काठमाडौँ ।
डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले शुक्रबार उक्त वेश उद्घाटन गरेका हुन् ।
डोटीको सदरमुकाम सिलगढीबाट करिब १३५ किलोमिटर पश्चिम दक्षिणी भेकमा स्थापना गरिएको सो व्यासमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।यससँगै सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन बेसको सङ्ख्या १६ पुगेको छ । जसमध्ये बागमतीमा चार, सुदूरपश्चिममा तीन, कोशी, मधेस, गण्डकी र कर्णालीमा दुई–दुई र लुम्बिनी प्रदेशमा एक वटा बेस स्थापना गरिएको छ ।
सशस्त्र प्रहरीले गत वैशाख महिनामा चतरा (सुनसरी), भारदह (सप्तरी), भकुण्डेवेशी (काभ्रेपलाञ्चोक), आरुघाट (गोरखा), बालडाँडा (जुम्ला) र डुडेझरी (कैलाली) मा विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो ।धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा सशस्त्रको विपद् व्यवस्थापन बेस सञ्चालनमा छ ।सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङ व्यासमा सशस्त्रका गोताखोर तैनाथ छन् भने अन्यमा तालिम प्राप्त टोली रहेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्