आजदेखि भरी सिलिन्डर ग्यास किन्न पाइने



काठमाडौँ ।

नेपाल आयल निगमले आज (बुधबार)देखि १४.२ केजी भरिएको एलपी ग्यास सिलिन्डर उपभोक्तालाई उपलब्ध गराउने भएकाे छ । निगमले आज (बुधबार)देखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हाे ।

यसअघि निगमले गत २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । यसअघि एलपी ग्यासको आपूर्तिमा आएको असहजताका कारण निगमले अस्थायी रूपमा ७.१ केजी ग्यास मात्र भरेर सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था गरेको थियो । अहिले भने आपूर्ति अवस्था सामान्य बन्दै गएपछि निगमले पुनः १४.२ केजी भरिएको सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको उल्लेख गर्दै निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ । निगमले पर्याप्त आपूर्ति भइरहेकाले बजारमा ग्यासको अभाव नहुने विश्वास व्यक्त गर्दै उपभोक्तालाई अफवाहमा नलाग्न पनि अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार