कोहलपुर ।
गाँजा र अल्लोबाट उत्पादित विभिन्न प्रकारका कपडाहरू अब कोहलपुरमै पाइने भएको छ । गणेश हेम्पको अधिकृत बिक्रेता जगत हेम्प र बागेश्वरी कलेक्सनले कोहलपुरमा पसल खोलेर गाँजा र अल्लोको रेसाबाट उत्पादित कपडाहरूको बिक्री–वितरण सुरु गरेका हुन् ।
कोहलपुर–११ रेडक्रस मार्गमा छुट्टाछुट्टै दुई पसल सञ्चालनमा ल्याएर यस्ता कपडाको बिक्री–वितरण सुरु गरिएको हो । कोहलपुरका जगतबहादुर थापा र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले यस्तो पसल सञ्चालनमा ल्याएका हुन् ।
स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले आफूले यस्तो पसल सञ्चालनमा ल्याएको संघका पूर्वअध्यक्ष श्रेष्ठले जानकारी दिए । रुपैडिया गएर ठगिनुभन्दा आफ्नै कच्चा पदार्थमार्फत स्वदेशमै उत्पादित कपडाको बजार प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो पसल सञ्चालनमा ल्याएको श्रेष्ठले
बताए ।
त्यस्तै, बाँके, बर्दिया, सुर्खेतलगायत पश्चिम क्षेत्रमा स्वदेशमै गाँजाबाट उत्पादित बस्तुहरू बिक्री वितरण गर्ने उद्देश्यले पसल सञ्चालनमा ल्याएको जगत हेम्पका सञ्चालक थापाले जानकारी दिए ।
यी पसलहरूमा गाँजा र अल्लोको रेसाबाट उत्पादन गरिएका रेडिमेड कपडादेखि थान कपडासमेत बिक्री वितरण हुँदै आएको छ । ‘सय रुपैयाँ पर्ने किरिङदेखि आठ दश हजार रुपैयाँसम्म पर्ने कोट यहाँबाट बिक्री हुने गरेको छ,’ सञ्चालक थापाले भने, ‘स्वदेशी उत्पादनलाई प्राथमिकता दिन पनि मैले यो व्यवसाय सञ्चालनमा ल्याएको हुँ ।’
पूर्वी नेपालको इटहरीमा रहेको कम्पनीमा गाँजाको रेसाबाट जुत्ता–चप्पल, सर्ट–पाइन्ट, टिसर्ट, कोट, ब्याग, मोजादेखि किरिङसम्मका बस्तु उत्पादन हुने गरेको सञ्चालक थापाले जानकारी दिए । ‘भविष्यमा यसै क्षेत्रबाट यस्ता उत्पादन गर्ने उद्देश्यले मैले यो पसल सञ्चालनमा ल्याएको हुँ,’ थापाले भने, ‘स्वदेशी उत्पादन भएकाले भविष्यमा यसले नेपालमा राम्रै बजार पाउने आशा छ ।’
थापाले गाँजाका उत्पादन अन्य उत्पादनहरूका तुलनामा कमजोर नरहेको दाबी गरे । ‘मानिसलाई लाग्दो हो यस्ता बस्तु निकै महँगो पर्छ होला,’ सञ्चालक थापा भन्छन्, ‘तर होइन, अन्य उत्पादनभन्दा यो महँगो पनि छैन र टिकाउ पनि उस्तै छ ।’
नेपालमा गाँजा खेतीले अझै कानुनी मान्यता पाएको छैन । गाँजा खेतीको वैधानिकताबारे सदनदेखि सडकसम्म छलफलकै विषय बनिरहेको
छ । तर नेपालका पश्चिम पहाडी जिल्ला रोल्पा, रुकुमतिर कृषकले रेसा उत्पादनका लागि गाँजा खेती गर्दै आएका छन् ।
‘स्थानीय शासन सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार केही स्थानहरूमा अहिले यसको खेती हुँदै आएको रहेछ,’ उनले भने, ‘त्यसैबाट यी सामग्री उत्पादन हुँदै आएका छन् ।’ भविष्यमा गाँजा खेतीले वैधानिकता पाउने आशा व्यक्त गर्दै थापाले ठाउँ–ठाउँमा खेती गरेर यसबाट लाभ लिन सकिने बताए ।
कुमारी बैंकको जागिरबाट निवृत्त भएपछि थापाले केही व्यवसाय सञ्चालन गर्ने क्रममा यो कामको सुरुवात गरेका हुन् । ‘जागिरबाट निवृत्त भएपछि केही नयाँ गरौँ भन्ने मनमा थियो,’ उनले भने, ‘स्वदेशी उत्पादनको प्रोत्साहन पनि हुने, व्यवसाय पनि हुने भएकाले यसैको सुरुवात गरेको हुँ ।’ पसल सञ्चालनका लागि सुरुमा १० लाख रुपैयाँ लगानी भएको थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्