खजुरा (बाँके) ।
बाँकेको खजुरामा युवा वर्गलाई लक्षित गर्दै १० दिने भिडिओग्राफी तथा सम्पादन तालिम सम्पन्न भएको छ । युवालाई स्वरोजगार बनाउन खजुरा गाउँपालिकाको आयोजना तथा स्किल ट्रेनिङ एन्ड रिसर्च कन्सल्टेन्सी प्रालि नेपालगन्जको प्राविधिक सहयोगमा २० जना युवाहरूलाई भिडिओग्राफी तथा सम्पादन तालिम प्रदान गरिएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै सहभागीहरूले तालिम आफूहरूलाई निकै प्रभावकारी बनेको प्रतिक्रिया दिए ।
सीप सिकाइको माध्यम बनेकोमा सहभागीले खुसी व्यक्त गरे । तालिममा सहभागी आकृति सुनारले १० दिनको तालिमले आधारभूत ज्ञान सीप लिन सकिएको भन्दै पालिकाले एडभान्स तालिमको व्यवस्था गरिदिन माग गरिन् । तालिमका अर्का सहभागी दुर्गा थापामगरले छोटो समयमा पनि धेरै ज्ञान र सीप हासिल गर्न सकिएको भन्दै आयोजकलाई धन्यबाद दिइन । तिलकसिंह रेश्मीमगरले प्रशिक्षकहरूले जीवनमा प्रत्यक्ष काम लाग्ने गरि सिकाइ प्रदान गरेको भन्दै यसको थप तालिम लिन आफूहरू उत्सुक रहेको बताए ।
खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले युवालाई स्वरोजगार बनाउने गरि थप कार्यक्रमको आवश्यकता देखिएको भन्दै तालिमको उपलब्धि सहभागीले निर्माण गरेको भिडिओले नै देखाएको बताइन् । देशमै बसेर केही गर्छु भन्ने युवा वर्गका लागि यस्तो तालिम पालिकाले प्रदान गर्न योजना बनाएको उनले उल्लेख गरिन् ।
तालिमका प्रशिक्षक तथा सञ्चारकर्मी तिलक गाहामगरले १० दिने तालिमबाट सीप सिकेर त्यसको सही सदुपयोग गर्दै आर्थिक आम्दानीको पाटोतिर लम्किन अनुरोध गरे । सञ्चारकर्मी तथा तालिम प्रशिक्षक खगेन्द्र दाहालले खजुराका युवाहरूका लागि रोजगारमूलक सीप प्रदान गर्न गरिएको प्रयास प्रशंसनीय रहेको बताए । स्किल ट्रेनिङ एन्ड रिचर्च कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक शिव रानाभाटले सामाजिक सञ्जाललाई सही सदुपयोग गरेर सिकेको सीपमार्फत आयआर्जन गर्न सकिने गरि काम गर्न अनुरोध गरे ।
न्यू डाँफे स्पोटर््स क्लबका अध्यक्ष बालाराम खत्रीले तालिमले नयाँ प्रतिभालाई उजागार गरेको बताए । तालिमको सहजीकरण गरेका सञ्चारकर्मी दाहाल र गाहामगरले भिडिओ निर्माण गर्न सक्ने दक्ष जनशक्ति पाउन मुस्किल अवस्थामा यस किसिमको तालिमले परिपूर्ति गर्न मद्दत पुग्ने बताएका थिए । तालिम जेठ २९ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्