देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका



बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्याङ्कअनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषणमैत्री घोषणा गरिसकेकाले ती दुइ मध्ये जस्ले पहिला घोषण गर्छ त्यो नै देशको पहिलो पोषणमैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौबेले जानकारी दिए ।बडिगाड गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफलता पाएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

थापाका अनुसार जेठ २८ गते बडिगाड गाउँपालिका–९ दर्लिङलाई पहिलो वडाको रुपमा घोषणा गरिएको र असार ५ गते सम्म सबै वडा घोषणा गरिएको छ । पोषणमैत्री गाउँपालिका निर्माणका लागि आवश्यक ३४ वटै सूचक पूरा भएपछि पोषणमैत्री वडा घोषणा भएको हो ।

बडिगाड गाउँपालिकामा तीन वर्ष यता पोषण सुधारमा थुप्रै काम भएको स्थलगत अनुगमनमा देखिएको र विभिन्न समूह गठनगरी पोषण सचेतना सहित आवश्यक सबै तयारी पूरा उपाध्यक्ष भिमसेन वनले जानकारी दिए ।कार्यविधिले तोकेका ३४ वटै सूचक पूरा भइसकेको जिल्ला स्तरीय अनुगमन समितिले प्रमाणीकरणपश्चातु वडा घोषणा भएको वनको भनाइ छ ।बडिगाड गाउँपालिकामा २०७९÷०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएर वडा–वडामा सहजकर्ता खटाउने, तालिम दिने, करेशावारी, भान्सा, गोठ सुधार संगै रैथाने अन्नबालीको उपयोगमा जोड दिएपछि गाउँपालिका पोषणमैत्री बनेको हो ।

पालिकाभित्रका विद्यालयका विद्यार्थीलाई फाष्टफूड निषेध गरेर सातु, कोदोको हलुवा, खिर, चना र अण्डा लगायतका खाजा खुवाउन थालिएको छ । अहिले विद्यालयमा शुद्ध खानेपानीदेखि तौल गर्न स्वास्थ्यचौकी आएका बालबालिकालाई अण्डा उपहार समेत दिन थालिएको बडिगाड गाउँपालिका–१० स्थित दुर्गममा रहेको दर्लिङ आधारभूत स्वास्थ्य केन्द्रका भीमकुमारी बुढा मगरले जानकारी दिए ।

बडिगाडका सबै विद्यालयमा पत्रु खाना (जङ्क फुड) लैजान रोक लगाइएको छ । विद्यार्थीले घरबाटै ल्याउनुपरेमा पनि पोषणयुक्त खाना मात्र विद्यालयमा ल्याउन पाइने नियम छ । विद्यालयबाहेकको समयमा पनि घर र समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको बडिगाड गाउँपालिका–१ का पोषण सहजकर्ता टीका गिरीले बताए ।

गाउँपालिकाका पोषणमैत्री घोषणा गर्न दसवटै वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको छ । स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचक पूरा भएको कार्यक्रमका संयोजक शेरबहादुर बुढाले बताए ।

गाउँपालिकाभित्र रहेका ६९ टोल पूर्ण सरसफाइ युक्त घोषणा, सबै स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेको उनको भनाइ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले पोषणमैत्री स्थानीय तह घोषणाका लागि ३४ वटा सूचक तय गरेकामा सबै सूचकमा नतिजा हासिल भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार