टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैले पाए सफाइ



काठमाडौँ।

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार मुद्दा लागेका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाले नै सफाइ पाएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उक्त मुद्दा लागेका सबैलाई सफाइ दिएको हो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी भन्ने संगिता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीवकुमार केसी, हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराईलगायत १८ जनाले सफाइ पाएका हुन् ।

उनीहरूले नेपाल टेलिकमलाई गैरकानुनी हानिनोक्सानी पु¥याउने वा आफूलाई लाभ पु¥याउने वदनियत काम गरेको पुष्टि नभएको अदालतको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८२ जेठ २५ गते सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले १८ जनाविरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यकोषमा ठूलो नोक्सानी पु¥याएको अख्तियारको आरोप लगाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार