महानन्द ढकाल
यसपटकको भ्रमणमा मैले बा सम्झिएँ । पूर्वी तराईको कुरा बाको मुखबाटै सुनेको हुँ । पश्चिम तराईमा पनि बा घुमेको थाहा थियोे । पश्चिमको बारेमा बोल्ने मौका नै पाएनन्। तराई घुमेर फर्केपछि चानचुन एक वर्ष मात्रै बाँचे बा । छ महिना त पूरै थला परे । थलामा आफ्नै पीडा सुनाएको याद छ अरु केही सम्झिेको छैन । बाँके, बर्दिया भ्रमणको यात्रा वृतान्तहरू कसै न कसैलाई पक्कै सुनाए । कसैसँग भेट भयो कि गाउँ ठाउँकै कुरा हुन्थे । नुन लिन बटौली झर्दाको र मनकामना चढ्दाको कहानीमा खुबै रमाएको देखेको थिएँ आफ्ना दौंतरीहरूसँग । मेरा बा यात्रामा रमाउँथे यसमा दुई मत छैन । प्रत्येक हिउँदमा चानचुन एकसाता मेरा बा घरमा हुदैनथै । बाको यात्रा ठ्याक्कै कता हुन्थ्यो यो भने कहिलै सोधिन मैले । नसोध्नुको कारण पनि छ । पहिलो कारण, हिड्ने बेलामा कसैलाई पनि ‘कहाँ हिडेको ?’ भनेर कहिल्यै नसोध्नु भनेर अर्ती दिन्थे मेरा बाले । दोस्रो कारण म मात्रै होइन हामी बासँग नजिक पर्न पनि डराउँथ्यौं । नजिकै पर्न डराउनेले कसरी सोध्न ? हो बासँग आँखाहरू कहिल्यै जुधेनन् तर आज बाले संसार हेरेका तिनै आँखाहरू सापटी लिएर म जीवनको नयाँ गोरेटोलाई पाइला पाइलामा नापिरहेको छु । मेरा बाको कपाल पातलो थियो । तालुमा कपाल थिएन । आँखा कस्ता थिए थाहा नै भएन । आँखामा हेर्न सकेको भए पो थाहा हुनु ? एक पटक आँखा जुधाएको याद छैन मलाई । बाका आँखाले हेरेको पश्चिमी तराई पच्छाउँदै झरेको थिएँ म । दश एघारको थिएँ होला तराई झर्दा । बा गाउँ फर्केको अर्को वर्ष नै बाका पाइलामा पाइला पच्छ्याउँदै बर्दिया पुगेको थिएँ म । यात्रा केबल भूगोलको खोज मात्रै पनि रहेनछ, यो त बाले छोडेर गएका अधुरा सपना र आत्मियता पछ्याउने एउटा गहिरो आत्मखोज पनि रहेछ । समयले बालाई हामीबाट खोसेर लगे पनि बा हिडेका अनगिन्ती पाइलाहरूले कोरेको बाटो नै आज मेरो जीवनको मार्गदर्शक बनेको छ । मान्छे नरहेपनि उसले हिडेको बाटो हराएको एतिहास कहीँ कतै लेखिएको छैन ।
तारा नाथ शर्माको ‘घनघस्याको उकालो’मा बर्दियाको राजापुर र बबईको तिरमा कपास बिच्छ्याए जस्तो सेताम्मै फुलेको काँसे घारीको प्रसङ्ग पढ्दा कम्ता चङ्घा भएको थिएन मन । उतिवेला नै घुम्न मन थियो मलाई यी ठाउँहरू । कर्णाली छुट्टिएर श्रीलङ्घा जस्तै बनेको यो क्षेत्रलाई राजापुर भनिन्थ्यो । भ्रमण गर्न धेरै मानिसहरू लालायित हुने गरेको सुनेको थिएँ यो ठाउँ । तर सुनेर के गर्नु ? उबेला मेरा लागि सम्भव नै थिएन । साथमा साइकल भएको भए पो ? गोजीमा पैसा भएको भए पो ? त्यसै कहाँ हुँदो हो राजापुरको भ्रमण ? रहरहरू सधैं उमेर र गोजीको हैसियत हेरेर मात्र आउँदा रहेनछन् । बरफ चुस्न धानका सीला खोज्थ्यौं । चप्पल फाट्छन् भनेर हातमा बोकेर हिड्ने बेलाको मान्छे परियो । कस्तो बेला थियो ? यस्तो बेलामा प्रयास नै गरिएन । पछिपछि समय नै जुरेन । ‘लगन जुर्न पर्छ’ बाले भन्ने गर्थे हो रहेछ । यसपटक लगन जु¥यो । समयले ढिलो चाँडो हरेक अधुरा सपनाहरूको हिसाव चुकाएर छाड्छ बस धैर्यको ‘लगन’ जुर्नु पर्दो रहेछ । यसपटक राजापुरलाई अङ्कमाल गर्न पाइने भो । काँसेघारीमा लुकामारी खेल्न पाइने भो । तोरीमा भुनभुनाउने मौरीसँग नजर जुधाउन पाइने भो । धानका पहेंलपुरे फाँटहरूसङ्ग साक्षत्कार गर्न पाइने भो । लगन जुराइदिने मुक्तक मञ्च नेपाल टिकापुरलाई साधुवाद । शब्दको यात्रामा जोडिएका यी सम्बन्धहरू एक लेखकका लागि वास्तविक सम्पत्ति हुने रहेछ । मुक्तक मञ्च नेपालको दोस्रो वार्षिक उत्सव थियो टिकापुरमा । पुस्तक चर्चाको जिम्मा मेरो थियो । ‘हुन्छ’ भनेर वचन दिएको थिएँ । हुन्छ भनेपछि गर्नु पनि त प¥यो । टिकापुर पुग्ने सोच बन्यो । तर एक्लै हिड्ने बानी छैन । कतिपय भ्रमणमा सुमित्रासँगै हिडेको छु । कतिपय ठाउँमा साथीहरूसँग । उस्तै रुची भएकाहरूसँग हिड्दा धेरै कुरा मिल्दो रहेछ । तर यस पटक घरयासी र अफिसको कामले सुमित्रालाई हिड्नै दिएन । धेरै पटक बद्री ढकाल, सन्तोषी बिष्ट, कपिल अन्जान, बिक्रम शिशिर, केशव निमेष, करुणा बिष्ट आदिसँग हिडेको छु । यसपटक पनि साथी खोजें । फोन लगाएँ । फोनले काम ग¥यो । बद्री ढकाल, बिक्रम शिशिर, उषा तानी सुवेदी, एलिषा कंडेल र सुमन गोदार तयार भए । राजापुर हुँदै टिकापुर पुग्ने सोच बनाएँ ।
हाम्रो यात्रा बाँकेको कोहलपुरबाट थियो । बर्दिया छिचोलेर कैलाली पुग्नु थियो । यात्रा कति दुरीको भन्दा पनि, बाटोमा कसको साथ थियो भन्ने कुराले नै यात्रालाई अविस्मरणीय बनाउँदो रहेछ । हुन पनि गन्तव्य त एउटा विन्दु मात्र न हो असली कथा र आनन्द त सहयात्रीहरूसँगका पाइलाहरूमा लुकेको हुनेरहेछ । छ बजे बैदी चोक पुग्यौं । चोकमा चहलपहल कम थियो । बाइकको यात्रा थियो हाम्रो । आठ जना तीन बाइकमा थियौं । बद्री ढकाल र म एउटामा थियौं । बिक्रम र सुमनका बाइकहरू चोकमा पुगिसकेका थिए । राजापुर हुँदै कैलाली पुग्ने कुरा बताइसकेको थिइन । कतर्नीया, रम्मापुर, बबई, चिसापानी, लम्की हुँदै टिकापुर पुग्ने सोच साथीहरूको रहेछ ।
बैदी चोकबाट बाइकलाई दक्षिण पश्चितिर कुदाएँ । साथीहरूले ‘यता कता ?’ भन्दै हुनुहुन्थ्यो । ‘पछिपछि आउनु न’ भनेँ । बबई सिंचाई परियोजनाको कार्यालयसम्म पूरै जङ्गल थियो । बैदी गाउँ पार गर्दै हामी बैदी फाँटमा पुग्यौं । मानिसहरू खेतका गह्राहरूमा लामवद्ध देखिन्थे । धान पाकेर पहेंलै थियो । किसानहरूलाई भ्याइ नभ्याइ रहेछ । एका बिहानै खेतमा पुग्नु कम रहर बढी बाध्यता पक्कै हो । माटो र पसिनाको यो सम्बन्धले जीवन रहरले भन्दा कर्तब्य र बाध्यताले चलेको बुझिन्थ्यो । बारबर्दिया न.पा.को जयनगर पुगियो । बैदी यताको बाटो पूरै कच्ची । ग्रावेलका ढुङ्गा सिगौरी खेल्न आउने । सात बज्नै आँटेको थियो । मित्रलाल ढकाल जो मेरा बालयकालका मित्र पनि हुन् । जयनगरका गनिएका व्यपारी । सटर खोलेर मात्रै बसेका रहेछन् । हामीलाई देख्दा दङ्ग परे । चिया पिएर जान आग्रह गरे । हामीले चिया नपिउने निधो ग¥यौं । मित्रको गुनासो थियो । कहिलेकाहीँ आतिथ्य र आत्मीयताभन्दा समय र गन्तब्य महत्वपूर्ण मानिदो रहेछ । समय अनुसार ठिकै ग¥यौं भन्ने लाग्यो । चियाको पछि लागेको भए ढिला हुन्थ्यो । चिया पिउदासम्म वनगाईको जङ्गल काट्थ्यौं । बनियाभारको छेउछाउ पुग्थ्यौं । त्यसैले पनि हतारिएर ठिकै ग¥यौँ हामीले । बर्दियालाई हरिहरको मौजा भनिन्थ्यो । तेह्र हजार बिघाभन्दा बढी जमिनका मालिक थिए हरिहर गौतम । वि.सं.२०२१ को भूमिसुधारले उनको उठीवास बनायो । खबर सुनेर ‘हर्टअट्याक’ भएको रे । पिताको मृत्युपछि सन्तानले बर्दिया छोडे । उनको पुरानो घर बनघुस्री भन्ने ठाउँमा थियो । यो जयनगरबाट नजिकै पथ्र्याे । भक्तपुरको पचपन्न झ्याले दरवारभन्दा उनको दरवार ठूलो मानिन्थ्यो रे । सन्ताउन्न झ्याल थिए रे । शाहवंसीय राजा महेन्द्रले तीन झ्याल सदाका लागि बन्द गर्न लागाएका भन्ने सुनिन्थ्यो । यी कुरा अहिले पनि बताउँछन् जानकारहरू ।
‘मुगल शैलीमा निमार्ण गरिएको थियो यो दरवार । दरबारको भू–गर्भमा एउटा विसाल इनार थियो रे । घरको आन्तरिक सूचना बाहिर नजाओस् भनेर हरिहरले मुख्य कालिगढहरूलाई त्यही इनारमा खसालेका रे’ । हो होइन थाहा छैन । प्रमाणहरू मेटिएर जान्छन् तर मानिसका गाथाहरू समयको हावामा किम्बदन्ती बनेर युगौंसम्म तैरिरहन्छन् । भूमिसुधारपछि हरिहर भवन बेवारिसे भयो । छोराहरूले फर्केर पनि हेरेनन् । हेरुन् पनि कसरी ? भूमिसुधारले कहाँको मान्छेलाई कहाँ पु¥यायो ? ‘राजा महेन्द्रको सवारीमा सुनको थालीमा सुनैका असर्फी सहित स्वागत गर्नु र पैसै–पैसा बिच्छ्याएर राझाँ विमानस्थल पु¥याउन सक्छु भन्ने घमण्डले हरिहर मास्सिए’ भन्छन् बुढापाकाहरू । ऋषि ज्ञवाली नामका एक बामपन्थी कार्यकर्ता थिए । पाटीको काम गर्न सजिलो हुने देखेर बहुदल आउँदासम्म घरको रेखदेख गर्थे । यही समयमा एक पटक पुनेको थिएँ यो घरमा । एकादुई गजुरहरू ढलिसकेका थिए मैले देख्दा । भित्ताहरूमा लाइँ लागेको थियो । वर–पिपल पनि अन्त उम्रिने ठाउँ नपाए जस्तै भित्तामा नै उम्रिएका थिए । ठूलो गोदाम थियो । पचासौं हात्तीहरू बाँध्न मिल्ने हात्तीसार थियो । दर्जनौ घोडा काँध्न मिल्ने तवेला त मेरै आँखाले देखे । म मुनीका भाइहरूले सायद देख्न पाएनन् । हरिहरको मिल त पचासको दसकसम्म पनि घुम्दै थियो । संरक्षणको अभावमा हरिहर भवन खण्डहर मात्रै होइन लोप नै भएर गयो । हरिहर भवनलाई संरक्षण गर्न सकेको भए कालन्तरमा यसको महत्व हुन्थ्यो । तर चाँसो देखाइएन । ढुङ्गा, इँटा र काठबाट कतिले आफ्ना आवश्यकताहरू पूरा गरे यकिन भएन । रित्तो स्थान घुमाउनुको कुनै अर्थ देखिन मैले । ‘हरिहर भवन यता पर्छ’ मात्रै भनें र मनिकापुर र बनगाईको बाटो हुँदै बनियाभार पु¥याएँ । साढे सात बजे हामी बनियाभार पुगिसकेका थियौं । मेरो बाल्यकाल यही गाउँमा बितेको थियो । यो गाउँसङ्ग मेरो छुट्टै लगाव छ । यहाँका मान्छेहरू प्रिय छन् मेरा लागि । घरघरमा नपसे गुनासाहरू पच्छाउँदै कोहलपुरसम्म आइपुग्थे । तर यसपटक सम्भव भएन । गाउँका सामजिक, आर्थिक, राजनैतिक र वातावरणीय बिशेषताहरू बताएँ साथीहरूलाई । तापमापकयन्त्र बनियाभारको चिनारी थियो । साथीहरूलाई देखाउन लगें । यही तापमापक यन्त्रले हाम्रो परिवारलाई हिड्न सख्ने बनाएको थियो । हाम्रो कापी, कलम र नुन तेलमो जोहो यहीबाट हुने गथ्र्यो बर्दिया छँदासम्म । यो तापमापक यन्त्रले तापक्रम मात्रै नापेको थिएन, हाम्रो अभाव र सङ्घर्षको सिङ्गो जीवन पनि नापिरहेको थियो ।
हामीले यो गाउँ छोडेपछि तापक्रम हेर्ने जिम्मा दिदी भिनाजुलाई सुम्पेका थियौं आधिकारिक रुपमा नै । दिदी घरमा हुनुहुन्थेन । भिनाजुले चिया पकाउँछु भन्दै हुनुहुन्थ्यो । दिदी घरमै भएको भए नाइनास्ति गर्न पाइने थिएन सायद । हतार छ भनेर हामी बनियाभारबाट पश्चिम दक्षिणतिर हानियौं । बुढीकुलाको किनारै किनार रामपुरको चोकमा पुगेर एकछिन सुस्तायौं । चोकबाट पश्चिम गएको भए मैले पढेको विद्यालय युवक मा.वि.जोगीगाउँ आउँथ्यो । समय भएको भए विद्यालयसम्म पु¥याउँथें तर हामी गन्तव्यलाई सिरमा बोकेर दौडिरहेका थियौं । बबई नदीमा सुन्दर झुलुङ्गे पुल बनेको थियो । पुलमा भिडियो बनाउँदै गर्दा बिहानको नौ बज्नै लागेको थियो । उषातानी सुवेदी भिडियो बनाउने मामलामा एक कदम अगाडि हुनुहुन्थ्यो । सुन्दर दृश्यहरू मोवाइलमा कैद गर्दै हुनुहुन्थ्यो साथीहरूले । पुलमा भिडभाड थियो । स्थानीय पर्यटनका लागि महत्वपूर्ण थियो यो पुल । डुङ्गा चढेर लाली बजार आवतजावत गर्नु कठिन थियो पदनाहा र बनियाभारका वासिन्दाहरूलाई । अब त कतै पक्की पुल बनेका छन् त कतै झोलुङ्गे पुल । साइकल पनि हिड्न नमिल्ने बाटाहरू चौडा भएका थिए । माइक्रो, जीप, ट्रेक्टर बाइकहरू सजिलै हिड्न सक्ने भएका थिए । विकास पुल तरेर सहरबाट गाउँ छिरिसकेको थियो । मलाई बाल्यकालले पच्छाइरहेको थियो । यही बाटो हो कतिपटक खालीखुट्टा हिडेको थिएँ म । यही नदी हो कतिपटक दुई रुपियाँ बचाउने लोभले कट्टुभिजाउँदै तरेको थिएँ म । वर्षा याममा नदीले ताण्डव नृत्य देखाउँदा ढिकमा बसेर टोलाएको मान्छे हुँ म । एक पटक डुङ्गाबाट खसेर आफ्नै गाउँका तीन जना बेपत्ता हुँदा गाउँलेसँगै पूरा दुई दिन भोक भोकै जगतिया घाटसम्म किनारै किनार हिडेको अनुभव छ मसँग । अब ती दिन फर्केर आउने छैनन् । कुशुमादेवीलाई नमन गरी हामी उत्तर पश्चिम हानियौै । लाली बजारले रुप फेरिसकेको रहेछ । होचा र पुट्का घरहरू अग्लिदै रहेछन् । कुरुप गल्लीहरूले लिपिष्टिक र पाउडर लगाउन जानिसकेका रहेछन् । बुधबार ठूलै मेला लाग्थ्यो यो बजारमा । आजभोलि लाग्छ लाग्दैन थाहा भएन । नुन तेल गर्न आएको ठाँउ हो कुनै बेला । यही बजार हो जहाँ टिनका छाप्रा मुनि भेलिमा भिजाएका भुजाले धेरै पटक मन भुलाएको थिएँ मैले । एक रुपिँयाको भुजाको लड्डुले पनि मन लोभ्याउने जमाना थियो । अहिलेका बालबालिकाले बिरलै यस्तो अनुभव गर्न पाउँछन् ।
लाली बजारले साँच्चिकै लाली लगाएको थियो । वैंसालु युवती जस्तै पुष्ट । सुन्दर र मनमोहक पनि । लडिया हिड्दा साइकल छिर्न कठिन हुने बाटाहरू विकाससँगै सती गएछन् । दोहोरो चेपुवामा परेको गुलरिया राजापुर रोडलाई प्रजातन्त्र आएको रहेछ । लाग्थ्यो ऊ उन्मुक्त हाँसो हाँस्न सिक्दै छ । दुबैतिर हात पैmलाउन कसैले रोक्न सक्दैन उसलाई । लमतन्न सुतेको बोटोको छातीमाथि हाम्रा बाइकहरू निर्वाध रुपमा गुडिरहेका थिए राजापुरलाई ताकेर । मुलबाटोमा थियौं हामी । गुलरीया कोठिघाट रोड भनेर चिनिन्छ यो बाटोलाई । बाटो चौडा थियो । चौडा बाटोमा गडीको गति अति हुने गर्छ । हाम्रा गाडीहरूले पनि गति लिन थालिसकेका थिए । बाटोमा भिडभाड थिएन । खुल्ला बाटामा यात्रा गर्नुको मजा यात्रा गर्नेलाई मात्रै थाहा हुन्छ । बाटा वरिपरि पाकेका धान बाली अवलोकन गर्दै ओराली बजारको ओरालो झर्दा आनान्दानुभूति भएको थियो । दश बज्न केही मिनेट बाँकी थियो । हामी नेपालको सबैभन्दा लामो पुल गेरुवा पुलमाथि पुग्यौं । टापुको रुपमा छुट्टिएको राजापुरलाई यही पुलले जोडेको थियो । पुल बन्नु पूर्व हिउँदमा सञ्चालनमा रहने गरेका ड्रमका पुलहरू किनारामा थन्किएका थिए । पुल वारिबाट पारिसम्म राम्रोसँग देखिदैनथ्यो । करिव पौने दुई कि.मि.लामो पुलमा मानिसहरू रमाइरहेका थिए । हामीले आ–आफ्नो इच्छा अनुसार फोटाहरू खिच्यौंं । भिडियो बनाउनेले भिडियो बनाउँदै हुनुहुन्थ्यो । तानी मेमले दुबै गर्न भ्याउनु भयो । गेरुवा पुलबाट उत्तरतिर ताना शर्माले वर्णन गरे भैंm कपास बिच्छ्याइए जस्तै सेतै फुलेको थियो काँस । लाग्दै थियो तारानाथ शर्मा घुमेको समय र हाम्रो समय एउटै परेछ । कति मजाले हाँसेको किनारैभरि ? ‘काँस होइन यो, हाँस हो हाँस । किनारमा बसेर आपूm पनि हाँसेको छ र हसाँएको छ दुनियालाई ।’ बद्री ढकालको कुरामा ‘लजिक’ थियो । हामी हाँस्यांै मात्रै । हामीले हाँस भन्दैमा अरुले हाँस भन्नेवाला पनि थिएनन् । सौन्दर्य आँखाले देख्ने वस्तु मात्रै होइन यो त हेर्ने दृष्टिकोणको सिर्जना पनि हो । प्रकृतिको सामान्य झाडीमा पनि साहित्यको दृष्टिले कला र हाँसो भेट्टाउन सक्छ । त्यसैले हाँसेरै काँस हेर्नमा मजा लाग्यो हामीलाई । पुलमुनिबाट पानी एक तमासाले बगिरहेको थियो । कति हतारो है पानीलाई ? कसैले रोकेर पनि नरोकिने, कसैले छेकेर पनि नछेकिने । वर्षौदेखि किनारका साँक्षी बनेर हेरिरहेका थिए रुखहरूले । हामी पुल तरेर राजापुर क्षेत्रमा प्रवेश गरेका थियांै । बाटो चौडा नै थियो । दुबैतिर नाला बनाउने र पिच गर्ने काम पनि धमाधम हुँदै रहेछ । मङ्सिरको महिना खेती थन्काउने महिना थियो । किसानहरू खेतमा रमाइरहेका थिए । राजापुर क्षेत्र कृषिका लागि असली परिचय थियो । गेरुवा नदी पारिको समग्र क्षेत्रलाई राजापुर भनेर चिनिए पनि यो क्षेत्र गेरुवा गाउँपालिका र राजापुर नगरपालिका मिलेर बनेको थियो ।
कर्णाली नदी तराईको भूभागमा करिव ६ कि.मि. बगेपछि कर्णाली र गेरुवा दुई नदीमा विभाजन भएपछि बनेको टापु हो राजापुर । कर्णाली नदी किन फुट्यो ? फुट्नुका कारणहरू के के हुन सक्छन् ? पुनः यो नदी एउटै बाटोमा हिड्ला कि नहिड्ला ? प्रश्नहरू उठ्ने गरेका छन् । यिनै प्रश्नहरूका विषयमा विभिन्न अनुसन्धानहरू हुने गरेको सुनेको थिए । कर्णाली नदी विभाजन हुनुका कारणहरूमा केही किम्बदन्तीहरू पनि रहेछन् । जस अनुसार ‘ओखरियाबाँध (जसलाई दोमुख पनि भनिन्छ) मा एउटा ठूलो ढुङ्गा दबेको छ । यो ढुङ्गालाई भगवानको मच्छेरुप पनि मानिदो रहेछ । यही माछाले नदीलाई विभाजन गरेको हो । माछाले ढाड फर्काउँदा कहिले गेरुवामा त कहिले कर्णालीमा पानी बढी हुन्छ ।’ कसै कसैले ‘दोमुखमा दुई श्रीमान श्रीमती छन् । कहिलेकाही यिनीहरूका बीचमा झगडा पर्छ जसको फलस्वरुप पानी बाँडफाँडमा तलमाथि हुन्छ’ भन्ने पनि रहेछ । कर्णाला नदी फुट्नुको मुख्य कारण के हो जस्तो पनि लाग्छ भने पहाडबाट बगेको कर्णालीको वहावले कुनै बेला अति ठूलो ढुङ्गा बगाएर ल्यायो । समथरमा बग्दै केही तल आएपछि नदीको वाहव कम हुन पुग्यो र बग्दै आएको ठूलो ढुङ्गा बग्न छोड्यो । यही ढुङ्गाको यता र उताबाट पानी बग्ने क्रमसँगै राजापुर टापु बनेको हुनु पर्छ । पानीको मात्रा कहिले गेरुवामा बढी त कहिले कर्णालीमा बढी देखिनुका आफ्नै किसमका कारणहरू होलान् नै तर गेरुवा (केठीया) को पुल बनेपछि भने केरुवामा पानीको मात्रा कम आउने गरेको छ भन्ने सुनियो । वास्तवमा यो क्षेत्र घुम्ने बेला यही रहेछ । यो क्षेत्रलाई राजापुर नभनेर पहेंलपुर भन्न मन लाग्यो मलाई । जताततै पहेलैं । कतै ठाडो धान पहेलो, कतै ढालेको धान पहेंलो । धानका बालाहरू निहुरिएर स्वागतमा तल्लीन भए जस्ता । राजापुर क्षेत्रलाई अन्नको भण्डार त्यसै भनिएको रहेनछ । मैले सुनेको धान मात्रै होइन यहाँ त गहुँ, मकै, तोरी लगाएत अन्य गेडागुडी पनि उत्तिकै उब्जनी हुन्छ रे । मिलेका फाँटहरु देख्दै लोभ लाग्ने । मलिलो वलौटे माटो कृषिका लागि वरदान नै सावित भएको थियो । माटोले सदैब जीवन दिने सामथ्र्य बोक्छ । माटोलाई प्रविधिसँग जोड्न नसक्दा साजापुरमा समृद्धिको सम्भावना सधैं पर्खाइमै रहिरहेको छ । कृषिमा प्रविधि कहिले पो भित्रने हा ?
धानका फाँटहरू हेर्दै हामी राजापुर बजार पुग्यौं । गेरुवा पुलबाट राजापुर १२ कि.मि थियो । हामी राजापुर पुग्दा ११ः०५ भइसकेको थियो । टिकापुर पुग्न अभैm १७ कि.मि. बाँकि थियो । राजापुरको नामसङ्गै मेरो मनमा आउने मुख्य दुई ओटा नाम हुन् प्रकाश राजापुरी र जे.वि.अनुरागी । प्रकाश राजापुरीको स्वर्गारोहण भएको पनि एक दसक बढी भइसकेको थियो । अक्षरहरूले बनााएको सम्बन्ध निकै नजिकको हुन्छ । स्रष्टा भौतिक रुपमा अस्ताएर गए पनि, उनका शब्द र शैलीले युगौंसम्म मानिसका मनहरूमा आफ्नो बासस्थान बनाइरहन्छन् । राजापुरीलाई मनैदेखि श्रदासुमन टक्राएँ । मिठ्ठनलाल गुप्ता र माडस्याप् नामले परिचित उनी साहित्यका क्षेत्रमा प्रकाश राजापुरीका नामले परिचित थिए । गजलको क्षेत्रमा देश विदेशले मानेका गजलकार थिए । अङ्ग्रजी, नेपाली, हिन्दी, उर्दू, अवधि र थारू भाषामा सिर्जना गर्ने सक्ने राजापुरीको गजल वाचन शैली वास्तवमै वेजोड थियो । अहिले देशका अधिकांश गजलकारहरू राजापुरीकै वाचन शैलीमा हिडिरहे जस्तो लाग्छ मलाई । जे.वि.अनुरागी राजापुरलाई कर्मथलो बनाएर साहित्यको खेती गरिरहेका एक साधक थिए । उनको अगुवायीमा धेरै कार्यक्रम भएका थिए राजापुरमा । उनलाई फोन नगरी हिड्न मनले मानेन । असाध्यै भोक लागेको थियो । एलिषा कंडेल र सुमन गोदार नयाँ जोडी थिए । नयाँ नयाँमा अलिबढी सर्मपण हुने गर्छ नै एक आर्कामा । एलिषाले भोक खप्नै नसकेर सुमनलाई खनखन गर्दै थिइन् । टिकापुरमा नै खाना खाने सल्लाह भइसकेको थियो । चिया नास्ता खाने सोचले राजापुर चोक नजिकैको रेष्टुरेन्टमा छि¥यौं तर नास्ता बनाइदिन मन गरेनन् कसैले । जुन होटलमा गयो उही समस्या, खाना मात्रै पाइने नास्ता नपाइने । बद्री ढकाल होटल होटल सोध्दै हिड्नु भयो । धन्न एउटा होटलले कामचलाउ नास्ता खुवाउने भयो । होटलबाटै जे.वि.जीलाई फोन लगाएँ तर उहाँ त नेपालगञ्ज जानु भएको रहेछ भेट हुन सकेन । हामीलाई पनि खल्लो लाग्यो । जे.वि.जी त झनै चुकचुकाउनु भयो । हामी राजापुर भङ्गालोमा थियौं । यो स्थानलाई शत्ती घाट भनिन्छ । कर्णाली नदी हो यो । ओखरियाबाँधबाट केही पानी फुटेर गेरुवा नदीमा गयो केही यता । नेपालको सबैभन्दा लामो नदी । हिउँ पग्लेर बनेको सुन्दर र निर्मल नदी । नेपालको एक मात्रै डल्फिन पाइने नदी । धेरैलाई जीवन दिएको छ यो नदीले । कुनै बेला हिडेरै तर्न सकिन्थ्यो रे यो नदी । केही वर्षदेखि बाह्ैमास किस्ती पनि चल्दो रहेछ । गेरुवा नदीमा पुल बनेदेखि पानीको मात्रा कहिल्यै घटेन रे । यता पुल बन्नु र यता पानी नघट्नुमा त खासै कारण देखिदैन तर किन घटेन कसै न कसैले अनुसन्धान गर्दै होला । नदीहरू आफ्नो गन्तब्य पहिल्याउँदै जीवन बाड्दै बग्छन् तर मानिसरू भने यसका रहस्यहरूको उत्तर खोज्नमै अल्झिरहन्छन् । कोही न कोही त यसैमा अल्झिरहेको होला । जहाँ प्रकृतिको सामथ्र्य र मानिसको परिश्रम त्यही भूमिको माटोले भाग्यको आकार लिन्छ । राजापुर मलाई भाग्यमानी लाग्छ । राजापुर कर्णालीको काखमा थपक्क बस्न पाएको छ । जीवन दिएको राजापुरलाई कर्णालीले । अन्नको वरदान पाएको छ यसले । परिश्रमी हातहरूको साथ पाएको छ । एकापट्टि नेपालकै लामो पुल गेरुवा नदीको पुल र अर्कोतिर नेपालकै लामो नदी कर्णालीको साथ । कति भाग्यमानी छ राजापुर । यही भाग्यमानी स्थानमा पुगेका थियौं केही भाग्यमानी मनुवाहरू ।









प्रतिक्रिया दिनुहोस्