नेउवा संघ निर्वाचनः बढ्यो चुनावी सरगर्मी



नेपालगन्ज ।

प्रमुख राजनीतिक दलका आस्थावान व्यवसायिक अगुवाहरूको एकजुटताकाबीच पनि नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भदौ ६ गते मतदान हुँदैछ । संघका केही पूर्वअध्यसहितका व्यवसायिक अगुवाहरूले अहिलेका प्रथम उपाध्यक्ष चिरन्जिवी ओलीको नेतृत्वमा सर्वसम्मतिको प्रयास गरेपनि अध्यक्षमा उम्मेदवारी दिएका ध्रुव दाहाल र उनको टिम पछि नहटेपछि अब मतदानबाट नयाँ कार्यसमितिको टुंगो लाग्नेछ ।

मतदान हुने भएपछि उम्मेदवारहरू व्यवसायीहरूको फर्म तथा घरदैलोमै पुगेर मत माग्न थालेका छन् भने दुवै समूहले आफ्ना चुनावी सचिवालय पनि सञ्चालनमा ल्याएका छन् । अध्यक्षमा तीनवटा ठूला दलका आस्थावान उद्योगी व्यवसायीहरूले ओलीको नेतृत्वमा सर्वसम्मत टिम नाम दिएर साझा प्यानल बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस र नेकपा एमालेमा आस्थावान संगठनका अगुवाहरूले ओलीको अध्यक्षतामा समूह बनाएर मत मागिरहेका छन् ।

ओली रास्वपाको तर्फबाट हुन् भने नेपाली काँग्रेस निकट व्यवसायीको तर्फबाट उम्मेदवारी घोषणा गरेका सन्जय थापाले ओलीलाई समर्थन गरेपछि साझा समूह निर्माणको वातावरण बनेको थियो । रास्वपाले भने कसैलाई पनि समर्थन नगरेको जनाएको छ । त्यसपछि राजनीतिक दलका आस्थावान उद्योगी संगठनलाई भागबण्डाका आधारमा पद बाँडेर उनीहरूले सर्वसम्मत टिम बनाइएको थियो ।

अध्यक्ष पदका उम्मेदवार रास्वपा निकट ओली नेतृत्वको समूहले अध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ सदस्य १, खुला सदस्य ४, एशोसिएट सदस्य २, वस्तुगत सदस्य १, मनोनित सदस्य २ गरी १२ पद पाएका छन् । यसैगरी नेपाली काँग्रेसनिकट प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघले उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष महिला, उपमहासचिव, खुला सदस्य ४, महिला सदस्य १ गरी ८ पद पाएका छन् ।

त्यस्तै, एमालेनिकट नेपाल उद्योग तथा वाणिज्य महासंघ सम्बद्ध कमल कार्कीको नेतृत्वको समूहले उपाध्यक्ष उद्योग, महासचिव, खुला सदस्य ३, वस्तुगत सदस्य १, महिला सदस्य १ गरी ६ पद पाएका छन् । अध्यक्ष, महासचिवसहित सदस्यहरूका लागि मतदान हुने भएपनि दुई उपाध्यक्ष तथा एशोसिएट र सम्बद्ध सदस्यमा निर्विरोध चयन भइसकेको छ भने बाँकी पदहरूमा मतदान हुनेछ ।

अध्यक्षमा ओली र दाहालबीच प्रतिस्पर्धा हुँदा उपाध्यक्ष महिलामा ओलीको टिमबाट रुपा ओझा सानु र दाहालको टिमबाट उमा ग्राण्डनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै महासचिवमा ओलीको टिमबाट विष्णु श्रेष्ठ दाहालको टिमबाट दिपेन्द्रकुमार जोशीबीच प्रतिस्पर्धा हुँदा उपमहासचिवमा शिवप्रसाद दाहाल र प्रदीप आचार्यबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्षमा भने टीकामणि उपाध्याय, सूर्यकुमार श्रेष्ठबीच र नारायण प्रसाद प्रसाई तीन जना उम्मेदवार रहेका छन् । उपाध्यक्ष ओलीको टिमबाट हुन् भने श्रेष्ठ दाहालको टिमबाट हुन् ।

यसैगरी प्रत्यक्ष निर्वाचित हुने १० जना सदस्यको कोटामा १४ जनाले उम्मेदवारी दिएका छन् । ओलीको टिमबाट सदस्यमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, शैयद जहाँगिर मुसमान, तोप बहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नरेन्द्र शाहीले उम्मेदवारी दिएका छन् भने दाहालको टिमबाट रामकुमार वैश्य र विकास थापाले उम्मेदवारी दिएका छन् ।

यसैगरी सदस्यमै शिवराज कुर्मी र सुरजबहादुर भण्डारीले पनि उम्मेदवारी दिएका छन् । संयुक्त प्यानल निर्माणमा अहम भूमिका खेलेका संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ उद्योगी र व्यवसायीको समस्या र हितमा केन्द्रीत हुन संयुक्त प्यानल बनाइएको दाबी गर्छन् । उनले विगतमा संघको निर्वाचनमा देखिने गरेको राजनीतिक प्रतिस्पर्धाजस्तो अवस्था यसपटक नहोस् भनेर आफूहरूले पहल गरेको बताए ।

श्रेष्ठले त यसपटक सर्वसम्मतरूपमा कार्यसमति निर्माण गरेर उदाहरण दिन सकिने तर्क गरेर पूर्व अध्यक्षहरूले दाहाल लगायतलाई उम्मेदवारी फिर्ता लिन साधारणसभाको मञ्चबाटै आग्रह गरेका थिए । नेपाली काँग्रेसनिकट प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघका ललित रौनियार पनि संघको संगठनात्मक विकास र व्यवसायीको साझा संगठनका रूपमा विकास गर्न सर्वसम्मत टिम बनाइएको दाबी गर्छन् ।

यता, अध्यक्षमा उम्मेदवारी दिएका दाहाल भने राजनीतिक आधारमा भागबण्डा गरेर सर्वसम्मत टिमको नाममा संघलाई कब्जा गर्न खोजिएको आरोप लगाउँछन् । उनले संघका देखिएको त्यही राजनीतिक भागबण्डा र अपारदर्शिताको विरुद्धमा उम्मेदवारी दिएको बताउँदै आएका छन् । अन्ततः संघमा यसपटक पनि मतदानबाटै नयाँ कार्यसमिति बन्ने भएपछि दुवै टिम आफ्नो चुनावी प्रचारमा जुटेका छन् ।

स्थानीय तह र संसदीय चुनावको झल्को दिनेगरी यसपटक पनि उम्मेदवारहरू मतदाता व्यवसायीहरूसँग मत माग्न घरदैलो गर्न थालेका छन् । पछिल्ला केहीदिनयता उनीहरू उद्योगी तथा व्यवसायीहरू सँग मत माग्न व्यस्त छन् । मत माग्ने क्रममा ओली नेतृत्वको समूहले व्यापारिक सुरक्षा, कर प्रणालीको सहजता र नेपालगन्जको समग्र आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आएको छ भने दाहालले संघको वेथितिविरुद्ध नै आफ्नो उम्मेदवारी रहेको बताइरहेका छन् ।

ओलीले उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, महासचिव हुँदै प्रथम उपाध्यक्ष हुँदा व्यवसायीहरूको मुद्दामा सधैँ अग्रपंक्तिमा रहेको बताए । खुला सीमा, कर छुट, चर्काे ब्याजदर लगायतका विषयमा व्यवसायीका पक्षमा आफूले आवाज उठाएको उनको भनाइ छ । अब अध्यक्षमै पुगेर व्यवसायीका मुद्दा सरकारसमक्ष लैजाने र व्यवसायीहरूलाई सहजीकरण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको ओलीले बताए ।

‘व्यवसायीका मुद्दाहरू के हुन् भन्ने पहिचान गरेर त्यसका लागि निरन्तर आवाज उठाउँछौँ । नौबस्ता औद्योगिक क्षेत्रको काम अघि बढाउन दबाब सृजना गर्छाैँ । यसका साथै कर सचेतना, तालिम तथा सरकारको नीति तथा कार्यक्रममा व्यवसायीका मुद्दाहरू सम्बोधन गराउन दबाब दिने काममा मेरो भूमिका रहन्छ,’ ओलीले भने ।दाहालले संघभित्र लोकतान्त्रिक प्रणालीभन्दा राजनीतिक भागबण्डाको शैली स्थापित गराउन खोजिएको भन्दै त्यसको विपक्षमा आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

‘मतदाताहरूलाई मतदानबाट बञ्चित गराउनेगरी जसरी टिम घोषणा गरे त्यसको विरुद्धमा र व्यवसायीको हकहितको लागि स्वतन्त्र समूह बनाएर उम्मेदवारी दिएको छु । म निर्वाचित भएमा संघलाई व्यवसायिहरूको वास्तविक छाता संगठन बनाउने, व्यवसायीका मुद्दामा केन्द्रित गराउने काम गर्नेछु,’ दाहालले भने ।

यी हुन् सर्वसम्मत निर्वाचितहरू 

अध्यक्ष र अधिकांश पदाधिकारीसहित सदस्यहरू मतदानबाट टुंगो लाग्ने भएपनि दुईजना उपाध्यक्ष, एशोसिएट सदस्य र सम्बद्ध सदस्यमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । उपाध्यक्ष वाणिज्यतर्फमा विष्णुप्रसाद श्रेष्ठको मात्रै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष उद्योगतर्फ ओलीको टिमबाट उम्मेदवार रहेका कमल कुमार कार्कीलाई लोकेन्द्र अर्यालले समर्थन गरेका छन् ।यसैगरी, संघको एशोसिएट सदस्यको दुई पदका लागि राजिव तेलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्य दुई  पदका लागि फणाधर भन्सारी र सुरेश जंग बन्जाराको मात्रै उम्मेदवारी परेपछि उनीहरू पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार