान्न ल्याउनुबाहेक अरु विकल्प नरहेको बताएका छन् । ‘विद्युत् छैन, नियमित खाद्यान्न आपूर्ति हुन सकेको छैन र सडकमार्फत कुनै पहुँच छैन । हाल यो क्षेत्रमा पुग्ने एक मात्र माध्यम हेलिकोप्टर बनेको छ,’ उनले भने ।

रसुवाका स्थानीयवासी तथा जनप्रतिनिधिहरूले सरकार संघसंस्था तथा सहयोगीहरूलाई तत्काल उद्धार, राहत तथा खाद्यान्न सहयोगका लागि अनुरोध गरिरहेका छन् । केन्द्र सरकारसँग कुराकानी भइरहेको छ तर सरकारले धेरै ठाउँमा एकै पटक गर्नुपर्ने भएकाले ढिलो हुनसक्ने चिन्ता रहेको उनले बताए । आमाछोदिङमो गाउँपालिका अध्यक्ष तामाङ अहिले सबै गाउँलेहरूलाई अस्थायी टहरामा राखेको र ठूलो पानी परेमा अवस्था झन् जटिल हुने भएकाले यसतर्फ काम गर्न पालिकाले मात्र सम्भव नभएकाले केन्द्र सरकारले ध्यान दिनुपर्ने पनि बताएका छन् ।

हाल काठमाडौँमा रहेका रसुवाका स्थानीयवासी एवं लेखब गुरुङ सुशान्त संघीय सरकारले जनतालाई राहत दिने काममा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताएका छन् । गुरुङले रसुवाली जनताहरूले अहिलेसम्म राहत पनि पाउन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘रसुवाली जनताले आकाशमा हेलिकोप्टर उडेको मात्रै देखेको तर स्थलगत रूपमा राहत नपाएको गुनासो निरन्तर गरिरहेका छन् । खासगरी केन्द्रीय सरकारले दलगत आग्रहभन्दा पर बसेर स्थानीय जनप्रतिनिधिसँग खुलेर हातेमालो गरोस् किनकि त्यहाँका जनता, भूगोल, स्रोत–साधन, अप्ठेरो–सजिलो बुझ्ने भनेकै स्थानीय जनप्रतिनिधिले हो ।’

यता नुवाकोटमा खानेपानीमा समस्या उत्पन्न भएको छ । जिल्लाकोे विदुर, बट्टारलगायतको क्षेत्रमा खानेपानीको पाइपलाइनमा बाढीले क्षति पु¥याउँदा पानीको अभाव भएको हो । अहिले विदुरका घरघरमा खानेपानीको अभाव रहेको विदुर नगरपालिकाकी नगर उपप्रमुख प्रभा बोगटीले बताएकी छन् । नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी पु¥याउने काम गरिरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । पानी अभावले स्थानीयहरूलाई खाना पकाउने, नुहाउने, लुगा धुनेजस्ता दैनिक अत्यावश्यक कामका लागि पनि पानीको हाहाकारको स्थिति रहेको छ ।

नगरपालिकाले ट्याङ्कर र दमकलमार्फत पु¥याएको पानी सबैलाई पुग्न नसकेकोले पानी अभावकै कारण विदुर र बट्टारमा रहेको होटलहरूले पनि सञ्चालन गर्न नसक्ने अवस्था आएको नगर उपप्रमुख बोगटीले बताएकी छन् । राहत सामग्रीसँगै पानीको जार र मिनरल वाटर पनि आए पनि पर्याप्त नभएको उनले बताइन् । बाढीले दिएको पीडासँगै स्थानीयले दैनिक खाना पकाउनदेखि सरसफाइसम्मको कामका लागि अत्यावश्यक पानीको अभाव कहिलेसम्म झेल्नु पर्ने हो भन्ने कुरा अनिश्चित भएपछि स्थानीयवासीहरू थप तनावमा परेको उनको भनाइ छ ।

उत्तरगया गाउँपालिकामा मात्रै करिब ७ सय जना आश्रयस्थलमा रहेका छन् । तीमध्ये वडा नम्बर ४ को एक विद्यालयमा राखिएका प्रभावितलाई सडक अवरुद्ध भएका कारण पर्याप्त राहत पुग्न नसकेको गाउँपालिका उपाध्यक्ष गुरुङले बताएकी छन् । यस्तै, उत्तरगयाका करिब एक सय ५० देखि दुई सय जना प्रभावित किस्पाङ गाउँपालिका–५ को शान्तिबजारमा आश्रय लिएर बसेका छन् । त्यहाँ पनि खाद्यान्न पुग्न नसकेको र हेलिकोप्टरमार्फत मात्र राहत पु¥याउन सकिने अवस्था रहेको उनले बताइन् ।

उत्तरगया–१ को तिरु क्षेत्रमा समेत प्रभावित नागरिक रहेको जानकारी आए पनि सञ्चार सम्पर्क हुन नसकेका कारण वास्तविक अवस्था यकिन गर्न नसकिएको गुरुङले बताएकी छन् । त्यसैगरी, उत्तरगयाका केही नागरिक नुवाकोटको सूर्यगढी क्षेत्रमा समेत आश्रय लिएर बसेका र उत्तरगयाका पाँचवटै वडा प्रभावित भएकाले वास्तविक प्रभावितको सङ्ख्या निकै ठूलो रहेको उनको भनाइ छ ।
बाढीपछि गाउँपालिकामा एक हजारभन्दा बढी मानिस बेपत्ता वा सम्पर्कविहीन रहेको उपाध्यक्ष गुरुङको अनुमान छ । राहत तथा उद्धारका लागि स्थानीय तहले केन्द्र सरकारसँग समन्वय गरिरहेको भए पनि प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर काम गर्न कठिन भएको गुरुङले बताएकी छन् ।

बाढीपीडित स्थानीय तहलाई ६ करोड ७५ लाख

भोटेकोशी बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई सरकारले ६ करोड ७५ लाख रूपैयाँ नगद राहत पठाएको छ । आइतबारसम्म रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहमा राहत पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवा र नुवाकोटमा एक–एक करोड र धादिङमा ५० लाख रूपैयाँका दरले नगद राहत पठाइएको प्राधिकरणले जानकारी दिएको हो । सरकारले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको थियो ।

त्यही कोषबाट पहिलो चरणमा सहायता पठाइएको हो । पछिल्लो विवरण अनुसार कोषमा चार अर्ब ३८ करोड नेपाली रूपैयाँ र ६ लाख ८० हजार अमेरिक डलर जम्मा भइसकेको छ । यस्तै, हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्य र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ । हेलिकोप्टरबाट आठ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार