कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाले आज १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि थारू समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत नेतृत्व प्रणालीले कानुनी कैसियत प्राप्त गरेको हो ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीका अनुसार कार्यविधि पारित भएसँगै भलमन्सा–बडघर प्रणालीलाई संरक्षण, प्रवद्र्धन र व्यवस्थित सञ्चालन गर्न कानुनी आधार तयार भएको छ । राना थारू समुदायको स्थानीय संस्कृति, परम्परा र सामाजिक व्यवस्थापनको अभ्यासलाई सम्मान गर्दै नगरपालिकाले ऐतिहासिक निर्णय गरेको नगरप्रमुख बोगटीले जानकारी दिए ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम चौधरी थारू समुदायले लामो समयदेखि उठाउँदै आएको मागलाई नगरपालिकाले सम्बोधन गरेको बताए । ‘थारू समुदायको पहिचान, संस्कृति र परम्परागत बडघर–भलमन्साको चलनको संरक्षणका लागि यो एकदमै स्वागतयोग्य निर्णय हो,’ चौधरीले भने, ‘लामो समयदेखि हामीले उठाउँदै आएको मागलाई नगरपालिकाले सम्बोधन गरेको छ ।’ थारू समुदायका अगुवा बेद चौधरीले नगरपालिकाको उक्त निर्णयको स्वागत गर्दै कार्यविधि कार्यान्वयनसँगै थारू समुदायको मौलिक परम्परा संरक्षण भएको बताए ।
‘कञ्चनपुरका केही पालिकाहरूमा यो कार्यविधि लागू भइसकेको अवस्था थियो अहिले भीमदत्त नगरपालिकाले पनि कानुनी मान्यता दिएको छ ।’ उनले भने, ‘स्थानीय सरकारबाट कानुनी मान्यता पाएपछि अब बडघर–भलमन्सासम्बन्धी कार्यसम्पादन गर्न थप सहज हुन्छ ।’ कार्यविधिले बडघर तथा भलमन्साको छनोट, अधिकार, जिम्मेवारी, आचारसंहिता तथा सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । स्थानीय तहबाट परम्परागत संस्थालाई कानुनी मान्यता दिने यो निर्णयले थारू समुदायको पहिचान जोगाउनाका साथै परम्परागत नेतृत्व प्रणालीलाई स्थानीय शासनसँग जोड्दै सामाजिक सद्भाव र विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्