नेपालगन्ज ।
बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी (ईएनटी)सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक नेपालगन्जको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गरिएको हो ।
नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. आनन्दकुमार झाले सहभागी पत्रकारहरूको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा कानको श्रवण क्षमता (प्योर टोन अडियोमेट्री–पीटीए) परीक्षण समेत गरिएको ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढाले जानकारी दिए । उनका अनुसार परीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
डा. झाले अधिकांश पत्रकाहरुमा कान सफा गर्ने नाममा बारम्बार इयर बड (कटन बड) प्रयोग गर्ने बानीका कारण कानको भित्री छाला सुक्खा हुने समस्या देखिएको बताए । उनले कानको स्वास्थ्य जोगाउन अनावश्यक रूपमा इयर बडको प्रयोग नगर्नसमेत सुझाव दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई व्यावसायिक जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यप्रति पनि सचेत र जिम्मेवार बनाउन महासंघले समय–समयमा विभिन्न स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए ।
यसै अभियानअन्तर्गत यस पटक नाक, कान तथा घाँटी रोगसम्बन्धी विशेष स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको उनले जानकारी दिए । महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार शिविरमा ४० जना पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. आनन्दकुमार झा, ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढा तथा कमल बुढासहितको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको थियो । शिविरका लागि आवश्यक औषधि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालगन्ज इकाई (एनएमएसआरए)ले उपलब्ध गराएको थियो ।









प्रतिक्रिया दिनुहोस्