नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आगामी भदौ १ गते निर्वाचन हुने गरी मिति तय भएपछि नेपालगन्जका उद्योगी व्यवसायीहरूबीच चुनावी सरगर्मी छाएको छ । टंक धामीको अध्यक्षतामा रहेको वर्तमान कार्यसमितिले भदौ १ गते नयाँ कार्यसमितिको निर्वाचन हुने गरी मिति घोषणा गरेको हो । शनिबार बसेको संघको कार्यसमिति बैठकले आगामी साउन ३१ गते साधारणसभा र भदौ १ गते निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।
विधानअनुसार वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेपछि निर्वाचन मिति घोषणा गरिएको उनले बताए । निर्वाचन मिति घोषणासँगै नयाँ सदस्यता स्वीकृत नहुने व्यवस्था पनि लागू भएको उनले जानकारी दिए । विधानअनुसार अधिवेशनका लागि कार्यकाल सकिएपछि ६ महिना म्याद थप्न सकिने भए पनि त्यस्तो सुुविधा नलिएर मिति घोषणा गरेको उनले बताएका छन् । महासंघका महासचिव भीम रानाभाटका अनुसार एक साताभित्र सदस्यता नवीकरणका लागि मिति अवधि तोकिएको र पछिल्लो तीन वर्षको कार्यकालमा पाँच सयभन्दा बढी नयाँ सदस्यता थपिएको पनि उनले जानकारी दिए ।
तीन वर्षअघिको निर्वाचनमा चार हजार नौ सय २० जना मतदाता रहेका थिए । संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचनको मिति घोषणापछि निर्वाचनको माहोल बन्न सुरु गरेको छ । हठात् निर्वाचनको मिति घोषणा गरिएको भन्दै असन्तुष्टि जनाएको नेपाली काँग्रेस निटक प्रजातान्त्रिक उद्योग व्यवसायी संघले पनि आफ्नो तर्फबाट अध्यक्षका उम्मेदवार घोषणा गरेको छ । संघले उद्योगी व्यवसायी तथा समाजसेवाको क्षेत्रमा परिचित अनुहार सञ्जय थापालाई अध्यक्षको उम्मेदार बनाउने निर्णय गरेको छ ।
संघको आइतबार बसेको बैठकले थापालाई अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । थापा कम्प्युटर व्यवसायीहरूको संगठन क्यान बाँकेका पूर्वअध्यक्ष समेत हुन् भने उनको सार्वजिक छवि पनि निष्कलंक रहेको छ । चुनाव घोषणाको बैठक बहिष्कार नै गरेको संघले लायन्स क्लबमा पनि आबद्ध रहेर समाजसेवा गर्दै आएका थापालाई अघि सारेर चुनावी अभियानमा होमिएपछि अब समयमै निर्वाचन हुने वातावरण बनेको चर्चा हुन थालेको छ । अध्यक्षको उम्मेदवार टुंगो लगाएको संघले पदाधिकारी र सदस्यको टुंगो भने केही दिनभित्रमा लगाउने जानकारी दिएको छ ।
संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली संघको इतिहासमै तोकिएको समयमै निर्वाचन हुन लागेको बताउँछन् । उनले भनेका छन्, ‘संघको इतिहासमै पहिलोपटक कार्यकाल नथपेर तोकिएकै अवधिभित्र निर्वाचन घोषणा हुनु संस्थागत सुशासन, लोकतान्त्रिक अभ्यास र समयपालनको दृष्टिले एक प्रशंसनीय तथा ऐतिहासिक कदम हो । यसका लागि विशेषगरी संघका अध्यक्ष टंकबहादुर धामीज्यू धन्यवादका पात्र हुनुहुन्छ ।’
पछिल्लो राजनीतिक अंकगणित बदलीसँगै नेपालगन्जको उद्योग वाणिज्य संघको आगामी चुनाव रोचक हुने देखिन्छ । किनकी अहिलेसम्मको परिस्थितिले काँग्रेसबाहेकका सबै राजनीतिक दलसँग आस्था राख्नेहरू एउटै प्यानल बनाएर चुनावमा जाने गरी छलफल भइरहेको छ । समावेशी नाम दिएर बनाइने सबै प्यानलमा काँग्रेस निकट व्यवसायीहरूबाहेक सबै एक ठाउँमा रहने अध्यक्षका अर्का आकांक्षी हालका प्रथम उपाध्यक्ष ओली बताउँछन् ।
उनले उक्त समूहबाट अहिलेसम्म दाबी गर्ने अर्काे व्यक्ति नदेखिएको पनि बताए । ओलीका अनुसार सोमबार समावेशी समूहबाट पनि अध्यक्षको उम्मेदवार घोषणा गर्ने तयारी गरिएको छ । ओलीले आफ्नो दाबेदारीबारे भने, ‘म महासचिव हुँदै अहिले प्रथम उपाध्यक्ष छु । मैले अब दाबी गर्ने पद भनेकै अध्यक्ष मात्रै हो । सम्भवतः सबै साथीहरूले यसमा मलाई सहयोग गर्नुहुनेछ ।’
प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुईतिहाइ सिट जितेपछि अहिले नेपालगन्जका धेरै व्यवसायीहरू रास्वपामा संलग्न भइसकेका छन् । हालका अध्यक्ष धामी त रास्वपाको केन्द्रीय सदस्यमै प्रतिस्पर्धा गरेका व्यक्ति हुन् । ओलीले अहिलेको अवस्थामा पार्टी विशेष नभनेर व्यवसायीहरूको समावेशी टिम बनाउने गरी छलफल अन्तिम चरणमा रहेको बताए ।
उक्त टिममा जुनसुकै विचारधाराको भए पनि व्यावसायिक र नेतृत्व क्षमताको आधारमा उम्मेदवार छनौट गरिने ओलीको दाबी छ । अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्र समर्थित धामी र नेपाली काँग्रेस समर्थित ललितकुमार रौनियारबीच प्रतिस्पर्धा भएको थियो । रौनियारलाई आठ सय ९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका थिए । धामीले दुई हजार चार सय ५६ मत पाउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गरेका थिए । धामीलाई त्यसबखत एमाले, राप्रपा, जसपाले पनि साथ दिएका थिए भने रौनियारलाई एकीकृत समाजवादी र राप्रपा नेपालले साथ दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्