आजदेखि सुदूरपश्चिमको बजेटमाथि छलफल हुँदै



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत बुधबारका लागि बोलाइएको १५औँ बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । अपराह्न ४ः३० बजे बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गर्दै प्रदेशसभा सचिवालयले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जनाएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार अब सुदूरपश्चिम प्रदेशसभाको १६औँ बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि सामान्य छलफल हुने कार्यसूची तय गरिएको छ । सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेशसभाको सोह्रौँ बैठक मिति २०८३–०३–२५ गते बिहीबार बिहान ११ः०० बजे बस्ने र उक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको व्यहोरा सम्पूर्ण माननीय सदस्यज्यूहरूको जानकारीका लागि अनुरोध छ ।’

बुधबारको बैठकका लागि विस्तृत कार्यसूचीसमेत तयार गरिएको थियो । कार्यसूचीअनुसार आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि संक्षिप्त वक्तव्यसहित बजेट छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम थियो । त्यसपछि प्रदेशसभा सदस्यहरूले बजेटमाथि सामान्य छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ आर्थिक मामिलामन्त्री धामीले दिने कार्यक्रम तय गरिएको थियो । तर बैठक नै स्थगित भएपछि यी सबै कार्यसूची स्वतः प्रभावित भएका छन् ।

प्रदेशसभा सचिवालयले बैठक किन स्थगित गरिएको हो भन्ने विषयमा औपचारिक कारण भने सार्वजनिक गरेको छैन । सूचना टाँस गरेर बैठक स्थगित गरिएको भए पनि त्यसको पृष्ठभूमिबारे कुनै विवरण दिइएको छैन । बजेटमाथि सत्तापक्ष र प्रतिपक्षी दलहरूले असन्तुष्टि व्यक्त गरेकै कारण बजेटमाथिको छलफल अघि बढन सकेको छैन।बिहीबार बस्ने बैठक प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलका लागि अघि बढाइने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले हालै सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानी, पर्यटन तथा रोजगार सिर्जनालाई प्राथमिकतामा राखिएको जनाएको छ । सत्तापक्ष, प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दलले बजेट कार्यान्वयन क्षमता, स्रोत व्यवस्थापन, योजनाको छनोट, क्षेत्रगत सन्तुलन र खर्च गर्ने क्षमताका विषयमा सरकारसँग प्रश्न उठाउने सम्भावना रहेको छ । विशेषगरी विगतका आर्थिक वर्षहरूमा प्रदेश सरकारले पूँजीगत बजेट खर्च गर्न नसकेको, धेरै योजना अधुरै रहेको तथा बजेट कार्यान्वयन कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ ।

त्यसैले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा कार्यान्वयन पक्ष प्रमुख बहसको विषय बन्ने अनुमान गरिएको छ । प्रदेशसभाको नियमावलीअनुसार सामान्य छलफल सम्पन्न भएपछि मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल हुनेछ । त्यसक्रममा प्रदेशसभा सदस्यहरूले विभिन्न मन्त्रालयको बजेट, कार्यक्रम र योजनामाथि सुझाव तथा टिप्पणी राख्नेछन् । आवश्यकताअनुसार खर्च कटौतीका प्रस्ताव वा अन्य संसदीय प्रक्रिया पनि अघि बढ्न सक्ने व्यवस्था रहेको छ ।

छलफलपछि सम्बन्धित मन्त्रीहरूले प्रदेशसभा सदस्यका प्रश्नको जवाफ दिनेछन् र अन्तिम चरणमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । बजेट कार्यान्वयनका लागि आवश्यक वित्तीय अनुशासन, समयमै ठेक्का प्रक्रिया, कर्मचारी व्यवस्थापन र अन्तरसरकारी समन्वय प्रभावकारी हुनुपर्ने चुनौती भने यथावत् छ । विगतमा असार महिनाको अन्त्यतिर मात्रै ठूलो परिमाणमा बजेट खर्च गर्ने प्रवृत्ति दोहोरिँदै आएकाले आगामी वर्षमा त्यसमा सुधार हुन्छ कि हुँदैन भन्ने विषयमा पनि सांसदहरूको चासो रहने देखिन्छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले प्रदेशको समग्र आर्थिक विकास, पूर्वाधार निर्माण, सामाजिक क्षेत्रको सुधार तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा कति योगदान पु¥याउन सक्छ भन्ने विषय अब प्रदेश सभाको बहस र त्यसपछिको कार्यान्वयनबाट स्पष्ट हुने देखिएको छ । अहिलेका लागि भने प्रदेशसभाको १५औँ बैठक स्थगित भएसँगै बजेटमाथिको औपचारिक संसदीय छलफल एक दिन पछि सरेको छ र सबैको ध्यान अब बिहीबार बिहान बस्ने १६औँ बैठकतर्फ केन्द्रित भएको छ ।

बजेट विवादबारे मुख्यमन्त्री शाह र महामन्त्री पौडेलबीच छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलबीच बुधबार धनगढीस्थित मुख्यमन्त्री निवासमा भेटवार्ता भएको छ । भेटका क्रममा समसामयिक राजनीतिक अवस्था तथा प्रदेश सरकारले सार्वजनिक गरेको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्र उत्पन्न विवादका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै केही प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाएपछि देखिएको विवादलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह र महामन्त्री पौडेलबीच विशेष छलफल भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर गठबन्धनभित्र देखिएको मतभेदबारे वस्तुस्थिति बुझ्न बुधबार बिहान नेपाली काँग्रेसबाट महामन्त्री पौडेल र र नेकपा एमालेका नेता डा पुष्प कँडेल धनगढी आएका हुन् ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका नेता डाक्टर पुष्प कँडेलले आ–आफ्नो दलका प्रदेशस्तरीय नेता तथा प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । उनीहरूले बजेट विवादको अवस्था, असन्तुष्टिका कारण तथा निकासका सम्भावित उपायबारे जानकारी लिइरहेको जनाइएको छ ।
प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्र देखिएको विवाद समाधानका लागि केन्द्रस्तरबाट समेत सक्रिय पहल सुरु भएपछि आगामी दिनमा राजनीतिक सहमति जुट्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार