अछुत कोपिला
‘मृत्युगन्जमा के छ ? मृत्युगन्ज र मौनताबीच फरक के छ ? मृत्युगन्जको मौनता के हो ? शब्दले पनि तोड्न नसकेको यो कस्तो मौनता हो ? म त भन्छु बास्तवमा यो शब्दले तोडेको मौनता हो । मौनताभित्रको चित्कार हो, मृत्युगन्जको मौनता । जहाँ आक्रोशको आँधी छ । यो विचारको कारखाना हो ? र छन् तमाम् स्मृतिका जलकम्भीहरू ।’ मानवीय विचारको सौन्दर्यात्मक अभिव्यक्ति हो, कविता । समय र हरेक कालखण्डको साक्षीसमेत हो कविता । जहाँ अनुभूति, विचार र जीवनको प्रतिबिम्ब कविताका माध्यमबाट उजागर गरिन्छ । कविता केवल शब्दहरूको संयोजन मात्रै होइन, यो त कविको अनुभूति, चेतना र समयको कलात्मक अभिव्यक्ति हो । मानवीय संवेदना, राजनीतिक र सामाजिक यर्थाथ र विविध पक्षलाई विभिन्न शैलीमा प्रस्तुत गरिन्छ । केशव निमेषको कविता सङग्रह ‘मृत्युगन्जको मौनता’ भर्खरै बजारमा आएको छ । विमोचनको तरखरमा रहेको यो सङ्ग्रह मेरो हातसम्म आइपुग्यो । कविता पढ्दै जाँदा यस्तो लाग्यो पाठकले केवल कविता मात्रै पढ्दैनन् सामाजिक तथा राजनीतिक चरित्र पढ्छन् । सत्ता र शक्ति पढ्छन् । भूँइ मान्छेहरूको मौन बिद्रोह पढ्छन् । कवितामा सत्तामाथि प्रश्न गरिएको छ । नेताले जनतालाई देखाएका सपनामाथि भएको हत्याबारे आक्रोश पोखिएको छ । सिंगो समाज नै विचार शून्य भएकोप्रति पछुतो छ, कविलाई । सँगै जोडिएको छ, परिवार र सन्तान प्रेम । अनि खोजिएको छ, आफूलाई ‘म’ पात्रमार्फत त्यो भिडमा । जहाँ न प्रश्न छ । न विचार छ । आक्रोशको आँधी छ । छ त केवल मौनता । नेपाली समाजभित्र के छैन ? विभेद छ । असमानता छ । शोषण छ । वितृष्णा छ । आक्रोश छ । समस्याका कैयन सूची छन्, समाजभित्र । मुख्यगरी राजनीतिक र सामाजिक रुपमा । यो एउटा यस्तो मृत्युगन्ज हो ? यहाँ बोल्ने कोहीपनि छैन । समाजभित्र चरम विभेद छ तर, त्यसको प्रतिकार गर्दैन, प्रश्न गर्दैन । विभेद, असमानता, शोषण, गरिबी, भ्रष्टाचार छ,– सरकारले देख्दैन । अख्तियार, पुलिस, बौद्धिक वर्ग चुपचाप छ । कवि मौन छ । न त त्यो समाचारको हेडलाइन बन्छ न त कविताको शीर्षक । लेख्न सक्ने मानिस लेख्दैनन् । साहित्यले ती समस्यालाई कहिल्यै विषयवस्तु बनाएन । एउटा अनपढ् मानिसले नबोलेको भन्दा अर्को शिक्षित मानिसले देखेका कुरामा नबोल्नु, नलेख्नु समाजको लागि खतरनाक हो । विभेद हुँदापनि समाज किन मौन छ ? किन सान्नाटा छ समाजभित्र ? थिचोमिचो हुँदापनि चुपचाप छ राज्य ।
यसका विरुद्ध बोलिने आवाज सानो छ । सानो आवाजलाई कला, सिर्जना, अभिव्यक्तिका माध्यमबाट ठूलो स्वरमा प्रश्न गर्नुपर्छ । आमरुपमा देखिएका तर, नबोलिएका र बोल्नैपर्ने अनेकन विषय छन् । अभिव्यक्त गर्नेपर्ने तमाम् कथाहरू छन् । सुन्नु र सुनाउनुपर्ने एजेण्डा छन् । यसरी कविताका माध्यमबाट शब्दहरूले मौनता तोडेको छ– मृत्युगन्जको मौनताले । कवि निमेशको कविता सङ्ग्रह ‘मृत्युगन्जको मौनता’ एउटा यस्तो ‘मौन आवाज’ हो । जुन शब्दहरूमार्फत तोडिएको छ । कविता काब्यात्मक मात्र छैनन् । कवितामा राजनीतिक चेत प्रष्ट झल्किन्छ । नेपाली समाजको वर्गीय संरचनामाथि नै प्रश्न गरिएको छ । विभेद, विकृति र उत्पीडनलाई आक्रमण शैलीमा प्रतिरोध गरिएको छ । कवितामा भुँइमान्छेहरूका आवाज बोलिएको छ । शासित र शासक वर्गबीचको भेद कवितामा देख्न सकिन्छ । मृत्युगन्जको मौनता दबिएका आवाज बोल्ने दस्तावेज बनेको छ । ‘मृत्युगन्जको मौनता’ बिम्बात्मक रुपमा कृतिको नाम राखिएको छ । कवितामा कवि देशमा कैयन असमानता देख्छन् । यसका विरुद्ध बोलिने आवाज सानो छ । त्यही सानो आवाजलाई साहित्यका माध्यमबाट ठूलो स्वरमा प्रश्न गरेको छ ? मृत्युगन्जको मौनताले । कवितामा आक्रोश । विद्रोह छ । क्रान्ति छ । समाजमा भएका असमानताविरुद्ध प्रहार गरिएको छ । आमरुपमा देखिएका तर नबोलिएका, बोल्नुैपर्ने र अभिव्यक्त गर्नेपर्ने, सुनिनुपर्ने आवाजहरूलाई कवितामार्फत उजागर गरिएको छ । जहाँ कवितामा श्रृंगारिकता भेटिदैन । निमेषका कवितामा प्रगतीशील कविताहरूको बाहुल्यता छ । कविले क्रान्तिकारी कविता, जनजिविकाको सवाल उठाएका छन् । भुँइमान्छेका पक्षमा कविता लेखेका छन् । अर्को उल्लेखनीय पक्ष के छ भने उनका कवितामा माक्र्सवादको प्रभाव प्रष्टै भेटिन्छ । कवितामा उनले प्रगतीशील विचार प्रवाह गरेका छन् । कविताको दायरा बृहत र फराकिलो छ । लेख्न र भन्न खोजेको कुरा मज्जाले लेका छन् । कविलाई लाग्छ, कविता लेखेर तुरुन्तै समाज त परिवर्तन गर्न सकिदैन । तर, कविता पढिसकेपछि मानिसहरूलाई अन्यायका विरुद्ध बोल्नुपर्छ भन्ने लाग्नेछ । आलोचनात्मक चेत प्रवाह गरिदिन्छन् कविताले । कविले कृतिभित्र सङ्कलित कविताहरूलाई तीन खण्डमा विभाजन गरेका छन् । यो सङ्गह्रभित्र रहेका कविताहरूको पहिलो खण्ड हो आक्रोशको आँधी, दोस्रो खण्ड हो विचारको कारखाना र तेस्रो खण्ड हो स्मृति जलकुम्भीहरू ।
आक्रोशको आँधी ः प्रश्न, आक्रोश र झिल्काहरू
‘कायरहरुको सत्ता’ शीर्षकको कवितामार्फत सुरु भएको छ,आक्रोशको आँधीको यात्रा । समय बलवान छ । सत्तालाई बलशाली, शक्तिशाली, भयानक र खतरनाक हाउगुजी बनाइएको छ । सत्ताको पञ्जामा पलाउन सक्छन् धारिला नङग्राहरू । उभिन सक्छन्, टाउकोमा । सत्ता डर लाग्दो देखिदैमा बलशाली सोचिन्छ । कविलाई लाग्छ, बर्दी लगाएर बस्ती उठाउने, बुट बजारेर आवाज दबाउने अभ्यास नै कायरहरुको सत्ता हो । आवाज दबाउने सत्ता शक्तिशाली हुनै सक्दैन । ठेलागाडालाई शरणार्थी ठान्ने र युवालाई निर्यातका माल देख्ने ? कसरी हुन सक्छ यो सत्ता खतरनाक । यहाँ त सत्ता जनता, समाज र संविधानभन्दा माथि भएको छ । सत्तामा पुग्ने सेवक नभई शासक बनेको छ । यो सत्ता अजम्बरी होइन क्षणिक हो कवि लेख्छन् ः
एक कलम मसीले
कोरिन सक्छ – नयाँ समाजको चित्र
र यही एउटा कविताले
तहसनहस बन्न सक्छ – कायरहरुको सत्ता ।
एक व्यक्ति जनताबाट शासक बन्न सक्ने तर शासक बनिसकेपछि जनता बन्ने नसक्ने प्रवृत्तिमाथि ‘उचाई’ कविताले प्रश्न गरेको छ । ‘कोरा सपना’ देशमा दश वर्ष चलेको शसस्त्र द्धन्द्धको बेला देखाइएका सपनामाथि कुठाराघात भएको छ भन्ने एक उदाहरण हो । जङ्गलबाट भोकभोकै बस्ती पसेर उसले मागेको थियो भात कोरा सपनाले । आफ्नो गास नै कटाएर पालेका थिए जनताले । प्राणको आहुति दिएका यर्थाथतालाई अहिलेपनि गिज्याइरहेको छ, कोरा सपनाले । एउटा कुर्सी यतिसम्म राष्ट्रघाती हुन सक्छ ? जसका लागि माटो, सुस्ता र लिपुलेक र बुद्धसमेत बेच्नसमेत तयार हुन्छ । त्यो सत्ताको सुगन्धले यति रन्थनिएको छ की निसङ्कोच उभिएको छ, गण्डकी, कोशी र महाकाली बेच्नेहरूको लाइनमा । ‘एउटा गद्धारको डायरी’ मा आफ्नो माटोको गौरवशाली विगत सम्झिदै लेखिएको छ ः
छन त
पुर्खाहरू वीर थिए मेरा
संसारमा कहलिएका योद्धाहरु थिए मेरा बाउबाजे
तर म आमा बेच्ने हाटमा आइपुगेँ ।।
कायरहरूको सत्ताले जनतालाई देखायो समाजवादका कोरा सपना । जनताले भेटेकै हुन्, सुखी र खुसी जनता बनाउने बाचा भेटेकै हो गद्धारको डायरीमा । कहाँ पुग्यो अहिले त्यो समाजवाद ? कहिलेकाँही इतिहासले हेक्का राख्ने गर्छ प्रश्नहरूको पनि । त्यसैले सपना, समर्पण र मृत्युको ‘मलाई हिसाब चाहिन्छ ।’ चाहिदैन अब माटोले मल नपाएसम्म । बच्चाले अक्षर नचिनेसम्म । बेचिएका औषधिका कारखाना फिर्ता नल्याएसम्म । अहङ्कारको श्रीपेज नखोसिएसम्म । वर्गसङघर्षका खातिर एउटा कविता जरुर चाहिएको छ ? मुखुण्डो विरुद्ध ।
विचारको कारखाना ः प्रतिरोधी स्वर र जीवनका यथार्थहरू
बाँसुरी–जो निर्जिव वस्तु हो । बाँसुरीका माध्यमबाट विभिन्न धुन निस्कन्छ । बाँसुरीको आवाज अहिले निरस सुनिन्छ । कहिले कारुणिक सुनिन्छ । तर बाँसुरीको पनि क्रान्तिकारी सुस्केरा हुन्छ भन्ने कुरा काव्यिक रुपमा प्रस्तुत गरिएको छ । यस खण्डमा पलायन–१ र पलायन–२ नामक कविता छन् । प्रस्तुत कवितामा पलायनलाई बहुआयमिक रुपमा प्रस्तुत गरिएको छ । हिजोका गाउँहरू सहरमा परिणत भएका छन् । परम्परागत जीवनशैली आधुनिकतामा परिणत भएको छ । पलायन विभिन्न किसिमका हुन्छन् । कवितामा सपनाको पलायनको प्रसङ्ग उल्लेख गरिएको छ । देशको कर्णधार भनिएको युवा पुस्ता अहिले पलायनको सिकार भएको छ । वर्तमान समाजको कटु सत्य हो यो । आज गाउँ सुनसान छ । सुनसान भएको देशको आँगन । आज विवशता र बाध्यताले फरक बाटो रोजिरहेको छ, एउटा सपनाले । पलायन–२ मा भनिएको छ ः
एउटा प्रश्न हलपल घुमिरहन्छ
यो पलायन जीवनको यात्रा हो कि विसर्जन ?
तर सकेको छैन कसैले उत्तर दिन्न
किनभने उत्तर खोज्नेहरु नै
एक–एक गरेर हराइरहेछन् पलायनको बाटोमा ।
बजारको चर्चित शोकगीत वर्तनाम समयको दुःखद शोकको प्रतिबिम्ब हो । जसमा समाजका कटु यथार्थहरूलाई उजागर गरिएको छ । जहाँ सभ्यता र इतिहासका प्रसङ्ग छन् । पसिनाको पनि इतिहास हुन्छ । अहिले मानिसहरूको दैनिकी मात्रै फेरिएको छैन । हरेक कुराको चोला फेरिएको छ । अहिले नदी उस्तै बज्दैन । पानीहरूका स्वरहरू विरहमा परिणत भएका छन् । घर अग्लिएका छन् त झ्यालहरू आँखा भन्दापनि साँघुरिएका छन् । हरेक समस्याहरूबाट उन्मुक्त हुन चाहिरहेको छ, समय, मानिस र ब्रह्माण्डले । आँसुको अस्त्र, देश के हो ? पहाड, जिब्रो जस्ता कविताहरु निकै शक्तिशााली छन् ।
स्मृति जलकुम्भीहरू ः मभित्र अस्तित्वको खोजी
कवि कवितामा कुनै अदृष्य शक्ति वा अलौकिक ईश्वरलाई खोज्दैनन् । खोज्छन् त केवल माटो, पसिना, श्रम र समयको गति । उनका कविता न कुनै रहस्यले भरिएका छन् न त कुनै प्रार्थनाबाट निर्माण भएका हुन् । कवितामा उनले जे लेखेका छन् । देखेका कुरा लेखेका छन् । कविता सङ्ग्रहको अन्तिम कविता हो, ‘म’ । म कविताभित्र अनेक विषय समावेश छन् । जसको अन्त्यमा उल्लेख गरिएको छ ः
म
हुँदै होइन–अनश्वर आत्मा
बरु जटिल संरचना हुँ पदार्थहरुको
यो अस्तित्वलाई
इतिहार र संघर्षले मात्रै अमर बनाउन सक्छ ।
यसमा मभित्रको आत्मालाई निकै बलियोसँग उजागर गरिएको छ । एउटा यस्तो जीवित आत्मा जसले वर्तमानमा विचारको निर्माण गर्छ । सिद्धान्तको प्रार्दुभाव गर्छ । भत्काउँछ सहयोग गर्छ, कुटिल संरचनाहरू । जो न अनन्त आत्मा हो । न कुनै ईश्वरको अंश नै । न त जन्मको प्रारम्भ हो, न मृत्युको अन्त्य हो । जो भाषा, स ंस्कृति र परम्पराले लामो सभ्यासबाट बनेको सामाजिक प्राणी हो । जसलाई समाजबाट अलग गर्न सकिदैन । प्रस्तुत सङग्रहमा ‘आमाःसाइनो मात्र होइन’ शीर्षकको कविता छ । आमा शब्द आफैमा भावनात्मक शब्द हो । जुन शब्दलाई मानिसले भगवानको रुपमा आदर र सम्मान गर्दछन् । भनिएको छ । कुनै सीमामा बाँधिदैन उनको सौन्दर्य । आमाको कुरुपतालाई तुलनाको कठघरामा पनि उभिदैन । किनभने उनी आफैमा मेरुदण्ड हुन्, अस्तित्वलाई बचाई राख्ने सत्व हुन् । हुन पनि साइनो मात्र कहाँ हुन् र ? आमा । आमा सबथोक हुन् । आमा शक्तिशाली हुन् । आमा शब्द आफैमा महान छ । अनि कवि लेख्छन्, आमाहरूका अनेक अध्याय ।
आमाहरुको कोखकम ब्रह्माण्ड जन्मिन्छ,
र त्यही कोखमा पलाउँछन्,मृत्युका सन्त्रासहरु पनि ।
ती आमाले जन्माएको छोरो अनपढ हुन्छ । त्यही छोरो कुनै पनि बुढोपनि हुन्छ । आमाले छोरालाई पढ् भन्छिन् । छोरो भएर संसार जान्नुपर्छ भन्छिन् । देशदेशावर डुल्नुपर्छ भन्छिन् । आमाले भनेको केहीपनि नमानेपछि छोरो बन्छ, हली । अनि बोक्छ मल । आमा र छोराको अटुट सम्झाउने छोटो कविताले लामो सन्देश दिएको छ । समय परिवर्तनशील । जो निरन्तर परिवर्तन भइरहन्छ । हिजो, आज र भोली त्यही परिवर्तनशील समयका पाटाहरू हुन् । आमा र छोराको सम्बन्ध बुझाउन खोजिएको छ । आमाका लागि सन्तान जति ठूलो भएपनि सानै लाग्छ । आमा दिन खोज्दा कुराउनीको डल्लो छोरोले नानीलाई देउ भन्छ । ‘म माटो भएँ छोरी’ त्यहीँ अस्तिव खोजीको नमुना हो । माटो र छोरीलाई बिम्बात्मक रुपमा निकै सुन्दर प्रयोग गरिएको छ ।
मृत्युगन्जको मौनताको कच्चा पदार्थ
मृत्युगन्जको कच्चा पदार्थ वर्गीय असमानता,श्रमिकको थकान, जनताको पीडा र तिनीहरूको संघर्ष हो । अनी कविता सङग्रहको मेरुदण्ड के हो त ? कवि भन्छन्, ‘संसारमा जे छ,त्यो भौतिक आधारमा उभिएको छ भन्ने मान्यता हो ।’ उनी कवितामा आकाश लेख्छन् । कविता चेतनाको यस्तो झिल्को हो, जसले पाठकलाई केवल भावुक होइन, प्रश्न गर्न र परिवर्तनको बाटो देख्न प्ररित गर्छ । माक्र्सजवादका विद्यार्थी उनले समाजमा जे देखे । त्यहीँ कवितामा मार्फत अभिव्यक्त थाले । समाजमा भएका तमाम शोषण, उत्पीडन र असमानताविरुद्ध प्रश्न उठाउने बलियो स्वर हो, कविता । जब देश कुनै मझधारमा उभिन्छ ठिक त्यतिबेला परिवर्तनको पहिलो उद्घोष र नयाँ युगको हाँक हाल्ने कवि नै हुन् भन्ने हेतुले युवा कवि केशव निमेशले ‘मृत्युगन्जको मौनता’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । कवि निमेशको यो पहिलो कविता कृति हो । कविता सङ्ग्रहमा कूल ३२ कविता सङ्ग्रहित छन् । कविताहरुलाई तीन उपशीर्षकमा विभाजन गरिएको छ । पहिलो हो,आक्रोशको आँधी । यसभित्र आठ वटा कविता रहेका छन् । दोस्रो–विचारको कारखाना । यसभित्र कूल १३ वटा कविता समावेश छन् । स्मृतिका जलकुम्भीहरूमा जम्मा ११ वटा कविताहरू सङ्ग्रहित गरिएका छन् । बाँकेको कोहलपुर–१२ चप्परगौडीमा जन्मिएका कवि केशव निमेशको पुख्र्यौली घर जाजरकोट जिल्ला हो । सानै उमेरदेखि नै साहित्यप्रति चासो राख्ने निमेषले नेपाल राष्ट्रिय माविमा कक्षा पाँचसम्म अध्ययन गरेका छन् । ज्ञानज्योति माविबाट कक्षा ६ देखि १२ सम्म अध्ययन गरेका हुन् । वागेश्वरी बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेका निमेष सानै उमेदेखि कविता लेख्थे । त्यसपछि उनी गजल विधातर्फ आर्कषित भए । फेरि उनी कवितामै फर्किए । ‘मृत्युगन्जको मौनता’ उनको पहिलो साहित्यिक सन्तान हो ।









प्रतिक्रिया दिनुहोस्