नेपालगन्ज ।
रसुवा भोटेकोशी बाढीबाट भएको क्षतिपछि सहयोगी देश तथा दातृ निकायबाट सहायता आउने क्रम सुरु भएको छ । बाढीपीडितका लागि सबैभन्दा पहिले अघि सरेको छिमेकी देश भारत सरकारले १० टन राहत सामग्री नेपाल पठाएको छ भने अमेरिकाले पनि पाँच लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । यसैगरी छिमेकी देश चीनले पनि सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारत सरकारले उपलब्ध गराएको सहायता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई हस्तान्तरण गरिएको छ ।
भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् । यसैगरी अमेरिकी विदेश मन्त्रालयले बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री, पानी, सरसफाइ तथा स्वच्छता सहायताका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ । अमेरिकाले नेपालमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले स्थितिलाई नजिकबाट नियालिरहेको र उद्धार कार्यमा सघाउ पु¥याउन प्रभावित क्षेत्रमा एक जना विपद् व्यवस्थापन सल्लाहकार परिचालन गरिरहेको जनाएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी तथा सहायताका लागि स्थानीय अधिकारीहरूसँग निकट रहेर काम गरिरहेको जनाएको छ । यसैगरी विश्व बैंकले करिब २५ अर्बसम्मको आपत्कालीन राहत उपलब्ध गराउन सकिने जनाएको छ । उक्त रकम उद्धार, राहत र पुननिर्माणमा प्रयाग गर्न सकिने जनाइएको छ । यस्तै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले बाढी प्रभावितको खोज तथा उद्धार र पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
आईएफआरसीका महासचिव जगन चापगाईंले भोटेकोसी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिएका छन् । यस्तै विश्व स्वास्थ्य संगठनले एक हजार जनालाई पुग्ने आधारभूत औषधि र उपकरण सहायता उपलब्ध गराउने भएको छ । यस्तै छिमेकी देश चीनले पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गर्दै विपत्तिको यस कठिन घडीमा नेपाल सरकार, नेपाली जनता र प्रभावित समुदायप्रति चीनको सहानुभूति रहेको बताएका छन् ।
ग्यिरोङ–रसुवागढी सीमाक्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गर्दै राजदूत झाङले चीनतर्फ पनि क्षति भए पनि नेपाललाई तत्काल सहयोग उपलब्ध गराउन आपत्कालीन समन्वय गरिएको जानकारी दिएका छन् । नेपाल र चीनले सहकार्य गरेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै उनले आपसी सहयोगबाट अहिलेको कठिन परिस्थिति पार गर्न सकिने विश्वाससमेत व्यक्त गरेका छन् ।
बाढीबाट भएको मानवीय क्षति तथा विपद्प्रति विश्वका विभिन्न मुलुकहरूले गहिरो दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन् ।
युरोपेली संघ (ईयू) की अध्यक्ष उर्सुला भोन डेर लेयनले समेत नेपालका लागि युरोपेली सहायता परिचालन गर्न ईयू तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् । बेलायतका विदेश सचिव एड मिलिब्यान्डले बेलायती कन्सुलर टोलीले आपत्कालीन उद्धार र प्रभावितहरूको सहयोगका लागि स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको जानकारी दिएका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि विपद्को यस घडीमा क्यानडा नेपाललाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
यस्तै नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले बाढीले गरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस चुनौतीपूर्ण घडीमा आफ्नो सद्भाव र प्रार्थना नेपाल र नेपाली जनताको साथमा रहेको उनले उल्लेख गरेका छन् । यसैगरी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बाढीबाट ज्यान गुमाउनेका परिवार र प्रभावितहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै नेपालको दुःखमा आफ्नो देशको साथ रहने उल्लेख गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्