विचारः नेकपा एमाले रूपान्तरणको प्रश्न



सूर्य ढकाल

कुनै पनि बस्तुको अस्तित्व र विकासका लागि त्यसभित्र एकता र सङ्घर्ष अनिवार्य छ । विसं २००६ सालमा नेपालमा कम्युनिस्ट आन्दोलनको सुरुवात भएको थियो । त्यसयता नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौँ उतारचढाव, विभाजन, पुनर्गठन, संघर्ष र उपलब्धिहरू पार गर्दै वर्तमान अवस्थासम्मको यात्रा तय गरेको छ । यस यात्रामा नेकपा एमालेले राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक न्यायका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै आएको छ । आज पनि लाखौँ संगठित सदस्य र व्यापक जनआधार भएको एमाले नेपालको प्रमुख राजनीतिक शक्तिमध्ये एक हो । तर इतिहासको गौरव मात्र वर्तमान र भविष्यको आधार बन्न सक्दैन । समयसँगै समाज बदलिन्छ, जनताका अपेक्षाहरू बदलिन्छन्, राजनीतिक चुनौतीहरू बदलिन्छन् । त्यसैले पार्टी पनि रूपान्तरण हुनुपर्छ । आज नेकपा एमालेभित्र उठिरहेको रूपान्तरणको प्रश्न केवल संगठनात्मक सुधारको विषय होइन, यो पार्टीको भविष्य, जनविश्वास र राजनीतिक प्रभावकारितासँग जोडिएको विषय हो ।

एमालेमाथि हुने आक्रमणका कारण

एमालेमाथि भित्री र बाहिरी दुवै प्रकारका आक्रमणहरू हुने गरेका छन् । यसको एउटा कारण पार्टीले राष्ट्रिय हितका विषयमा लिएको अडान पनि हो । नेपालको संघीय संरचना निर्माणका क्रममा जातीय आधारमा राज्य पुनर्संरचना गर्ने प्रस्तावको विपक्षमा उभिनु, संविधान जारी भएपछि भएको भारतीय नाकाबन्दीको सामना गर्नु, चीनसँग पारवहन सम्झौता गर्नु, एसपीपी सम्झौताप्रति असहमति जनाउनु, बीआरआईमा सहभागी हुनु, कालापानी–लिपुलेक–लिम्पियाधुरा समेटिएको नयाँ नक्सा प्रकाशन गर्नु, नेपाल र भारतबीचको सम्बन्धलाई समान सार्वभौम राष्ट्रका रूपमा हेर्नु लगायतका विषयले एमालेलाई राष्ट्रियतासँग जोडिएको शक्तिका रूपमा स्थापित गरेका छन् ।
त्यस्तै, दैलेखमा पेट्रोलियम अन्वेषणको काम अघि बढाउनु, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु, नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउन सक्ने कूटनीतिक सक्रियता देखाउनु, राष्ट्रियता लोकतन्त्र र जनवादको पक्षमा निरन्तर उभिएकै कारण पनि एमालेमाथि प्रहार निरन्तर छ । यसको भित्री कारण नेकपा एमालेले नेपालको विकासको र समृद्धिको क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदान पनि हो ।

संगठन एमालेको सबैभन्दा ठूलो शक्ति

एमालेको वास्तविक शक्ति विचार र संगठन हो । देशभर फैलिएको संगठनात्मक सञ्जाल, विभिन्न जनसंगठनहरू, लाखौँ संगठित सदस्य र लामो राजनीतिक अनुभव यसको आधार हुन् । पार्टीले लोकतान्त्रिक प्रतिस्पर्धा, शान्तिपूर्ण राजनीतिक संघर्ष र जनताको बहुदलीय जनवाद (जबज)लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेको छ । हिंसा र ध्वंसभन्दा जनतालाई सचेत, संगठित र सक्रिय बनाउँदै समाज परिवर्तन गर्ने बाटोमा एमाले विश्वास गर्दछ । समाज परिवर्तनका प्रमुख शक्ति श्रमजीवी जनता नै हुन् भन्ने माक्र्सवादी मान्यतालाई आत्मसात् गर्दै एमालेले सामन्तवादका अवशेषहरूको अन्त्य, राष्ट्रिय पूँजीको विकास र जनताको बहुदलीय जनवादको कार्यान्वयनलाई आफ्नो दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ ।

तर किन उठ्यो रूपान्तरणको प्रश्न ?

यति ठूलो संगठन, लामो इतिहास र महत्वपूर्ण उपलब्धि हुँदाहुँदै पनि पछिल्लो निर्वाचनहरूमा एमालेले अपेक्षित परिणाम हासिल गर्न सकेन् । यसले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता उजागर गरेको छ । रूपान्तरणको प्रश्न उठ्नुको मुख्य कारण संगठन कमजोर हुनु होइन, संगठनभित्र देखिएका केही प्रवृत्तिहरू हुन् ।
अत्यधिक केन्द्रीकरण, सीमित समूहमा निर्णय केन्द्रित हुनु, व्यक्तिवादी प्रवृत्तिको वृद्धि, दोहोरो भूमिकाको समस्या, विचारभन्दा व्यक्ति रोज्ने संस्कृति कमिटी प्रणाली कमजोर बन्दै जानु, कार्यकर्ता र नेतृत्वबीच बढ्दो दूरी, जिम्मेवारीभन्दा पदको महत्व बढ्दै जानु, कमरेडी सम्बन्धको स्थानमा मालिक–दासजस्तो व्यवहार देखिनु यी समस्याहरूले संगठनको ऊर्जा, सिर्जनशीलता र कार्यकर्ताको अपनत्वमा असर पार्ने गरेका छन् ।

पार्टीभित्र लोकतन्त्रको विस्तार आवश्यक

कम्युनिस्ट पार्टीको आधार सामूहिक नेतृत्व, सामूहिक निर्णय र सामूहिक उत्तरदायित्व हो । पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो भएन भने संगठन विस्तारै व्यक्तिकेन्द्रित बन्ने जोखिम रहन्छ । त्यसैले रूपान्तरणका लागि केही महत्वपूर्ण सुधारहरू आवश्यक देखिन्छन् । पहिलो, केन्द्रीय नेतृत्व चयन प्रक्रियामा संगठित सदस्यहरूको प्रत्यक्ष सहभागिता बढाउनुपर्छ । केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य चयनमा जिल्लास्थित संगठित सदस्यहरूको प्रत्यक्ष मतदानको व्यवस्था गरिनु लोकतान्त्रिक अभ्यासको नयाँ चरण हुन सक्छ । दोस्रो, एउटै व्यक्तिले एउटै पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्छ । यसले नयाँ पुस्ताको नेतृत्व विकासलाई अवसर दिन्छ । तेस्रो, जुन तहको निर्वाचन वा निर्णय हो, सोही तहको कमिटीलाई निर्णय गर्ने अधिकार दिनुपर्छ । यसले स्थानीय तहसम्म जिम्मेवारी र उत्तरदायित्व बढाउँछ ।

कम्युनिस्ट संस्कृतिको पुनस्र्थापना

रूपान्तरण केवल विधान संशोधनबाट सम्भव हुँदैन । यसको केन्द्रमा राजनीतिक संस्कृतिको सुधार हुनुपर्छ । नेकपा एमाले आज आत्ममूल्यांकनको गम्भीर मोडमा उभिएको छ । यस मूल्यांकनका विषयहरू राजनीतिक, वैचारिक, सांगठनिक, कार्यनीतिक, कार्यशैलीगत तथा सांस्कृतिक पक्षहरूसँग सम्बन्धित छन् । कुनै पनि कम्युनिस्ट पार्टी क्रान्तिको नेतृत्व गर्न सक्षम हुनका लागि राजनीतिक रूपमा मात्र होइन, सांस्कृतिक रूपमा पनि उच्च हुन आवश्यक हुन्छ । कम्युनिस्ट पार्टी निश्चित विचार र दर्शनको जगमा उभिएको हुन्छ । माक्र्सवादी विचारदर्शन नै कम्युनिस्ट पार्टीको वैचारिक आधार हो । जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने तथा परिवर्तन गर्ने नवीन विश्वदृष्टिकोणका रूपमा माक्र्सवादी दर्शन अगाडि आएको हो । कम्युनिस्ट आन्दोलनको मूल ध्येय सबै प्रकारका उत्पीडन, विभेद र शोषणबाट मुक्त समाजको निर्माण गर्नु हो । तर हामी सत्ताकेन्द्रित सोचका कारण आफ्नो मूल ध्येयबाट केही हदसम्म विचलित हुन पुग्यौँ । कम्युनिस्ट आन्दोलनले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई सँगसँगै अगाडि बढाउनुपर्ने थियो, तर त्यसलाई अपेक्षित रूपमा अघि बढाउन सकेनौँ । संस्कृति मूलतः आन्तरिक विश्वास, मूल्य, आचरण र जीवनशैलीको दीर्घकालीन श्रृंखला हो । आजको प्रमुख समस्या भनेको यिनै आन्तरिक विश्वास र मूल्यहरूमा देखिएको स्खलन हो । विचार, व्यवहार र जीवनशैलीबीचको असन्तुलनले सांस्कृतिक संकटलाई गम्भीर बनाएको छ । सांस्कृतिक रूपान्तरण मूलतः आफैँबाट सुरु हुने प्रक्रिया हो । यो केवल नियम, कानुन, निर्देशन वा निर्णयबाट मात्र लागू हुने विषय होइन । व्यक्तिको चेतना, व्यवहार, नैतिकता, अनुशासन र जीवनपद्धतिमा परिवर्तन आउँदा मात्र वास्तविक सांस्कृतिक रूपान्तरण सम्भव हुन्छ । त्यसैले नेकपा एमालेले आफ्नो वैचारिक आधार, राजनीतिक लक्ष्य र सांस्कृतिक आचरणबीचको एकतालाई सुदृढ गर्दै आत्मसमीक्षा, आत्मसुधार र रूपान्तरणको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक छ । एक कम्युनिस्ट पार्टी तथ्य, तर्क, वैज्ञानिक सोच र आलोचनात्मक चेतनामा आधारित हुनुपर्छ । अन्धविश्वास, चाकडी, गुटबन्दी र व्यक्तिपूजाले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँछ ।

कम्युनिस्ट कार्यकर्तामा हुनुपर्ने विशेषताहरू

सिद्धान्त र व्यवहारको तारतम्य मिलाउन सकिएको छैन । कुरा सर्वहारा श्रमजीवीका गर्ने नेतृत्व मध्यम किसान र निम्न पूँजीवादी वर्गका बुद्धिजीवीहरूले गर्दै आएका छन्।
वर्तमान परिस्थितिमा पार्टी जनताको सामु खुला रूपमा उपस्थित छ । पार्टीका प्रत्येक नेता–कार्यकर्ता जनताको निरन्तर निगरानी र मूल्यांकनमा छन् । बहुदलीय व्यवस्थामा जनताको नाममा धेरै राजनीतिक दलहरू स्थापना भएका छन् । सबैले आफूलाई जनताको हितका लागि राजनीति गर्ने शक्ति भनेर प्रस्तुत गरिरहेका छन्, तर जनताले ती सबै दलहरूको व्यवहार, कार्यशैली र परिणामको निरन्तर परीक्षण गरिरहेका छन् । विभिन्न कारणले कुनै निश्चित समयमा कुनै पार्टीप्रति आकर्षित भएका कारण जनता सधैँभरि त्यही पार्टीमा रहिरहन्छन् भन्ने सुनिश्चितता हुँदैन । इतिहासले देखाएको छ कि एक समय एकताबद्ध भएका पार्टीहरू विभाजित भएका छन्, विभाजित भएका कतिपय शक्ति फेरि एकताबद्ध पनि भएका छन् । धेरै नेता तथा कार्यकर्ताहरू उदाएका छन्, कतिपय पतन पनि भएका छन् । यी सबै घटनाक्रम जनताले नजिकबाट नियालिरहेका छन् । त्यसैले जनताको विश्वास प्राप्त गर्नु सामान्य कुरा होइन । त्यसका लागि ठूलो त्याग, तपस्या, समर्पण र बलिदान आवश्यक पर्छ । पार्टीभित्र विकृति, विसंगति, अवसरवाद र नैतिक विचलन बढ्दै गएमा जनतामा निराशा पैदा हुन्छ । यस्तो अवस्थामा मानिसहरू विकृति र विसंगतिले ग्रसित कम्युनिस्ट पार्टीभन्दा बुर्जुवा पार्टी नै तुलनात्मक रूपमा उचित ठान्दै त्यतातिर आकर्षित हुन सक्छन् । त्यसैले कम्युनिस्ट पार्टीले आफ्नो वैचारिक प्रतिबद्धता, नैतिक आचरण, जनमुखी कार्यशैली र संगठनात्मक अनुशासनलाई निरन्तर सुदृढ गर्दै जनविश्वासलाई अझ मजबुत बनाउनुपर्छ । सामूहिक हितलाई व्यक्तिगत हितभन्दा माथि राख्ने, श्रमजीवी वर्गप्रति गहिरो सम्मान राख्ने, सरल र अनुशासित जीवनशैली अपनाउने, जनताका सुख–दुःखसँग जोडिने, त्याग, समर्पण र बलिदानको भावना राख्ने, परिवर्तनप्रति प्रतिबद्ध रहने कार्यकर्तामा जोड दिनुपर्छ । यही संस्कृतिले मात्र संगठनलाई जीवन्त र जनतासँग जोडिएको बनाउँछ ।

नयाँ चेतना र नयाँ विधिको आवश्यकता

२००६ सालदेखि आजसम्म पार्टीले बैठक, अधिवेशन, सदस्यता नवीकरण र संगठन विस्तारका अनेक अभ्यास गरेको छ । तर आजको चुनौती फरक छ । डिजिटल युग, बदलिएको सामाजिक संरचना, युवापुस्ताको सोच, वैदेशिक रोजगार, सहरीकरण र नयाँ राजनीतिक प्रतिस्पर्धाले नयाँ प्रकारको संगठनात्मक सोच माग गरेको छ ।
अधिवेशनदेखि अधिवेशन र निर्वाचनदेखि निर्वाचनसम्म सीमित राजनीतिक गतिविधिले मात्र अब रूपान्तरण सम्भव छैन । पार्टीले विचार निर्माण, नीति अनुसन्धान, प्रविधिको प्रयोग, युवा नेतृत्व विकास, जनतासँग प्रत्यक्ष संवाद र सामाजिक अभियानलाई केन्द्रमा राख्नुपर्छ । राजनीति केवल सत्ता सञ्चालनको माध्यम मात्र होइन, यो समयअनुसार रूपान्तरण हुँदै जाने चेतनाको यात्रा पनि हो । नेतृत्वमा आत्मविश्वास आवश्यक हुन्छ, तर जब आत्मविश्वास अहंकारमा बदलिन्छ तब संवादका ढोका साँघुरा हुन थाल्छन् । पार्टीभित्र रहेका सक्षम, इमान्दार र विचारशील कार्यकर्ताहरू निर्णय प्रक्रियामा पुग्न नसक्दा संगठनको वास्तविक शक्ति ओझेलमा पर्छ । नेकपा एमाले कुनै एक व्यक्तिले बनाएको संगठन होइन । यसलाई हजारौँ ज्ञात–अज्ञात कार्यकर्ताले आफ्नो रगत, पसिना, त्याग र बलिदानबाट निर्माण गरेका हुन् । त्यसैले यसको भविष्य पनि सामूहिक प्रयासबाट मात्रै सुरक्षित हुन सक्छ । आजको रूपान्तरणको प्रश्न नेतृत्व परिवर्तनको मात्र प्रश्न होइन । यो कार्यशैली, संगठनात्मक संस्कृति, निर्णय प्रक्रिया, आन्तरिक लोकतन्त्र र जनतासँगको सम्बन्धलाई नयाँ ढंगले पुनर्निर्माण गर्ने प्रश्न हो । यदि एमालेले आफ्नो मूल शक्ति — विचार, संगठन, लोकतन्त्र, राष्ट्रियता र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सक्यो भने रूपान्तरणको बहस केवल नारा होइन, व्यवहारमा रूपान्तरणको आधार बन्न सक्छ । यही बाटोले पार्टीलाई थप सशक्त, जनमुखी र भविष्यप्रति विश्वसनीय राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्छ । नेकपा एमालेजस्तो राष्ट्रव्यापी संगठन र प्रभाव भएको, देशका ठूला–ठूला संघर्ष तथा ऐतिहासिक जनआन्दोलनहरूको सफल नेतृत्व गर्दै आएको र जनताबाट ठूलो आशा तथा विश्वास प्राप्त गरेको पार्टीले सिद्धान्त, संगठन, संघर्ष र भावी नेपालको लोकतान्त्रिक मार्गबाट समाजवादी लक्ष्यतर्फ अग्रसर गराउने कार्यक्रमहरूमा आफूलाई हरेक दृष्टिले शुद्ध, स्वच्छ, सबल, सक्षम र भरोसायोग्य बनाउनुपर्छ । जनताको विश्वास र अपेक्षामा ऐतिहासिक रूपमा खरो उत्रन सक्ने क्षमता तथा व्यवहार पार्टीले निरन्तर विकास गर्दै लैजान आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार