जीतबहादुर शाह
म पनि कुनै बेला राजधानीबासी भएको थिएँ । त्यो पनि संघीय राजधानीको । अब भने त्यो अवस्था छैन । त्यो सबै अब एकादेशको कथामा सीमित भएको छ । त्यत्तिबेला घरको रङरोगन, मर्मत सम्भार आदिका लागि सरसामान खरिद गर्न पसलतिर जाने क्रममा जोरपाटीस्थित रङ्ग पसलमा फर्किफर्की जाने काम परिरहन्थ्यो । पसलमा प्रायगरी साहुसाहुनीसँग भेट हुन्थ्यो । साहुलाई पसलको बारेमा जति जानकारी थियो साहुनीलाई पनि त्यत्ति नै जानकारी थियो । कम्प्यूटरबाट सफ्टवेयर खोलेर रङ्ग बनाउने फरमुला हेर्न आउँथ्यो उनलाई । त्यही अनुसार रङ्ग बनाउन पनि आउथ्यो । सामानको बील काट्न आउँथ्यो । हिसाब निकाल्न आउँथ्यो । ग्राहकलाई कुनमा कति प्रतिशत छुट दिनुपर्छ त्यो पनि जानकारी थियो । तथापि साहुनीले हरेक कुरा आफ्नो पति वा साहुजीलाई नसोधी केही गर्दिनथिन् । बील पनि देखाउथिन् । रङ्ग पनि देखाउथिन्् । टाढा भएको अवस्थामा फोन गरेर पनि आफूले गर्दै गरेको कुरामा साहुजीको स्वीकृति माग्थिन् । मलाई साहुनीको बानी ठिकै पनि लाग्यो । तथापि साहुजीले भने त्यस्तो गर्दैनथे । उनले आफूले गरेको कुरा पत्नी वा साहुनीलाई रुजु गराउनु आवश्यक ठान्दैनथे । क्षमतामा सबै समानजस्तै भए पनि साहुनी कमजोर ठान्दिरहिछन् आफूलाई । त्यो भन्दा पनि कमजोर ठानिदो रहेछ साहुनीलाई । साहुजी भने सक्षम ठान्दा रहेछन् आफूलाई । अर्थात सक्षम ठानिदो रहेछ साहुजीलाई । अरु जे होस्, यो मामलामा नजाँनिदो तरिकाले लैङ्गिक हिंसाको हस्को आएको अनुभूति भयो मलाई । यो भनेको संस्कार रहेछ हाम्रो । महिलाले आफूलाई कमजोर ठान्ने संस्कार । महिलाले अरुमाथि भर पर्नुपर्ने संस्कार । त्यसैगरी पुरुषले आफूलाई सक्षम ठान्ने संस्कार । पुरुषले आफूलाई अरुसँग सरसल्लाह नगरी आफूलाई नै अधिकारसम्पन्न ठानी काम गर्ने संस्कार । संस्कार क्रमैसँग झाँगिदै गएपछि जीवनको अभिन्न पाटो बन्नेरहेछ । यो भनेको प्रवृत्ति रहेछ । कुनै वस्तु, व्यक्ति वा घटनाप्रतिको दृष्टिकोण रहेछ । कसैप्रति गरिने विश्वास र व्यवहारको समग्र शृङ्खला रहेछ । साहुनीले आफूले गरेको काम आफूलाई ठीक छ भन्ने लागेपछि रुजु नगराए पनि हुन्थ्यो । त्यसमा साहुजीले मैले हेर्नु पर्देन भनेर तिमीले गरेको ठीक भन्दिए पनि हुन्थ्यो । तथापि यसो गर्न संस्कारले निषेध गर्दोरहेछ ।
सुरुसुरुमा यो सानोतिनो बानी जस्तो भए पनि पछि यो डरलाग्दो प्रवृत्तिको रूपमा देखिदो रहेछ । यही कुरा व्यक्तिगत स्वतन्त्रतासँग गाँसिदो रहेछ । यो प्रवृत्तिले परिवार र समाजदेखि मुलुकसम्म उत्पीडन र शोषणको माकुरेजालो निर्माण गर्न भ्याउदो रहेछ । यही कुराले नियमकानूनको धज्जीसमेत उडाउदो रहेछ । जन्म दिने आमाले समेत छोरीलाई हेर्ने र छोरालाई हेर्ने नजरमा कैफियत देखिदो रहेछ । यस्तो प्रवृत्तिले झट्ट हेर्दा खासै ठुलो असर नदेखिए पनि मानव सभ्यता र समुन्नतिमा यसले मन्द विषको काम गर्दोरहेछ । यस्तै मन्द विषरूपि प्रवृत्तिका कारण कतिपय कुराहरू कतै नलेखिए पनि चलिरहेका छन् सनातनदेखि । गैरकानूनी भनिएका कुराहरू पनि हाक्काहाक्की चलिरहेका छन् समाजमा । यो सबै मूल्य, मान्यता र विश्वासको खेल रहेछ । यो सबै समग्रमा प्रवृत्तिको खेल रहेछ । यस्तै प्रवृत्ति र संस्कारकै कारण कतिपय मानिसहरू सक्षम भएर पनि समाजमा कमजोर भएर बाँचेका छन् भने कतिपय अक्षमहरू पनि समाजमा सक्षम भएर बाँचेका छन् । सामान्यीकरण गरेर भन्नुपर्दा, हाम्रो जस्तो सामाजिक परिवेशमा महिलाले कमजोर भएर बाँच्नु परेको छ भने पुरुषले त्यसको ठिक विपरित । यो संस्कार परिवर्तनका लागि सानातिना हाँगा र पातहरू काँटछाट गरेर नहुँदोरहेछ, यसलाई जरैदेखि उखेल्नु पर्दोरहेछ, जो हुन सकिरहेको छैन । प्रवृत्तिलाई बाहिरबाट देखिने अर्थात एक्सप्लिसिट र नदेखिने अर्थात इम्प्लीसिट गरी दुई किसिमले पनि व्याख्या गरेका छन विद्वानहरूले । प्रवृत्तिलाई महासागरमा देखिने हिमशिलाजस्तै भनेर पनि व्याख्या गर्ने गरिन्छ, जो हिमशिला कुल भागको दश प्रतिशत बाहिर देखिन्छ भने नब्बे प्रतिशत खण्ड लुकेर बस्छ । त्यही लुकेर बसेको खण्डले बाहिर देखिएको खण्डलाई निर्देश गर्दछ । मान्छे कुरा एउटा गर्छन्, काम भने अर्कै गर्छन् । मान्छे बाहिर एउटा देखिन्छन् भित्रभित्रै भने अर्कै हुन्छन् । अति मिल्ने भनेर विश्वास गरेका साथीहरू विश्वास गरेजस्ता हुदैनन् । अप्ठ्यारो पर्दा सहयोग गर्ला भनेर विश्वास गरिएको व्यक्ति त आइपर्दा रमितेमा परिणत भइरहेको हुन्छ । कतिपय भित्रभित्र भ्रष्टहरू बाहिर भलादमी जस्ता देखिन्छन् । चोरहरू पनि चरित्रवान् जस्ता देखिन्छन् । बलात्कारमा लिप्तहरू पनि विवेकशील जस्ता देखिन्छन् । यी सबै प्रवृत्तिका प्रपञ्चहरू रहेछन् । यस्ता मान्छेहरू बाहिर देखिएका दश प्रतिशत जस्ता नभएर परिआए भित्र लुकेका नब्बे प्रतिशत जस्ता भएर प्रस्तुत हँुदा रहेछन् । सन्दर्भ साहित्यहरूतिर दृष्टि लगाउँदा प्रवृत्तिगत हिसाबले व्यक्तिहरू चार किसिम हुन्छन् – सकारात्मक, नकारात्मक, तटस्थ र छद्मभेषी । सकारात्मक प्रवृत्तिका व्यक्तिहरू कुनै पनि विषयको राम्रा पक्षलाई जोड दिन्छन् ।
त्यस्ता मानिसहरू आत्मविश्वासले भरिएका हुन्छन् । आफ्नो काममा जिम्मेवार, खुसी र प्रतिबद्ध हुन्छन् । नकारात्मक सोचका व्यक्तिहरूको सबैभन्दा पहिले कुनै पनि कुराको नराम्रो पक्षमा आँखा पर्छ । यस्ता मानिसहरू रिसाहा र शंकालु हुन्छन् । निराशा र कुण्ठाका सिकार पनि यिनै हुन्छन् । तटस्थ प्रवृत्तिका मानिसहरूको भने कुनै एउटा विषय, व्यक्ति वा घटनाप्रति निश्चित सोच र धारणा हुदैन । समयअनुसार उनीहरू त्यो मामलामा आफूलाई बदल्छन् । छद्मभेषी प्रवृत्ति अर्थात सिकेन एटिच्युडका व्यक्तिहरू भने बाहिर चिल्लो पोत्छन् । मिठा कुरा गरेर मक्ख पार्छन । भित्रभित्र भने छुरा चलाउछन् । यस्ता मानिसहरू सबैभन्दा खतरनाक हुन्छन । समाज लगायत राज्यको सबैजस्तो क्षेत्रमा आज यस्तैको बिगबिगी पनि बढ्दो छ । सत्ता फेरिए पनि प्रवृत्ति नफेरिएको कारणले हामीले देख्ने परिवर्तन पनि नयाँ बोतलमा पुरानै रक्सीजस्तो मात्र भएको छ । व्यक्तिले प्रवृत्ति जन्मजात बोकेर ल्याउदैन । जन्मेपछि निर्माण हुन थाल्छ । प्रवृत्ति निर्माणमा उसको अनुभव, सिकाइ र सामाजिक एवम् राजनीतिक परिवेशले असर पारिरहेको हुन्छ । उसले के देख्छ, के भोग्छ र अरुबाट कस्तो व्यवहार पाउँछ, त्यसबाट उसको प्रवृत्तिका इट्टाहरू थपिने काम भइरहेको हुन्छ । काममा ठग्ने, झुटो बोल्ने र अरुलाई अपशब्द बोल्ने कुरा उसले परिवारका सदस्यहरूबाटै अनुभव र अवलोकन गरेर तदनुरुपको प्रवृत्ति निर्माणका लागि बाल्यकाल देखि नै एक किसिमको धारणा बनाइरहेको हुन्छ । अनुभव र भोगाइ सँगसँगै सिकाइ पनि भइरहेको हुन्छ । राम्रो काम सिकेवापत उसलाई माया, सम्मान र प्रोत्साहन प्राप्त भइरहेको हुन्छ भने राम्रो कुरा सिक्छ । त्यसको विपरीत राम्रो काम गरेर उसलाई पीडा र अपमान प्राप्त हुन्छ भने ऊ राम्रो काम गर्नतिर अभिप्रेरित हुदैन । सिकाइमा उत्प्रेरणा र प्रोत्साहनले उसलाई के सिक्ने र के नसिक्ने कुरामा मार्ग निर्देशन गरिरहेको हुन्छ । यसबाट प्रष्ट हुन्छ कि व्यक्तिको प्रवृत्ति निर्माणका लागि समाज एउटा महŒवपूर्ण पक्ष हो । समाजले व्यक्तिको सिकाइको निम्ति विश्वविद्यालयको काम गरिरहेको हुन्छ । समाजमा के गरेर को मानिसले के कस्तो प्रतिष्ठा र सम्मान प्राप्त गरेको छ भन्ने कुराले हरेक व्यक्तिलाई त्यही सम्मान र प्रतिष्ठा कमाउने बाटोमा प्रत्यक्ष वा परोक्ष रूपमा मार्गनिर्देशन गरिरहेको हुन्छ ।
दृष्टान्त दिएर भन्नु पर्दा यदि कुनै समाजमा पैसालाई सबै थोक मानिन्छ भने त्यहाँका मानिसहरू जे जस्तो गरेर पनि पैसा र सम्पत्ति कमाउनतिर लागिरहेका हुन्छन् । तर जहाँ अरुको भलाई र हितका निम्ति समर्पित मानिसहरूको सम्मान हुन्छ भने त्यहाँका मानिसहरू अरुको खुसी र भलाईका निम्ति नै समर्पित हुन सिकिरहेका हुन्छन् । हाम्रो समाजमा अहिले धनसम्पत्तिलाई साधनको रूपमा भन्दा पनि साध्यको रूपमा स्वीकार गरेर मानिसहरू अघि बढिरहेका छन् । जुनसुकै पेशा, वर्ग र समुदायका मानिसहरूको साझा लक्ष्य नै त्यही बनेको छ । अनाचार, दुराचार, भ्रष्टाचार, पापाचार जे गरेर पनि मानिस सम्पत्ति जोड्नतिर लागिरहेको छ । समाजमा काम गरिरहेका डाक्टर, इञ्जिनियर, राजनीतिकर्मी, समाजसेवी, शिक्षक, पत्रकार, कर्मचारी, व्यापारी आदि इत्यादि नाम जे दिएपनि सबैको नजर सम्पत्ति आर्जनमा छ । यहाँसम्मका कि धर्मका ठेकेदारहरूले समेत सम्पत्ति दान गरेपछि गरेको पाप पखालिन्छ भनेर दर्शनको व्याख्या गर्दै हिडिरहेका छन् । समाज यस्तो भएपछि यस्तो समाजबाट कस्तो कुरा सिकिन्छ र कस्तो प्रवृत्तिको निर्माण हुन्छ, सबै कुरा घामजत्तिकै छर्लङ्ग छ । प्रवृत्तिलाई परिवर्तन गर्न सकिन्छ । परिवर्तन गर्न भने त्यति सजिलो छैन । पहिलो कुरा त परिवर्तन गर्नका लागि सिकाइका सिद्धान्तहरू त्यही किसिमले प्रयोग गरिनुपर्दछ । भन्नुको मतलव राम्रो कुरा सिक्नका लागि अभिप्रेरित गर्ने वातावरण हुनुपर्दछ । राम्रो कुरा सिक्नका लागि सिकाउने ठाउँमा रहेकाहरू रोल मोडल हुन सक्नुपर्दछ । मुलुकको मुलनीतिको रूपमा रहेको राजनीति र यसमा लागेका मानिसहरू निस्कलङ्कित र अनुकरणीय हुनु प¥यो, समाजले पत्याएका र विश्वासयोग्य हुनु प¥यो । यस्ता मानिसहरूले कानूनको निर्माणदेखि पालना हुदै कार्यान्वयन हुँदासम्म सबैको निम्ति समान रूपले कतै पनि र कहिल्यै पनि आखापाखा नगर्ने कुरालाई सुनिश्चित गर्नु प¥यो । अहिले पनि यो जाति र त्यो जाति, यो लिङ्ग र त्यो लिङ्गका नाममा हुने असमानता र विभेदलाई प्रवृत्ति र संस्कारको रूपमा अगुवाइ गर्नेहरू नै राजनीतिको पनि अगुवाइ गरिरहेको अवस्था छ ।
भ्रष्टाचार गरेपछि अख्तियारमा सरुवा हुने होइन कि अख्तियारको हिरासतमा जानुपर्छ भन्ने कुरा व्यक्तिले सिक्ने गरी वातावरणको सिर्जना गर्नुपर्दछ । चाकरी गर्ने गणेश प्रवृत्तिका मानिस होइन कि परिश्रम गर्ने कुमार प्रवृत्तिका मानिसहरू सम्मानित भएको महशुस गर्न पाउनु पर्दछ । यसै अनुसार नै लैङ्गिक र जातीय विभेद पनि हटाउनु पर्दछ । कतिपय कुरा कानुमा लेखेर मात्र हुदैन, कार्यान्वयन गर्ने थलोमा पुरानै संस्कार र प्रवृत्तिका मानिसहरूको हालीमुहाली भएको अवस्था छ भने कानुनले गति लिन सक्दैन । कुनै प्रवृत्तिलाई आत्मसात र अवलम्बन गर्दा मानिसले दुःख र हैरानीको सामना गर्नुपर्छ भने त्यो प्रवृत्ति व्यक्तिले छोड्न चाहन्छ । यसलाई प्रवृत्ति परिवर्तनको असहजताको सिद्धान्त भनिन्छ । मांसहारी परिवारमा आएपछि शाकाहारी पनि क्रमशः मांसहारी हुन बाध्य हुन्छ । अल्छी र अगतिलाहरूको समाजमा आएपछि केही गरौँ भन्ने उर्जावान् व्यक्ति पनि अल्छी र अगतिलो हुन थाल्छन् । यस सम्बन्धमा व्यवस्थापनका पिता भनेर पहिचान बनाएका पिटर ड्रकरको भनाइ फेरि पनि सम्झिन मन लाग्यो – ‘संस्थामा काम गर्ने मानिसहरूले आफ्नो संस्थामा कसले के काम गरेर पुरष्कार र सम्मान पाइरहेको छ भन्ने कुरा टुलुटुलु हेरिरहेका हुन्छन् । यदि त्यो सम्मान र पुरष्कार अल्छी, कामचोर र अनावश्यक रूपमा टाँठोबाँठोले पायो भने संस्थाका मानिसहरू पनि क्रमशः अल्छी, कामचोर र अनावश्यक रूपमा टाँठोबाँठो हुन थाल्छन् ।’ हाम्रो देशको समस्या नै यही हो । मान्छेले मान्छेलाई जात, लिङ्ग, धर्म र सम्प्रदायको आधारमा होइन कि उसले गर्ने कर्मका आधारमा सम्मान, पुरष्कार र प्रोत्साहन दिने कार्यको थालनी गरियो भने मानिसका अबलम्बन गरिरहेका सोच, संस्कार र प्रवृत्तिहरू पनि रामराज्यमा जंगलका रूखहरू पनि सबै एकैतिर फर्किएजस्तै गरी मानिसका प्रवृत्तिहरू पनि नकारात्मकबाट सकारात्मक हुदै जाने कुरामा सन्देह हुदैन । बाँकी जो हजुरहरूको मर्जी ।









प्रतिक्रिया दिनुहोस्