भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल



काठमाडौँ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न  सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिइन्  ।

उनले भनिन्, ‘सरकारले बर्दियाबाट लालपुर्जा दिन थालनी गरिसकेको छ । यस काममा बजेटको अभाव हुँदैन ।’ मन्त्री रावलले वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको सदनलाई अवगत गराइन् ।

उनका अनुसार हालसम्म करिब १२ लाख भूमिहीन र सुकुम्बासीको जग्गा प्राप्तिका लागि निवेदन  परेको छ । यसका लागि ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । सुशासन र परादर्शितालाई महत्त्व दिँदै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै ‘डिजिटल’ रूपान्तरणसँग जोडेर काम गरिरहेको जानकारी गराउँदै उनले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बतायन् ।

मन्त्री रावलले ट्रेड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गर्दै सङ्घीय निजामती ऐन जारी भए पछि प्रशासनिक सङ्घीयता प्रभावकारी हुने बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार