कल्पना पौडेल जिज्ञासु
यो प्रश्नले मलाई धेरै वर्षदेखि पछ्याइरहेको छ। जीवनका अनेक मोडहरू पार गर्दै जाँदा, अनगिन्ती अनुहारहरू भेट्दै र असंख्य अनुभूतिहरू सँगाल्दै जाँदा पनि यस प्रश्नको एउटै उत्तर मैले कहिल्यै भेटिनँ । बरु समयसँगै यसको गहिराइ झन् बढ्दै गयो। सायद जीवनको अर्थ सबैका लागि एउटै हुँदैन। प्रत्येक मानिसले आफ्नो अनुभव, आफ्नो संवेदना र आफ्नो जीवनदृष्टिका आधारमा यसको उत्तर खोजिरहेको हुन्छ । कसैका लागि जीवन आफ्ना सपना पूरा गर्ने अनवरत यात्रा हो। कसैका लागि नाम, पद, प्रतिष्ठा र उपलब्धिको शिखर चुम्ने अभिलाषा । कसैका लागि परिवारको सुख नै जीवनको सार हो भने कसैका लागि सम्पत्ति र सफलताको विस्तार। तर मैले जीवनलाई अलि फरक ढङ्गले अनुभव गरेकी छु । मलाई सधैँ लाग्छ,जीवनको सबैभन्दा ठूलो उपलब्धि आफू मात्र सुखी हुनु होइन; कसैको जीवनमा आशाको एउटा सानो उज्यालो थप्न सक्नु हो । सायद यही कारणले होला, अरूका आँखामा आँसु देख्दा मेरो मन स्थिर रहन सक्दैन । कसैको अनुहारमा मुस्कान फुलाउन सक्दा आफ्नै थकान हराएको अनुभव हुन्छ । कसैको दुखेको घाउमा मलम लगाउन सक्नु, कसैको निराश मनमा आशाको एउटा किरण जगाउन सक्नु, कसैको पीडाको केही अंश आफ्ना काँधमा बोक्न सक्नु,यिनै कुराहरूले मलाई जीवनको अर्थ सिकाएका छन् । मैले आफ्नो खुसीभन्दा धेरैपटक अरूको खुसीलाई ठूलो ठानेकी छु । त्यसैले अरूका लागि केही गर्न पाउँदा मैले आफूलाई कहिल्यै खाली महसुस गरेकी छैन; बरु त्यही क्षणहरूमा म सबैभन्दा बढी पूर्ण भएको अनुभूति गर्छु । म आफूलाई कुनै असाधारण मानिस ठान्दिनँ। म पनि अरूजस्तै एउटा सामान्य मानिस हुँ, जसका आफ्नै दुःख, आफ्नै सीमितता र आफ्नै संघर्षहरू छन् । तर एउटा कुरा भने सधैँ उस्तै रह्यो,जहाँ अभाव देखेँ, त्यहाँ केही गर्न सकिन्छ कि भन्ने सोच जाग्यो; जहाँ अन्याय देखेँ, त्यहाँ मौन बस्न मनले मानेन; जहाँ पीडा देखेँ, त्यहाँ संवेदनाले मलाई बोलाइरह्यो । यही स्वभावले मलाई मानिससँग जोड्यो, समाजसँग जोड्यो र अन्ततः साहित्यसँग पनि जोडिदियो ।
मेरो लागि साहित्य केवल शब्दहरूको खेल होइन । यो त मानिसको मनलाई मानिससँग जोड्ने एउटा अदृश्य पुल हो। एउटा यस्तो पुल, जसले अपरिचित आत्माहरूलाई पनि एउटै अनुभूतिमा बाँध्न सक्छ । एउटा यस्तो भाषा, जसले आँसु नबोली पनि पीडा सुनाउन सक्छ, र मुस्कान नदेखाई पनि आशा बाँड्न सक्छ। त्यसैले मैले साहित्यलाई सधैँ संवेदनाको विस्तारका रूपमा बुझेकी छु । शब्दहरू मेरा लागि सजावटका सामग्री होइनन्, ती त मानिसको मनभित्र लुकेका सत्यहरू उजागर गर्ने उज्याला हुन् ।
तर जीवनले सधैँ यति सहज उत्तरहरू मात्र दिएको छैन । जति धेरै मानिसहरूको पीडासँग नजिक भएँ, त्यति नै एउटा प्रश्नले मेरो मनलाई बारम्बार घच्घच्याइरह्यो । त्यो प्रश्न कुनै क्षणिक आवेगबाट जन्मिएको होइन; अनेक अनुभव, अनेक चोट र अनेक मौनताबाट बनेको प्रश्न हो । किन यस्तो हुन्छ कि अरूका लागि बाँच्न खोज्ने मानिसलाई समाजले सहज रूपमा बाँच्न दिँदैन ? किन निस्वार्थ समर्पणको मूल्याङ्कनभन्दा उसको कमजोरी खोज्न समाज बढी उत्सुक देखिन्छ ? किन राम्रो काममा साथ दिने हातहरू कम देखिन्छन्, तर निरुत्साहित गर्ने आवाजहरू धेरै सुनिन्छन् ? किन सम्मान गर्नुपर्ने ठाउँमा उपेक्षा, प्रोत्साहन गर्नुपर्ने ठाउँमा अविश्वास र विश्वास दिनुपर्ने ठाउँमा पूर्वाग्रह जन्मिन्छ ? यी प्रश्नहरू कुनै एक व्यक्तिका व्यक्तिगत गुनासा मात्र होइनन् । समाजका लागि आफ्नो समय, श्रम, सिर्जना र संवेदना समर्पित गर्ने धेरै मानिसका साझा प्रश्न हुन् । उनीहरू प्रायः आफ्ना लागि होइन, अरूका लागि बाँचिरहेका हुन्छन् । तर विडम्बना यही हो—यिनै मानिसहरूले कहिलेकाहीँ सबैभन्दा बढी एक्लोपन, उपेक्षा र असंवेदनशीलताको सामना गर्नुपर्छ ।
मैले पनि जीवनका विभिन्न मोडहरूमा यस्तै अनुभूतिहरू सङ्कलन गरेकी छु । कतिपय चोटहरू यस्ता थिए, जसले शरीरलाई होइन, मनलाई दुखाए । कतिपय शब्दहरू यस्ता थिए, जसले कानमा मात्र होइन, आत्मसम्मानमा घाउ बनाए । ती सबै अनुभवहरू समयसँगै हराएनन्; बरु समाजलाई बुझ्ने मेरो दृष्टि झन् गहिरो बनाउँदै गए ।
यही क्रममा एउटा घटना फेरि मेरो स्मृतिमा गहिरोसँग अंकित भएर रह्यो । एउटा सामान्य कार्यक्रमजस्तो देखिएको त्यो दिनले फेरि एकपटक मलाई समाज, संवेदना र मानिसको मनोविज्ञानबारे गम्भीर रूपमा सोच्न बाध्य बनायो । कार्यक्रम सकिएपछि बाहिरको हल विस्तारै खाली हुँदै गइरहेको थियो, तर मेरो मनभित्र भने अनेक प्रश्नहरूको भीड झन् बाक्लिँदै थियो…। हल लगभग खाली भइसकेको थियो । केहीबेरअघिसम्म शब्द, विचार र तालीले गुञ्जिएको त्यो सभाहलमा अब सन्नाटाले आफ्नो उपस्थिति जनाइसकेको थियो । कुर्सीहरू स्थिर थिए, मञ्च मौन थियो, र मानिसहरूको भीड विस्तारै बाहिरिँदै थियो। तर बाहिरको त्यो मौनताभन्दा धेरै गहिरो मौनता हामी दुवैको मनभित्र फैलिएको थियो । म र मेरी साथी सलिना केहीबेर त्यत्तिकै बसिरह्यौँ। न उनी बोलिन्, न म । कहिलेकाहीँ मौनताले शब्दभन्दा धेरै कुरा बोलिरहेको हुन्छ । त्यो दिन पनि त्यस्तै भएको थियो । केही क्षणपछि सलिनाले गहिरो सास फेरिन् । उनको अनुहारमा कार्यक्रमको औपचारिक मुस्कान हराइसकेको थियो । आँखामा एउटा अदृश्य पीडाको धुवाँ तैरिरहेको थियो । उनले बिस्तारै भनिन्, “सबै समीक्षक र अतिथिहरूले मेरो कृतिका सकारात्मक पक्षहरूबारे खुलेर बोले । उनीहरूका शब्दले मलाई अझ लेख्न प्रेरित गरिरहेका थिए । तर त्यसपछि आएको एउटा कटु टिप्पणीले मेरो सारा उत्साह क्षणभरमै चकनाचुर बनाइदियो । मेरो कृतिलाई निकृष्ट शब्द प्रयोग गरेर गरिएको टिप्पणी सुन्दा मलाई आफ्नै सिर्जनामाथि मात्र होइन, मेरो आत्मसम्मानमाथि नै प्रहार भएको अनुभूति भयो ।” उनका शब्दहरूमा कुनै आक्रोश थिएन; केवल एउटा स्रष्टाको मौन पीडा थियो । त्यो पीडा मैले केवल सुनेकी मात्र थिइनँ, महसुस पनि गरिरहेकी थिएँ । किनकि त्यो अनुभव मेरा लागि अपरिचित थिएन ।
मैले शान्त स्वरमा उनलाई भनेँ, “तिम्रो पीडा म बुझ्न सक्छु, सलिना । केही समयअघि यस्तै अनुभव मैले पनि भोगेकी थिएँ । मैले सधैँ सम्मान र प्रेरणाका स्रोत ठानेका एक अग्रज साहित्यिक व्यक्तित्वबाट आएको कटु अभिव्यक्तिले मलाई यति गहिरो चोट पु¥याएको थियो कि एक हप्तासम्म त्यसको प्रभावबाट मुक्त हुन सकेकी थिइनँ । त्यतिबेला मेरो कृतिको राम्रो प्रशंसा भइरहेको सन्दर्भमा, त्यसको समीक्षा नै प्रकाशित नहोस् भन्ने हेतुले पनि त्यही व्यक्तित्वले नै अप्रत्यक्ष रूपमा केही प्रयास गरेको कुरा सुन्दा मलाई झन् गहिरो पीडा भएको थियो ।” बारम्बार मनले एउटै प्रश्न सोधिरह्यो “के नयाँ सिर्जना गर्ने मानिसले प्रोत्साहनभन्दा पहिले अपमान र पीडा नै सहनुपर्ने हो ?”
मेरो कुरा सुनेपछि सलिनाले केहीबेर मौन रहँदै भनिन्, “साहित्यमा आलोचना अपरिहार्य छ । आलोचना नभए सिर्जना पनि परिष्कृत हुँदैन । तर आलोचनाको उद्देश्य सिर्जनालाई निखार्नु हुनुपर्छ, स्रष्टाको आत्मविश्वास भत्काउनु होइन। एउटा समीक्षा सिर्जनामाथि केन्द्रित हुनुपर्छ, स्रष्टाको सम्मानमाथि होइन ।” उनको त्यो वाक्य मेरो मनभित्र लामो समयसम्म प्रतिध्वनित भइरह्यो । साँच्चै, स्वस्थ आलोचना र अपमानबीचको दूरी धेरै ठूलो हुन्छ । एउटा आलोचनाले स्रष्टालाई अझ परिपक्व बनाउँछ भने अर्कोले उसको सिर्जनात्मक ऊर्जामाथि नै प्रहार गर्छ । एउटा आलोचकले नयाँ सम्भावनाको ढोका खोलिदिन्छ भने अर्कोले सम्भावनाको अंकुर नै कुल्चिन खोज्छ ।
त्यस दिन मैले फेरि एकपटक गहिरोसँग महसुस गरेँ—साहित्यको वास्तविक अभिभावक त्यो होइन, जसले नयाँ प्रतिभालाई होच्याएर आफ्नो उचाइ सुरक्षित राख्न खोज्छ । वास्तविक अभिभावक त त्यो हो, जसले नयाँ पुस्ताको सिर्जनामा भविष्यको सम्भावना देख्छ, उनीहरूको सफलतालाई आफ्नै उपलब्धि ठान्छ र उनीहरूलाई अझ उचाइमा पुग्न हौसला दिन्छ । साहित्य प्रतिस्पर्धाको मैदान होइन; यो त चेतना, संवेदना र संस्कारको साझा यात्राको नाम हो । यहाँ एउटाको उज्यालोले अर्कोको उज्यालो कम हुँदैन । बरु एउटा दीपबाट अर्को दीप प्रज्वलित हुँदा उज्यालोको दायरा मात्र फैलिन्छ । तर दुर्भाग्यवश, कहिलेकाहीँ यही उज्यालोलाई सहन नसक्ने मानसिकताले साहित्यिक वातावरणलाई नै धुमिल बनाइदिन्छ ।
स्वस्थ आलोचना साहित्यको प्राण हो । त्यसले सिर्जनालाई निखार्छ, दृष्टिलाई फराकिलो बनाउँछ र स्रष्टालाई आत्ममूल्याङ्कन गर्न सिकाउँछ। तर पूर्वाग्रह, ईष्र्या, अहंकार र असहिष्णुताबाट जन्मिएको टिप्पणी आलोचना होइन; त्यो त व्यक्तित्वमाथिको आक्रमण हो । त्यसले साहित्यलाई समृद्ध बनाउँदैन, बरु साहित्यिक संस्कारलाई नै कमजोर बनाउँछ । त्यही दिन मेरो मनमा अर्को प्रश्न पनि झन् गहिरियो । हामी बराबरीको समाज निर्माणको कुरा गर्छौँ । चेतना, प्रगति र समावेशिताका भाषणहरू दिन्छौँ। महिलाको सशक्तीकरणका नाराहरू घन्काउँछौँ । तर व्यवहारमा कुनै महिला आफ्नो प्रतिभा, मेहनत र सिर्जनाका आधारमा अगाडि बढ्न खोजेपछि किन उसको यात्रालाई सहज बनाइँदैन ? किन उसको सफलतालाई खुलेर स्वागत गर्नुको सट्टा शङ्का, उपेक्षा वा कटाक्षले घेरिन्छ ? विचारसँग असहमति हुनु स्वाभाविक हो। कुनै पनि सिर्जनाको समीक्षा हुनु आवश्यक पनि हो । तर असहमतिको नाममा कसैको आत्मसम्मानमा चोट पु¥याउनु, सिर्जनाभन्दा स्रष्टालाई नै कमजोर पार्ने प्रयास गर्नु, वा प्रतिभालाई निरुत्साहित गरेर आफूलाई ठूलो प्रमाणित गर्न खोज्नु,यी कुनै पनि सभ्य समाजका लक्षण हुन सक्दैनन् समाजको सबैभन्दा ठूलो विडम्बना यही हो कि आफूलाई प्रगतिशील भन्ने मानिसहरूमध्ये केहीले नै अरूको प्रगति सहज रूपमा स्वीकार गर्न सक्दैनन्। उनीहरूलाई लाग्छ,अरूको उज्यालो बढ्यो भने आफ्नो उज्यालो ओझेलमा पर्छ । यही भ्रमले मानिसको दृष्टि साँघुरो बनाइदिन्छ। अनि उसले सिर्जनाभन्दा व्यक्ति, गुणभन्दा दोष र समर्पणभन्दा कमजोरी मात्र देख्न थाल्छ ।
मलाई लाग्छ, यही मानसिकता वास्तवमा समाजको सबैभन्दा खतरनाक अदृश्य रोग हो । यस्तो रोग, जसको कुनै बाहिरी लक्षण देखिँदैन, तर जसले मानिसको संवेदनशीलता, उदारता र मानवीयताको जरा बिस्तारै सुकाउँदै लैजान्छ ।
समाजलाई आज सबैभन्दा धेरै कमजोर बनाइरहेको कुरा केवल आर्थिक अभाव, अशिक्षा वा अवसरको कमी मात्र होइन; अरूको सफलता सहज रूपमा स्वीकार गर्न नसक्ने मानसिकता पनि हो। यो कुनै देखिने रोग होइन, तर यसले मानिसको मनलाई भित्रभित्रै खोक्रो बनाउँदै लैजान्छ। जहाँ सम्मान हुनुपर्ने ठाउँमा अपमान हुन्छ, प्रोत्साहन हुनुपर्ने ठाउँमा निरुत्साह छरिन्छ, विश्वास हुनुपर्ने ठाउँमा पूर्वाग्रह उभिन्छ, त्यहाँ प्रतिभा मात्र घाइते हुँदैन, मानवीयता पनि बिस्तारै रक्ताम्य बन्छ । मैले जीवनमा यति धेरै अनुभवहरू सङ्कलन गरेपछि एउटा कुरा स्पष्ट रूपमा बुझेकी छु । सेवा गर्ने मानिस पत्थर हुँदैन । ऊ पनि रगत र भावनाले बनेको हुन्छ । ऊ पनि थाक्छ, ऊ पनि आहत हुन्छ, ऊ पनि कहिलेकाहीँ एकान्तमा बसेर आफ्नै मनसँग संवाद गर्छ । अरूका पीडा बोक्दै हिँड्ने काँधलाई पनि कहिलेकाहीँ एउटा आत्मीय स्पर्शको आवश्यकता पर्छ । अरूको आँसु पुछ्ने हातलाई पनि कुनै दिन कसैले समातिदियोस् भन्ने चाहना जाग्नु अस्वाभाविक होइन । यदि अरूका लागि बाँच्ने मनलाई नै बारम्बार निराशाको घेराभित्र धकेलियो भने, उसले समाजमा आशा कसरी बाँड्ने ? यदि अरूका घाउमा मलम लगाउने हातलाई नै निरन्तर घाइते बनाइयो भने, त्यो हातले फेरि कसरी अर्कोको पीडा कम गर्न सक्ला ? यिनै प्रश्नहरूले कहिलेकाहीँ मेरो मनलाई पनि गहिरोसँग छुन्छन् । तर समयले मलाई अर्को एउटा सत्य पनि सिकाएको छ। जीवनमा सबैभन्दा गहिरा चोटहरू धेरैपटक शब्दहरूले दिएका छन्, तर ती शब्दहरूले नै मलाई अझ बलियो बन्न सिकाएका छन्। केही कटु अनुभवहरूले मलाई क्षणभर रोक्न खोजे, केही अपमानजनक अभिव्यक्तिहरूले मेरो आत्मविश्वास डगमगाउन खोजे, तर अन्ततः मैले बुझें,कुनै एक व्यक्तिको निकृष्ट भनाइले न स्रष्टा मर्नुहुन्छ, न सिर्जना नै समाप्त हुन्छ। बरु साँचो स्रष्टा त त्यही हो, जसले आलोचनाबाट विवेक ग्रहण गर्छ, कटुताबाट धैर्य सिक्छ, अपमानबाट आत्मबल आर्जन गर्छ र आफ्ना शब्दहरूलाई अझ परिष्कृत, अझ जिम्मेवार र अझ जीवन्त बनाएर पुनः पाठकमाझ फर्किन्छ।
आँधीले रूखलाई ढाल्न पनि सक्छ, तर त्यही आँधीले उसको जरा अझ गहिरो बनाउन पनि सक्छ । नदीलाई चट्टानले रोक्न खोज्छ, तर नदीले रोकिन सिक्दैन; उसले आफ्नो बाटो आफैँ बनाउँछ। स्रष्टाको यात्रा पनि यस्तै हो । उसलाई रोक्ने आवाजहरू समयसँगै हराउँछन्, तर सत्य, संवेदना र इमानदारीले लेखिएका शब्दहरू समयभन्दा धेरै टाढासम्म यात्रा गरिरहन्छन् । त्यसैले आज म कुनै कटु टिप्पणीप्रति आक्रोश बोकेर होइन, एउटा परिपक्व विश्वास बोकेर उभिएकी छु । अब मलाई लाग्छ,निकृष्ट भनाइको सबैभन्दा सुन्दर उत्तर प्रतिशोध होइन, अझ उत्कृष्ट सिर्जना हो। किनकि शब्दसँग शब्दले होइन, सिर्जनाले नै दीर्घकालीन संवाद गर्छ ।
हामी प्रायः मानिसको अनुहारमा देखिएको मुस्कानलाई नै उसको सम्पूर्ण सत्य ठान्छौँ । तर बाहिर हाँसिरहेको मानिसभित्र कति आँधीहरू चलिरहेका छन् भन्ने कुरा उसैलाई मात्र थाहा हुन्छ । धेरै मानिसहरू आफ्ना घाउहरू प्रदर्शन गर्दैनन् । उनीहरू आफ्ना आँसुहरू लुकाएर पनि अरूलाई हौसला दिइरहेका हुन्छन् । उनीहरू आफ्ना पीडालाई मौनतामा गलाएर पनि समाजप्रतिको दायित्व निर्वाह गरिरहेका हुन्छन् । विशेषगरी महिलाहरूको जीवनमा यो यथार्थ अझ गहिरो रूपमा देखिन्छ । उनीहरू आफ्ना असंख्य पीडाहरूलाई मनको कुनामा थन्क्याएर परिवारलाई मुस्कान दिन्छन्, समाजका जिम्मेवारीहरू पूरा गर्छन् र जीवनका कठिन यात्राहरूलाई धैर्यपूर्वक पार गरिरहेका हुन्छन् । उनीहरूको मौनता कमजोरी होइन; त्यो असाधारण सहनशीलताको अर्को नाम हो । तर दुर्भाग्य, यही मौनतालाई कतिपयले कमजोरी ठान्छन् र बारम्बार उनीहरूको आत्मसम्मानमा चोट पु¥याइरहन्छन् ।
मैले जीवनबाट एउटा अमूल्य पाठ सिकेकी छु—माया बाँड्दा माया घट्दैन, सम्मान दिँदा आफ्नो उचाइ कम हुँदैन, र अरूलाई अघि बढाउँदा आफ्ना पाइला पछाडि पर्दैनन् । बरु अरूको सफलतामा खुसी हुन सक्ने मन नै वास्तवमा सबैभन्दा सम्पन्न मन हो । आज पनि कसैको दुःख देख्दा मेरो मन चुप लागेर बस्न मान्दैन । कसैको बगेको आँसु पुछ्न मन लाग्छ। कसैको निराश अनुहारमा आशाको उज्यालो देख्न मन लाग्छ । कसैको दुखेको घाउमा मलम लगाउन मन लाग्छ। सायद यही मेरो कमजोरी पनि हो, यही मेरो शक्ति पनि। किनकि मैले जीवनलाई आफ्ना लागि मात्र होइन, अरूका लागि पनि बाँच्ने अवसरका रूपमा बुझेकी छु । तर समाजसँग मेरो आज पनि एउटा विनम्र प्रश्न यथावत् छ । अरूका लागि बाँच्ने मानिसका लागि आखिर कसले बाँच्ने ? उनीहरूलाई पनि विश्वास चाहिन्छ । उनीहरूलाई पनि सम्मान चाहिन्छ । उनीहरूलाई पनि एउटा आत्मीय शब्दको आवश्यकता पर्छ । किनकि सेवा गर्ने मन पनि कहिलेकाहीँ सहाराको खोजीमा हुन्छ । सायद आजको समाजले खोज्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण उत्तर यही हो । अब हामीले यस्तो संस्कार निर्माण गर्नुपर्छ, जहाँ राम्रो काम गर्ने मानिसलाई शङ्काले होइन, विश्वासले हेरियोस् । जहाँ स्वस्थ आलोचनाले सिर्जनालाई निखारोस्, तर कटुताले कुनै स्रष्टाको आत्मविश्वास नमारोस् । जहाँ महिलाको सफलता प्रतिस्पर्धीको हार होइन, सम्पूर्ण समाजको उपलब्धि ठानियोस् । जहाँ नयाँ प्रतिभाको उज्यालो निभाउने होइन, त्यसलाई अझ उज्यालो बनाउन सबैले आफ्नो हिस्साको दीप प्रज्वलित गरून् । किनकि व्यक्तिलाई महान् बनाउने कुरा ठूल्ठूला भाषण होइनन्। एउटाको पीडामा अर्कोको मन दुख्ने संवेदना, अरूको सफलतामा निस्वार्थ रूपमा खुसी हुन सक्ने उदारता, र निस्वार्थ भावले बाँच्ने मानिसहरूको सम्मान गर्न सक्ने संस्कार नै सभ्य समाजको वास्तविक परिचय हो । मलाई आज पनि मानिसप्रति विश्वास छ। संवेदनाप्रति विश्वास छ । साहित्यप्रति विश्वास छ। र सबैभन्दा धेरै विश्वास छ सत्य, इमानदारी र करुणाले लेखिएका शब्दहरू कुनै पनि कटु टिप्पणीभन्दा धेरै दीर्घायु हुन्छन् । समाज साँच्चै सभ्य त्यही दिन हुनेछ, जुन दिन अरूका लागि बाँच्ने मानिसले पनि समाजबाट आत्मीयता, विश्वास र सम्मान पाउनेछ । अनि कुनै पनि स्रष्टाले आफ्नो सिर्जनाको मूल्याङ्कनबाट सिक्नेछ, तर कुनै निकृष्ट भनाइका कारण आफ्नो कलम कहिल्यै रोकिने छैन । किनकि साँचो सिर्जना दबाबले मर्दैन; त्यो त हरेक चोटपछि अझ परिष्कृत, अझ उज्यालो र अझ जीवन्त भएर फेरि जन्मिरहन्छ ।









प्रतिक्रिया दिनुहोस्