काराकास ।
जुन २४ को साँझ होजे गार्सिया आफ्नी पत्नी र दुई साना छोराहरूसँग घरमै थिए। उनीहरूको अपार्टमेन्ट ला गुएराको समुद्री उपनगर काराबालेडामा रहेको ११ तले ‘रिटासोल प्यालेस’को दोस्रो तलामा थियो। सिसा र कंक्रिटले बनेको उक्त अग्लो भवनबाट सुन्दर समुद्री तट देखिन्थ्यो। तर एकैछिनमा सबै भताभुङ्ग भयो। स्थानीय समय अनुसार साँझ करिब ६:०४ बजे समुद्री तटमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो। केही सेकेन्डमै अर्को शक्तिशाली धक्का महसुस भयो। सम्पूर्ण भवन ढल्यो।
होजे गार्सियाले आफूलाई दोस्रो तलामा नभई त्यही भवनको बेसमेन्टमा पुरिएको अवस्थामा पाए। उनको छेउमै ७ वर्षीय डिएगो र १२ वर्षीय सान्टियागो पनि च्यापिएका थिए। ४६ वर्षीय कार मेकानिक होजेले भने, ‘यसरी फस्नुभन्दा नराम्रो कुरा कसैको जीवनमा हुनै सक्दैन।’तर एक शताब्दीयताकै भेनेजुएलाको सबैभन्दा विनाशकारी भूकम्पबाट उनीहरूलाई बचाउन एक अप्रत्याशित उद्धारकर्ता आइपुगे।चस्मा लगाएका र चिटिक्क दारी काटेका हृष्टपुष्ट २६ वर्षीय जेसस गार्सियातर्फ इसारा गर्दै होजेले आँसु झार्दै भने, ‘यहाँ उभिएका यी मेरा जेठा छोरा हुन्।
मलाई उद्धार गर्ने नायकहरूमध्ये उनी पनि एक हुन्।’जेसस ला गुएराका स्थानीय अग्नि नियन्त्रक थिए। उनले भूकम्प जानुअघि नै उक्त जागिर छाडिसकेका थिए। उनका एक पूर्व सहकर्मी तथा पारिवारिक साथीले जेससको हेल्मेट र ज्याकेट सुरक्षित राखिदिएका थिए। भूकम्प गएको रात ती सामानहरू निकै काम लागे। भत्किएको अपार्टमेन्टतर्फ दौडिँदै गर्दा जेससलाई आफ्नो परिवारको अवस्थाबारे कुनै जानकारी थिएन। उनीहरू जीवित छन् वा छैनन् भन्ने यकिन थिएन।
आइतबारसम्म ३ हजार ३ सय ४२ भन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ। मृतकको संख्या अझै बढ्ने अनुमान छ। भग्नावशेषभित्र अझै शवहरू पुरिएका छन्।जेसस रिटासोल प्यालेस पुग्दा त्यहाँ उनले आफ्ना साथी अग्नि नियन्त्रकलाई भेटे। उनको परिवार बस्ने अपार्टमेन्टको नामोनिसान थिएन। त्यहाँ कंक्रिटका टुक्राहरू र बाङ्गिएका फलामे डन्डीहरू मात्र देखिन्थे। सोफा, काठका फर्निचर र भत्किएका पर्खालका भग्नावशेषहरू पौडी पोखरीमा खसेका थिए।
जेससले अल जजीरासँग भने, ‘म त्यहाँ पुग्नेबित्तिकै साथीले मलाई भने, ‘साथी, तिम्रो बुवा जीवित हुनुहुन्छ। उहाँ तल बच्चाहरूसँगै हुनुहुन्छ।’ सुरुमा त जेससलाई पत्यार लागेन। पछि भग्नावशेषबाट बुवाले ‘मलाई यहाँ नछोड’ भनेर कराइरहेको उनले सुने। जेससले सम्झिए, ‘मैले भनेँ, ‘ममाथि विश्वास गर्नुस्, नआत्तिनुस्। त्यहाँ भाइबहिनीलाई पनि सम्झाउनुस्। म तपाईंलाई नलिई यहाँबाट जान्नँ।’ होजे त्यतिबेलासम्म एक घण्टाभन्दा बढी समयदेखि च्यापिएका थिए।
आफ्नो अवस्थाबारे उनी आफैँ अनभिज्ञ थिए। उनी र दुई साना छोराहरू सामान्य घाइते भएर बाँच्न त सफल भएका थिए तर खतरा टरेको थिएन। भग्नावशेष खसेर उनीहरूलाई थिच्ने डर अझै थियो। छातीमा हात राख्दै होजेले सम्झिए, ‘मैले सबैभन्दा पहिले आफ्ना बच्चाहरू सम्झिएँ। सानो छोरा मेरै छेउमा थियो। अर्को छोरा पनि म सँगै थियो तर ऊ पुरिएको थियो। मैले उसको अनुहार देख्न सकिनँ, एउटा खुट्टा र एउटा हात मात्र देखेको थिएँ।’
तैपनि होजेले छोराहरूका लागि हिम्मत हारेनन्। त्यत्तिकैमा भग्नावशेषबाहिरबाट परिचित आवाज सुनियो। त्यो आवाज जेससका साथी अर्थात् तिनै अग्नि नियन्त्रकको थियो। उनी जीवित व्यक्तिहरूको खोजी गर्दै कराइरहेका थिए। उनले जेससका पुराना उपकरण पनि त्यहाँ ल्याइदिएका थिए।
बुवा र भाइहरू जीवितै रहेको थाहा पाएपछि जेससले उनीहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास सुरु गरे। उनीहरूबीच रहेको भग्नावशेष छेड्न ड्रिलिङ मेसिन आवश्यक थियो। त्यसका लागि भोलिपल्ट बिहान घाम नलागुञ्जेलसम्म कुर्नुपर्ने अवस्था आयो। अन्ततः भोलिपल्ट बिहान प्रहरीको एक विशेषज्ञ टोली उद्धारका लागि आवश्यक उपकरणसहित आइपुग्यो।

आफ्ना पूर्व सहकर्मीलाई सघाउन आएका ला गुएराका अग्नि नियन्त्रक टोलीको सहयोगमा जेससले बुवा र दुई भाइलाई भग्नावशेषबाट बाहिर निकाले। जुन २५ को दिउँसो करिब साढे ३ बजे, अर्थात् भूकम्प गएको २० घण्टाभन्दा बढी समयपछि उनीहरूको उद्धार भयो। उनले तत्कालै डिएगो र सान्टियागोलाई अंगालो हाले। जेससले सम्झिए, ‘उनीहरूलाई देख्नेबित्तिकै मैले अंगालो मारेँ, म्वाइँ खाएँ र ‘म तिमीहरूलाई माया गर्छु भाइ’ भनेँ। त्यसपछि म एकछिन पर गएर रुन थालेँ।’
होजे यो घटनाबाट अझै त्रसित छन्। यसले उनको जीवन सधैंका लागि बदलिदिएको छ। उनले भने, ‘मलाई यो नयाँ जीवन मिल्यो। म मात्र होइन, मेरा दुई साना छोराहरूले पनि जीवनदान पाए। म जीवनभर यसप्रति आभारी रहनेछु।’ यो चमत्कारिक उद्धारका बाबजुद होजेकी पत्नी अझै भग्नावशेषमुनि थिचिएकी छिन्। ११ दिन बितिसक्दा पनि पत्नीलाई जीवितै भेटिनेमा होजे आशावादी छन्।
उनले भने, ‘मलाई विश्वास छ। जसरी म आफ्ना छोराहरूसँगै बाहिर निस्किन सक्छु र मेरो उद्धार हुनेछ भन्ने विश्वास थियो, त्यसैगरी मैले अझै आशा मारेको छैन।’ लगातार गएका दुई भूकम्पले जीवन अस्तव्यस्त भएका अनगिन्ती भेनेजुएलाली नागरिकमध्ये होजे एक हुन्। यो दुई दशकयताकै भेनेजुएलाको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो।

रिटासोल प्यालेसबाट केही किलोमिटर पर, एन्ड्रेइना रे आफ्नै भत्किएको घरबाहिर सडकमा सुत्छिन्। भेनेजुएलामा रहेकी आफ्नी छोरीको पालनपोषणका लागि उनी कोलम्बियाको कोइला खानीमा भान्सेको काम गर्थिन्। भूकम्प जाँदा उनी त्यहीँ थिइन्।
तर एकैछिनमा उनले सबै कुरा गुमाइन्। उनी हतारहतार सीमा पार गरेर स्वदेश फर्किन्। यहाँ आउँदा उनको परिवार पनि ५० हजारभन्दा बढी बेपत्ता नागरिकको सूचीमा परिसकेको थियो। आफ्नो भत्किएको अपार्टमेन्टतर्फ देखाउँदै रेले भनिन्, ‘मेरी छोरी, नातिनातिना, छोरीकी सासू, ससुरा र देवर सबै जना त्यहीँ फसेका छन्।’
मंगलबार उनकी छोरीको २०औं जन्मदिन थियो। स्थानीय स्वयंसेवकहरूको सहयोगमा उनले केकमा मैनबत्ती बालिन्। त्यसपछि उनी भक्कानिएर रोइन्। रुँदै रेले भनिन्, ‘मैले मेरो सम्पूर्ण परिवार गुमाएँ। अब मेरो लागि यहाँ कोही छैन।’ भेनेजुएला सरकारका अनुसार करिब ८ सय ५६ वटा भवनमा क्षति पुगेको छ र १ सय ९० वटा भवन भत्किएका छन्। भूउपग्रहको तथ्यांक अनुसार क्षतिको विवरण अझै धेरै हुन सक्ने अनुमान छ।
विज्ञहरूका अनुसार भेनेजुएलाका लागि यो संकट अकल्पनीय हो। हजारौं मानिस आफ्नो घर फर्कन सक्ने अवस्थामा छैनन्। राजधानी काराकासमा भूकम्प पीडितहरूको उपचार गरिरहेका मनोचिकित्सक जान कोस्टाले भने, ‘मानिसहरूमा ठूलो अन्योल छ। उनीहरूको भविष्य अनिश्चित छ।’ विपत्तिपछिको पीडा र अनिश्चिततालाई सरकारको असक्षमताले अझ बढाएको डाक्टर कोस्टा बताउँछन्। धेरै भेनेजुएलाली नागरिक पनि यही मान्छन्।
विपत्तिको समयमा ढिलो उद्धार गरेको र कतिपय अवस्थामा राहत वितरणमा अवरोध पुर्याएको भन्दै आलोचकहरूले सरकारको विरोध गरेका छन्। कोस्टाले भने, ‘संकटको बेला सरकारको उपस्थिति नहुनु र कुनै प्रतिक्रिया नआउनुले मानिसहरूलाई साँच्चै निराश बनाएको छ।’ यता भत्किएको रिटासोल प्यालेस अगाडि होजे अन्तर्राष्ट्रिय उद्धार टोलीले शव खोजिरहेको हेरेर दिन बिताउँछन्। उनको मनमा भविष्यलाई लिएर अनेक चिन्ता छ। उनले भने, ‘हामीले शून्यबाट सुरु गर्नुपर्नेछ। यसको मूल्य र प्रभाव के हुन्छ हामीलाई थाहा छैन। हामी साँच्चै अनभिज्ञ छौं।’ –एजेन्सी









प्रतिक्रिया दिनुहोस्