कोहलपुरका नेवार समुदायले मनाए गाईजात्रा



कोहलपुर (बाँके) ।

परम्परागत सांस्कृतिक पर्व गाईजात्रा शनिबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइन्छ । गाईजात्राको पहिलो दिन बाँकेको कोहलपुरमा बसोबास गरिरहेका नेवार समुदायले गाईजात्रा (शापारु) वर्ष मनाएका छन् ।

नेवारी परम्पराअनुसार एकवर्षभित्र दिवंगत भएका परिवारका सदस्य र आफन्तको सम्झनामा गाईजात्रा मनाइएको हो । गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ । नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने गर्छन् । यसरी गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहिआएको छ ।

कोहलपुरमा समेत सोहीअनुसार नगर परिक्रममा गरेर पर्व मनाइएको हो । नेवार समुदायले विगत ११ वर्षदेखि कोहलपुरमा यो पर्व मनाउँदै आएका छन् । विगतमा हर्षोउल्लासका साथ पर्व मनाइने भए पनि यसपटक भदौ १० को बाढीका कारण देश शोकमा रहेको भन्दै शान्तपूर्वक मौन रुपमा गाईपात्रा मनाइएको श्री भीमसेन देव मन्दिर संरक्षण समिति, कोहलपुरले जनाएको छ । गत वर्ष कोहलपुरमा नेवार समुदायका पाँच जनाको निधन भएको थियो । जसमध्ये तीनवटा घरबाट गाईजात्रा निकालिएको हो ।

गत वर्ष निधन भएका हेमन्त श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र लालबहादुर श्रेष्ठको घरबाट गाईजात्रा निकालिएको समितिले जनाएको छ । दुईवटा घरले भने पहाड घरमा नै गाईजात्रा निकालेको मन्दिर संरक्षण समितिका वरिष्ठ सल्लाहकार राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘अहिले देश विषम परिस्थितिमा छ । त्यही भएर हामीले यसपटक शान्तपूर्वक हाम्रो पर्व मनाएका छौँ ।’ मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद श्रेष्ठ नेवारी परम्पराअनुसार गाईजात्रा मनाइएको बताउँछन् । गाईजात्रामा कोहलपुरमा बसोबास गर्दै आएका नेवार समुदायको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार