सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब बाढीपीडितलाई दिने



अर्घाखाँची ।

सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशी–त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठूलो भौतिक तथा मानवीय भएकोमा दुःख व्यक्त गर्दै सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनःस्थापनाका लागि रकम दिने निर्णय गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालको अध्यक्षतामा बसेको बैठकले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा ऐक्यबद्धता जनाउँदै यो निर्णय गरेको हो ।

कर्मचारीको एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए । नगरपालिकाको प्रशासकीय कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थालगायत मातहतका कार्यालयमा कार्यरत १६८ जना कर्मचारीहरूबाट उक्त रकम संकलन गरी सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका आइटी प्रमुख विशाल महतले बताए । १६८ कर्मचारीले एक हप्ताको तलब बराबरको रकम सहयोग गर्दा झन्डै १५ लाख रूपैयाँँ सहयोग हुने भएको छ ।

नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै बाढीका कारण घरबारविहीन, प्रभावित तथा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायबाट तत्काल प्रभावकारी राहत, उद्धार तथा पुनःस्थापनाको कार्य अघि बढाउन आग्रह गरेको छ ।

काइकेले एक लाख सहयोग गर्ने 

जिल्लाको काइके गाउँपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका लागि एक लाख रूपैयाँँ सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष अंगद रानाले एक विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सो सहयोग उपलब्ध गराउने जनाएका हुन् ।

विपद्पछिको खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले एक लाख रूपैयाँँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष रानाले बताए । बुधबार बिहान आएको भीषण बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएकाले थप क्षति हुनबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सुरक्षित रहन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार