मिसन संवाददाता,नेपालगन्ज
बाँके प्रहरीले डुडुवा गाउँपालिका–४ मा कुटपिटका कारण एक व्यक्ति घाइते भएको घटना र उक्त घटनासँग जोडिएको बलात्कार भएको भनिएको घटनाबारेको अनुसन्धान प्रभावित गर्न अनर्गल प्रचार भइरहेको भन्दै सजग गराएको छ ।
बाँके प्रहरीले सोमबार एक विज्ञप्ति जारी गर्दै पुस १७ गते बिहान करिब २ बजे केही व्यक्तिहरूको समूहले एक जनामाथि कुटपिट गरेको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर घाइते स्थानीय सद्दाम खाँको उद्धार गरेको प्रहरीले जनाएको छ । नेपालगन्जस्थित एक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भारतको लखनउमा लगिएकोमा उपचारकै क्रममा रहेका खाँको अवस्था अहिले पनि गम्भीर रहेको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त घटनासँगै सोही स्थानमा एकजना नाबालिकामाथि बलात्कार भएको विषयमा समेत जानकारी प्राप्त भएपछि प्रहरीले विस्तृत अनुसन्धान र स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया सुरु गरेको जनाएको छ । सामाजिक सञ्जालमा एक नाबालिकामाथि बलात्कार भएपछि खाँमाथि कुटपिट भएको दाबी गर्दै भिडिओहरू प्रशारित भएका छन् ।
प्रहरीले दुवै घटना गम्भीर प्रकृतिका फौजदारी कसुर भएकाले घटनामा संलग्न दोषीहरूको पहिचान र खोजीकार्य तीव्र रूपमा अघि बढाइएको पनि दाबी गरेको छ । बाँके प्रहरीका सूचना अधिकारी डीएसपी दीपक पातलीले जारी गरेको विज्ञप्तिमा घटनालाई राजनीतिक, धार्मिक वा साम्प्रदायिक भावनासँग जोडेर भ्रामक प्रचारप्रसार गर्ने र घटनालाई अतिरन्जित गर्ने कार्यले अनुसन्धानमा अवरोध सिर्जना गर्नुका साथै सामाजिक सद्भाव खल्बलिन सक्नेतर्फ गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।
डीएसपी पातलीले सोमबारसम्म ज्यान मार्ने उद्योगसम्बन्धिको जाहेरी प्रहरीमा परे पनि बलात्कारसम्बन्धिको जाहेरी नपरेको मिसन टुडेलाई जानकारी दिएका छन् । उनले जाहेरी नपरे पनि दुवै घटना फौजदारी कसुुर भएकोले निष्पक्ष र तथ्य प्रमाणको आधारमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई पूर्ण न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको पनि दाबी गरे ।
पातलीले जारी गरेको विज्ञप्तिमा अफवाह फैलाउने, चरित्र हत्या गर्ने वा सामाजिक सद्भाव बिथोल्ने कार्यमा संलग्न पाइएमा जोकसैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्