डम्बर बहादुर खत्री
‘लुट’ शब्द सबैको साझा शब्द बनेको छ । लुटबाट नै हो लुटाहा बनेको । अति प्रिय शब्द छ यो शब्द, त्यसैले त सबैले प्रयोग गर्छन् । फरक यत्ति हो कसैले लुकेर गछनर्् कसैले खुल्लमखुल्ला । सायद यो शब्द आमाको गर्भमा नै सिकाइन्छ । कतिले जन्मदा जन्मदै बाटोमा नै सुनेका होलान् । यसको प्रयोग प्रत्येक घरमा हुन्छ । प्रत्येक गल्लीमा हुन्छ । कुना काप्चा र अन्धकारमा त झन नहुने कुरै भएन । सुन्नका लागि माइक नै चाहिन्छ । नबोले पनि सुनिने । नभने पनि बुझिने । नहेरे पनि देखिने । नछामे पनि महसुस गर्न सकिने । मज्जाको छ लुटाहा शब्द । लु–टा–हा को अर्थ आफ्नो अनुकुल लगाउन सक्नुहुन्छ । परिस्थिति अनुसार डाँका गर्नु भन्न सक्नुहुन्छ । लुटपाट गर्नु, अन्याय र अत्याचार गर्नु, श्रम शोषण गर्नु , लुटेर अधिकार खोस्नु आदि आदि जसरी अथ्र्याउन पनि सक्नुुहुन्छ । सम्झनु होस् त । के के हो के के ? एउटा शब्द अनेक अर्थ । तर आदर्श, भविष्य, भयको निबारक किनकि जसका कारण कयौ स्वर्गको द्वार देख्छन्, कोही सडक, गल्ली, कुना र कन्धरामा हाहा हुहु गर्दै, कपडाको धजा देवतालाई उडाउदै, समाज छोडेर घरबार मारेर हिडिरहेका देखिन्छन् । फरक परिचय बोकेर । केहिले काँही पस्रङ्ग कोट्याउँछु । श्रीमती मलाई कोहिनुर भन्नुहुन्छ । म कोहिनुर ? के को कोहिनुर ? जो अमूक प्राणी झैं हिँड्छ बिमुख भई खन्छ आफ्नै खोइरो अनि कसरी कोहिनुर ? आत्मासमीक्षा गर्छु । खै के इच्छा ? कस्तो निरस यो दिल ? आफैंलाई आफैँदेखि लाग्छ डर । थकित हुँदै टन्टलापुर घामसमेत पल्टिन्छु बिस्तरामा । निकै गर्मी, पसिनाले निथ्रुक्क हुन्छु । एसी जडान भएको कोठा पनि लाग्छ निकै गरम । वाक्क हुन्छु । नियालेर हेर्छु समाजलाई जहाँ पनि लुट छ । गुट् छ । घात छ । अपमान, तिरष्कार छ कति हो कति । मन निदाउन सक्दैन । सिथिल तनलाई निदाएको भन्ने त होला ? कहिलेकाहीँ निन्द्रामै बरबराउँछु । सबै सपना जस्तो लाग्छ जीवन र संसार पनि । बाच्नै कठिन बनाउँछ लुटतन्त्रले । फेरि सोच्छु, लुटतन्त्र र झुटतन्त्रको साइनो के होला ? कसरी जन्मिएका होलान् यिनीहरू ?
मन न हो, जति बुझाए नि बुझ्दैन । अचम्म लाग्छ कहिलेकाहीँ । सबै छ तर केही छैन । चारैतिर अधुरै अधुरो अपुरै अपुरो । आफैंले आफैलाई प्रश्न गर्छु । कहिले मनले मनलाई सम्झाउँछु । कहिले मनले मनलाई थर्काउँछु । फेरि मनले मनलाई सम्झाउँछ । तर प्रश्न सकिदैन मनबाट । अनि भन्छ मनले मनलाई । दुनियाले दुनिया ठगे । ठग्नेहरूको आसन छ अग्लो । शासन छ दहे । के म ठग्न जन्मेको होइन ? मैले धेरै पढ़ें, वेद पढ़ें, कुरान पढ़ें, पढ़ें बाइबल अरू पनि । मैले पढेको किताबले के सिकायो ? चाप्लुसी गर्न सिकायो ? घुषखोरी सिकायो ? भ्रष्टाचार गर्न सिकायो ? लुट्न सिकायो ? मैले ठग्न जानें । ढाँट्ने चतुर खेलाडी भएँ । कतिको घरबार बिगारें । कतिको खेतबारी बेचाएँ । गरिब त देख्नै नहुने मलाई । उसँग भएको सारा खुसी लुट्नै पर्ने । खुसी मात्रले भान्सा नचलेपछि मैले फेरि किताब पल्टाएँ । र सिकेँ र ठग्न, ढाँट्न पनि । लुट्न सिके पछि म नजरमा परेँ धेरैको । विद्धान म नै भएँ । समाजसेवी म नै कहलिएँ । सानो तिनो न्यायधिष त मलाइ नै मान्यो समाजले । जोस, होस आयो, लुटें कसैको वर्षों वर्षको कमाई । मलेसियाको पसिना लुटें । साउदी अरबको नुनिलो मिसिएको पैसा लुटेँ । कसैको निद लुटे । कसैको इमानजमान लुटें । खै के लुटें, केके लुटें । कसैको इज्जत लुटें । कसैको मान लुटें, कसैको सान लुटें । म आफू लुटुवा भएपछि विधि पुर्याएरै लुटें । प्रशासन किनेर पनि लुटेँ । कसैको मन जितेर लुटेँ । कसैलाई थर्काएर लुटेँ । छिमेकीलाई रिझाएर नि लुटें । नरिझाएर नि लुटें । चिनेर पनि लुटें । नचिनेर पनि लुटें । आखिर लुट्न त लुटेँ । एउटा मन मिल्दो साथी थियो ऊ अति विश्वास गथ्र्यो । साथीलाई मिलेर काम काम गरौँ भनेँ । धेरै बलजफ्ती गरेर व्यवसाय ग¥र्यौं । व्यापार घाटामा देखाएँ, षड्यन्त्र गरेँ, गाली गरेँ । थर्काएँ, फकाएँ, आखिर लुटेरै छाडेँ । मैले जानेकै त्यही थियो । घर बेच्न लगाएँ । खेत बेच्न लगाएँ । चर्को ऋणमा डुबाएँ । वाक्क बनाएँ । दिक्क लगाए । बेच्न बाध्य बनाएँ सारा सम्पत्ति । मैले सोचेकै त्यही थियो । मैले जानेकै त्यही थियो । घैयाको भाउमा बेचेर गयो । ऋण ति¥यो । नपुगेर जहानपरिवारसहित मुक्लान गएको छ रे । मेरो अनुभवले कति ग¥यो ? मैले सिकेकै यही थियो । मेरो सिकाई सफल भएन र ?
सिकाई सफल भएपछि मैले दया देखाएर रोजगार दिन्छु भनें । तर मानेन । उल्टो मलाई दोष दिन्छ रे । जानेर दोष दिएको हो कि ? मानेर दिएको हो खै ? कानो गोरुलाई औंसी न पुर्णिमा । लुट्नु मेरो कर्म थियो लुटेँ कति हो कति ? अझै थाकेको छैनँ लुट्छु । मलाई लुट्न मेरो दर्शनले सिकायो । मैले पढेका प्रत्येक ग्रन्थका पानाले सिकायो । सम्झनुहोस् वेदले सिकायो । बाइबलले सिकायो । अन्य अन्यले पनि सिकाए । त्यसैले त म चतुर खेलाडी भएँ । मेरी श्रीमती बिरामी पर्दा लुटेकै काम लाग्यो । मेरो छोरो बौलाउँदा राँची लगें । त्यहीं लुटेको काम लाग्यो । छोरीको भव्य बिहे गरेँ । दुनियाँलाई बोलाएँ । विएर, भोड्का के हो के हो ? विदेशी हुस्कीले ढलाइदिएँ दुनियाँलाई । उनीहरूको हैसियत देखाइदिएँ । लुटेको धनको हैसियत देखाइदिएँ । लुटेको पैसाको रङ देखाइदिएँ । खान पाए न देख्ने हुन् दुनियाँ ? पहिले खुवाउने हो अनि मस्त.देखाइदिनने हो दुनियालाई । पुरानो साथी निम्तो स्वीकारेर आको थ्यो रे । हैसियत नपुगेर भागेछ । हैसियत पु¥याउन त लुट्न जान्नु प¥यो नि । अझै देखाउने हो हैसित, प्रयोग गर्ने हो आपूmले आर्जन गरेको अनुभव । हैसियत नभको दाजु आउँछु भन्थ्यो, दिइनँ । एउटा कोट सिलाउन नसक्नेलाई के बोलाउनु ? जोरीपारीले के भन्लान् ? मैले त थर्काएरै न आ भन्दिएँ । आफ्नै दाजु भएर मात्रै हो, जम्मा ५ कट्ठा लुटेको । विचरालाई ! समस्यामा पारेरै लुटेँ । थाहा पाओस् कसरी ? गरिब त लुटाउन जन्मेका हुन् । लुट्नेले दया देखाउनु पनि त हुँदैन । चिल्लो कारमा कालो चस्मा लगाएर लुट्छु । खेत टुक्रा पारेर लुट्छु । बारी, खोला सबै टुक्रा पारेर लुट्छु । गरिबको पसिना लुट्छु । कलाकारको कला श्रमिकको श्रम, युवाको जवानी, आमाको काख, इमान्दारको इमान्दारिता सबै सबै लुट्छु । वैसालु युवतीको फक्रदो बैंस लुटेँ । के के हजारोंै अरू पनि लुटेँ । जुन दिन पाउँदिनँ म लुट्न, झोक्राउँछु । टोलाउँछु । के के न हराए जस्तो । मृगले आफ्नै बिना हराए जस्तो । प्यासी हरिन जस्तो । आकुल व्याकुल पसिनाले निथुक्क भिजे जस्तो । तर म विधि पु¥याएरै लुट्छु । किनकि यो मेरो पेशा हो । पेशाको धर्म हो । मैले पाएको ज्ञान हो । यो म मर्न दिन्नँ । यो प्रत्येक धर्मको सार पनि हो । होइन र ? मैले लिएको संस्कार, वीर सपुतको सपना पूरा गर्नै पर्छ ।
लुट्न नजान्ने पनि के जीवन ? तिमीले के दियौं ? के पायौ ? तिमीलाई हेर्छु । गलल्ल हास्छु । अनि फेरि कस्सिन्छु । कस्तो विडम्बना ? त्यसैले त म महा लुटुवा भएँ । जो लुट्न जाँन्दैन जो इमानदार बन्छ । त्यो के मान्छे ? त्यसले के पढ्यो ? फेरि कोही त पढेकै छैनन् । मेरै काका काकी पनि । के पता गुरुविनाको जीवन । निर्जीव जस्तै ! के थाहा लुट्नुको मजा तिनको जीवन पनि के जीवन ? वाइह्यात, अनि पूरै बेकार ! कसैले मलाई लुट्नबाट रोक्न खोज्यो भने, छेक्न खोज्यो भने, पर्खाल ठड्याएर, घोचो समाएर, चरित्र हत्या गरेर, दुनियाँको नजरमा बेकुफ बनाएर, माटो खुवाएर, मेयर किनेर, सचिब, महासचिब, सिडियो, बडासिडियो, हवल्दार, डेएस्पी, महाडिएस्पी डाक्टर, नेता, चोर, महाचोर सबै किनेर, पैसामा मोलतोल गरेर । हो मैले लुट्छु । कतै सहोदर दाजु बनेर, कसैको भाइ, कसैको मित्र बनेर । कसैको दिदी, भिनाजु, सालासाली, व्यवसायी, उद्योगपति बनेर । कहिले पत्रकार बनेर । कहिले अलपत्रकार बनेर । ढुङ्गा, माटो के के के के ? भन्सारमा बसेर, हिउँ, पानी, हिमाल, पहाड, तराई, उपत्यका जहाँतहीँ । कतै बाहुन, कतै क्षेत्री, कतै राई, लिम्बू, हिन्दू, मुस्लिम आदिआदि । मान्छे एक रूप अनेक बनेर । परिस्थितिलाई चियाएर लुटेँ । बुद्धि लगाएरै लुटेँ । धुलो पर्ने गरी लुटेँ । खरानी उड्नेगरी लुटेँ । सक्दो लुटेँ । के म लुटाहा भएन र ?









प्रतिक्रिया दिनुहोस्