बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान



काठमाडौँ । 

सरकारले बालश्रम निवारण र श्रम मर्यादाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने स्थानीय तह तथा औद्योगिक प्रतिष्ठानहरूलाई एक विशेष समारोहबिच सम्मान गरेको छ ।युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रममा  बालश्रममुक्त मापदण्ड पूरा गर्ने १३ वटा स्थानीय तह लाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले कार्यक्रममा भने, ुजब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ ।ुकार्यक्रममा आफ्ना भूगोललाई बालश्रममुक्त बनाउने यी १३ स्थानीय तहको प्रशंसा गर्दै गर्दै अन्य स्थानीय तहले छिटोभन्दा छिटो पालना गर्नुपर्ने उनले बताए ।

यस कार्यका लागि सरकारले स्थानीय तहलाई प्रोत्साहन स्वरूप ३ लाख र घोषणापश्चात् थप २ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । यसै गरी, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ वटा औद्योगिक प्रतिष्ठान हरूलाई पनि सम्मान गरेको छ । २२ वटा सूचकहरूको आधारमा छनोट गरिएका ती प्रतिष्ठानहरूमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौँडाको एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट र सुनसरीको मैनावती स्टिल इन्डस्ट्रिज रहेका छन् ।

आवेदन नपरेका कारण कर्णाली प्रदेशबाट भने कुनै पनि प्रतिष्ठान छनोट हुन सकेनन् । यसै अवसरमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरी अर्थतन्त्रमा योगदान पुऱ्याउने ७ जना उद्यमीहरूलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ बाट सम्मान गरिएको छ । ७१ आवेदकमध्ये रोजगारी सिर्जना, पुँजी लगानी र स्थानीय स्रोतको प्रयोग जस्ता सूचकका आधारमा उनीहरूलाई छनोट गरिएको हो । छनोट भएका मध्ये उत्कृष्टलाई एकलाख ५० हजार र अन्यलाई ७५­र७५ हजार पुरस्कार राशि प्रदान गरिएको छ ।

वैदेशिक रोजगारीमा गई सीप सिकेर फर्केर रोजगारी सिर्जना गरेकाहरूलाई सम्मान गर्दै मन्त्री यादवले भने, हामी ती वैदेशिक रोजगारीबाट फर्किएर उद्यम सुरु गरेकाहरूलाई सम्मान गर्दछौँ, जो रोजगारी खोज्दै विदेश जानुभयो र स्वदेश फर्किएर रोजगारी सिर्जना गर्ने उद्यमी बन्नुभयो ।ु

  • No tags available
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार