बाँकेका सात पालिकाको बजेट पारित हुन बाँकी



कोहलपुर (बाँके) ।

आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम र बजेट गाउँ÷नगरसभामा प्रस्तुत गरेका बाँकेका स्थानीय तहले अझै बजेट पारित गरेका छैनन् । जिल्लामा रहेका एक उपमहानगर, एक नगरपालिका र ६ वटा गाउँपालिकाले अmझै बजेट पारित गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सोहीअनुसार बाँकेका अधिकांश स्थानीय तहले असार १० गते नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका थिए । बजेट सभामा पेस गरेको दुई साता पुग्नै लाग्दा हालसम्म सात वटा स्थानीय तहको बजेट पारित भएको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सभामा प्रस्तुत बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको रहेको छ । सोहीअनुसार बाँकेका स्थानीय तहले असार मसान्तभित्र बजेट पारित गर्ने तयारी गरेका छन् ।

असार १० मै नीति तथा कार्यक्रम पास गरिसकेको जिल्लाको एकमात्र नेपालगन्ज उपमहानगरपालिकाले पनि अझै आगामी आर्थिक वर्षको बजेट पारित गरेको छैन । नगरप्रमुख प्रसान्त विष्टका अनुसार नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्नका लागि असार २७ गते नगरसभा बोलाइएको छ । उनले भने, ‘नीति तथा कार्यक्रम पास भइसकेको छ । बजेट पारित गर्नको लागि नगरसभा बोलाएका छौँ । बजेटमाथि व्यापक छलफल हुन्छ । त्यसपछि संशोधनसहित पास हुन्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि कूल एक अर्ब ७६ करोड ६४ लाख ८३ हजारको बजेट सभामा पेस गरेको छ । यसैगरी जिल्लाको एकमात्र कोहलपुर नगरपालिकाले पनि बजेट पारित गर्नका लागि असार २६ गते नगरसभाको बैठक आह्वान गरिसकेको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्य भन्छन्, ‘नीति तथा कार्यक्रम पास भइसकेको छ । बजेट सभाका सदस्यहरूलाई अध्ययनको लागि दिइएको छ । सभा आह्वान भइसकेको छ । सदस्यहरूले आफ्ना धारणा राख्नुहुन्छ । त्यसपछि बजेट पारित हुन्छ ।’

कोहलपुर नगरपालिकाले कूल एक अर्ब सात करोड ५१ लाख रूपैयाँँको बजेट सभामा प्रस्तुत गरेको छ । असार ९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । बैजनाथ गाउँपालिकाले असार १० गते २०औँ गाउँसभामा नीति तथा कार्यक्रम पारित गर्दै बजेट प्रस्तुत गरिससकेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत तप्तराज आचार्यले बजेट पारित गर्ने उद्देश्यले असार ३० गते गाउँसभा आह्वान गरिएको जानकारी दिए ।

आर्थिक वर्ष २०८३–०८४ का लागि बैजनाथ गाउँपालिकाले ८१ करोड ७१ लाख ४० हजार बजेट प्रस्तुत गरेको छ । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले नीति तथा कार्यक्रम पास भइसकेको र बजेट पारित नभएको बताए । १९औँ गाउँसभामा ७८ करोड २७ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको गाउँपालिकाले बजेट पारितको अर्को गाउँसभाको बैठक आह्वान गर्ने तयारी गरिरहेको छ । असार २८ गते गाउँसभा आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले मिसन टुडे दैनिकलाई जानकारी दिए ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत भइसकेको र बजेट पारित कहिले गर्ने भन्ने यकिन भइनसकेको बताए । आर्थिक वर्ष २०८३–०८४ का लागि जानकी गाउँपालिकाले कूल ६९ करोड ५६ लाख २९ हजारको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । यस्तै डुडुवा गाउँपालिकाको कूल बजेट ५६ करोड ८० लाख बजेट रहेको छ । राप्ती सोनारी गाउँपालिकाको पनि नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले असार १० गते गाउँसभामा प्रस्तुत बजेट सभाका सदस्यहरूलाई अध्ययनको लागि दिइएको बताए । उनका अनुसार बजेट पारित गर्ने उद्देश्यले असार २७ गते गाउँसभाको बैठक आह्वान गर्ने तयारी भइरहेको छ । यता बाँके जिल्लामै पहिलो पटक असार ४ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको नरैनापुर गाउँपालिकाले असार १० गते गाउँसभामार्फत बहुमतले बजेट पारित गरिसकेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार