नेपालगन्ज ।
यस वर्ष मनसुनजन्य विपद्बाट लुम्बिनी प्रदेशका ११ हजार ८ सय ४ घरधुरीका ५१ हजार पाँच सय २६ जना नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ का अनुसार प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिए पनि लुम्बिनीका जिल्लाहरूमा बाढी, पहिरो आदि विपद्बाट प्रभावित हुने सर्वसाधारणको सङ्ख्या भने उच्च रहने आंकलन गरिएको छ ।
योजनाको अनुमानित तथ्यांकका अनुसार यस वर्षको मनसुनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमध्ये सबैभन्दा बढी दाङ जिल्लाका नागरिकहरू प्रभावित हुने अनुमान छ भने रूकुम पूर्वमा सबैभन्दा कम असर पर्ने अनुमान छ । दाङ जिल्लामा ७ हजार ७ सय ७१ जना प्रभावित हुँदा, रुपन्देही जिल्लामा ६ हजार ९ सय ७८, बाँकेमा ६ हजार ५ सय ८८, बर्दियामा ५ हजार ७ सय ७ र नवलपरासी पश्चिममा ५ हजार ५ सय ५२ जना प्रभावित हुने अनुमान छ ।
यसैगरी कपिलवस्तु जिल्लामा ५ हजार २ सय ८१, प्युठान जिल्लामा ४ हजार ५ सय ९४, पाल्पामा ३ हजार ३ सय १, गुल्मीमा २ हजार ४ सय ११ जना प्रभावित हुने अनुमान छ । अनुमानअनुसार रोल्पा जिल्लामा १ हजार ४ सय ८० जना, अर्घाखाँचीमा १ हजार ३ सय ५६ र रूकुम पूर्वमा २०६ जना प्रभावित हुने आंकलन गरिएको । लुम्बिनी प्रदेशको भैरहवा र नेपालगन्जमा आपत्कालीन गोदामघर रहेका छन् भने त्यहाँ विभिन्न उद्धार सामग्रीहरू राखिएका छन् ।
प्रदेशका विभिन्न जिल्लामा १३ हजार दुई सय ६ मेट्रिकटन खाद्यान्न मौज्दात रहेको कार्ययोजनामा उल्लेख छ । प्रदेशमा रहेको नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वार्टर र प्रहरीसँग पनि विपद्मा प्रयोग हुने सामग्रीहरू रहेका छन् । यसैगरी, लुम्बिनी प्रदेशमा उद्धार तालिमप्राप्त तथा पौडिन जान्ने ६ सय ९२ जना प्रहरीहरू रहेका पनि उक्त योजनामा उल्लेख छ ।
यसैगरी प्रदेशको बाँके जिल्लामा रहेको सशस्त्र प्रहरीको ४२ नम्बर रिजर्भ गण शमशेरगन्जमा ११ जना गोताखोरहरू पनि रहेका छन् । यसैगरी, सरकारले देशभर उद्धारकार्यमा खटाउनका लागि १२ वटा हेलिकप्टरहरू तयारी अवस्थामा राखेको जनाएको छ । यसैगरी सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशका ७ स्थानमा मनसुन अस्थायी प्रतिकार्य बेसहरू पनि स्थापना गरेको छ ।









प्रतिक्रिया दिनुहोस्