बाजुरा ।
बाजुराको बुढीनन्दा नगरपालिका–२ दानसाँघु खोेलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ । लामो समयदेखि बडिमालिका नगरपालिकाको बुढीगंगा नदीमा थन्किएको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरेर जडान गरेसँगै सञ्चालनमा आएको हो । बडीमालिका नगरपालिका ६ जडाङ्गास्थित बुढीगंगा नदीमा रहेको उक्त बेलिब्रिज तीन महिनामै दानसाँघु खोलामा निर्माण गरेर सञ्चालनमा आएको प्रदिपराज जैशीले बताए ।
दानसाँघु खोलामा पुल नहुँदा समस्या भोग्दै आएका स्थानीयलाई बेलिब्रिज सञ्चालनमा आएसँगै बर्खायाममा आवतजावत गर्न सहजता भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले बताए । नगरप्रमुख बोहराले उक्त खोलामा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय तहका साथै हुम्ला र मुगुलगायत छिमेकी जिल्लाका नागरिकहरूलाई समेत यातायातमा सहजता भएको बताए ।
उक्त बेलिब्रिज करिब २ करोड बढीको लागतमा जडाङ्गाबाट मार्तडी कोल्टी सडकअन्तर्गत दानसाँघु खोलामा सारिएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ। बेलिब्रिज निर्माण कार्यको ठेक्का डिएस जनकल्याण जेभि काभ्रेले पाएको थियो । चालू आर्थिक वर्षको असार मसान्तभित्र निर्माण कार्य सक्ने गरी भ्याटबाहेक २ करोड १ लाख १० हजार ८ सय १४ रूपैयाँँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो ।
उक्त निर्माण कम्पनीले बुढीगंगा नदीमा रहेको उक्त बेलिब्रिज सारेर दानसाँघु खोलामा २०८३ जेठ मसान्तभित्रै काम सकेर सञ्चालनमा आएको हो । जडाङ्गास्थित बुढीगंगा नदीमा पक्की पुल बनेपछि वर्षौसम्म उक्त बेलिब्रिज प्रयोगविहीन बनेको थियो । स्थानीयवासीले लामो समयदेखि दानसाँघु खोलामा सहज रूपमा आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै पुल निर्माण गर्न माग गर्दै आएका थिए । सोही खोलामा पक्की पुलसमेत निर्माणाधीन अवस्थामा रहेको छ ।
यसअघि उक्त खोलामा पुल नहुँदा बर्षातमा पानीको बहाव बढेर पूर्ण रूपमा यातायात सेवा अवरुद्ध हुने गरेको थियो भने त्यस क्षेत्रका नागरिकहरूले आवतजावतमा समेत सास्ती भोग्दै आएका थिए । अब भने उक्त खोलामा बेलिब्रिज निर्माण भएसँगै सहज रूपमा यातायात सेवा सञ्चालन भइरहेको यातायात व्यवसायीहरू बताउँछन् । यसअघि पुल नहुँदा बर्षामा यातायात बन्द हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै बर्षातको समयमा पनि अब सहज रूपमा यातायात सञ्चालनसँगै आवतजावतमा निकै सहजता भएको स्थानीयहरूले बताएका छन् ।
बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तह बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका जाने लाइफलाइनका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डका विभिन्न खोलामा हालसम्म पनि पुल नहुँदा यातायातमा समस्या रहदैँ आएको छ । सदरमुकाम मार्तडीनजिकै रहेको अनाई खोला र कोल्टीको दानसाँघु खोलामा पुल निर्माण भएर सञ्चालन भए पनि बडीमालिकाको बाउली खोलामा वर्षौँ बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र अवस्थामा छ भने रजातोली खोलामा हाल पुल निर्माणाधीन छ ।
ती खोलामा पुल नहुँदा बर्षातमा करिब तीन महिना मार्तडी कोल्टी सडक अवरुद्ध हुँदै आएको छ । हाल दानसाँघु र अनाई खोलामा पुल निर्माण सम्पन्न भएको तथा बाउली र रजातोली खोलामा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न भएपछि बाह्रैमास सडकखण्ड सुचारु हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्