रेमिट्यान्स आयमा ऐतिहासिक रेकर्ड, ११ महिनामा २१ खर्ब २० अर्ब भित्रियो



काठमाडौँ ।

विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ऐतिहासिक रेकर्ड बनेको छ । चालु आर्थिक वर्षको ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम भित्रिएसँगै हालसम्मकै उच्च रेकर्ड बनेको हो । चालु वर्षको जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो ।  पछिल्लो जेठ महिनामा मात्र विप्रेषण आप्रवाह २ खर्ब ३ अर्ब ८९ करोड भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार