नन्दराम जैशी । सुर्खेत ।
नेतृत्वको सफलता पदमा बिताएको समयले होइन, त्यो अवधिमा छोडेको प्रभावले मापन गरिन्छ । नेपाल पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष सुशीलराज शर्माको डेढ वर्षे कार्यकाल त्यसको उदाहरण बनेको छ । कार्यकाल सकिएपछि उनलाई बधाई र प्रशंसाको ओइरो लाग्नुको कारण पनि यही हो, छोटो समयमै संस्थागत सुधार, दीर्घकालीन योजना र पत्रकार हितका थुप्रै आधारशिला निर्माण गर्नु ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि व्यवसायी, पत्रकार र नागरिक समाजका प्रतिनिधिसम्मले शर्माको कार्यकाललाई महासंघको इतिहासमा परिणाममुखी नेतृत्वका रूपमा स्मरण गरेका छन् । शर्मा नेतृत्वले गरेको काम र आगामी पुस्ताका लागि छोडेको मार्गचित्रअनुसार अघि बढ्नुपर्ने मुख्यमन्त्री यामलाल कँडेलले बताए । पत्रकारिता पेसा स्वच्छ, निष्पक्ष र मर्यादित भए अन्य क्षेत्रले पनि सिक्ने उनको भनाइ छ ।
यता शर्माले महासंघलाई व्यक्ति निर्भरभन्दा विधिनिर्भर बनाउने प्रयास गरेका थिए । उनका अनुसार महासंघको इतिहासमै पहिलोपटक ‘एकीकृत पत्रकार पुरस्कार तथा सम्मानसम्बन्धी कार्यविधि–२०८३’ र ‘पत्रकार हितकोष कार्यविधि–२०८२’ निर्माण गरियो । ‘यी कार्यविधिले पुरस्कार वितरणमा हुने विवाद, भागबण्डा र दाताको हस्तक्षेप अन्त्य गर्ने आधार तयार गरेको छ,’ उनले भने, ‘अब पुरस्कार कसलाई दिने भन्ने विषयमा विवाद हुने छैन, प्रक्रिया र मापदण्डले निर्णय गर्नेछ ।’
उनका अनुसार सुर्खेत जिल्लामा पहिलो पत्रिकाका सम्पादक÷प्रकाशक (२०२७) र महासंघ सुर्खेतका संस्थापकहरूलाई हालसम्म नचिन्ने अवस्था थियो । यस पटक पहिलो पत्रिका जुनकिरीका सम्पादक जनकराज शर्मा र सुर्खेत महासंघका संस्थापकहरू सम्मानित हुनुका साथै १२ जना पत्रकार पुरस्कृत भएका छन् । कार्यकालको सबैभन्दा उल्लेखनीय उपलब्धिमध्ये एक हो पत्रकार हितकोष स्थापना गर्नु । लामो समयदेखि चर्चा भए पनि मूर्तरूप लिन नसकेको यो योजना अन्ततः शर्माकै नेतृत्वमा सफल भयो । उनले १४ लाख रूपैयाँँको कोष स्थापना गरेर त्यसको पहिलो हस्ताक्षरकर्ता नयाँ अध्यक्ष मधुवन बिसीलाई बनाएका छन् ।
यो कोषले भविष्यमा आर्थिक समस्यामा परेका पत्रकारलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पत्रकारिता पेसा संकटमा पर्दै गएको बेला यस्तो स्थायी कोष स्थापना हुनु महासंघको संस्थागत उपलब्धि मानिएको छ । शर्माले महासंघको इतिहास संरक्षणमा पनि विशेष ध्यान दिए । उनले सुर्खेतको पत्रकारितासम्बन्धी तथ्य र दस्तावेजलाई व्यवस्थित गर्दै ‘सुर्खेतको पत्रकारिता’ नामक पुस्तक प्रकाशन गरे । यसले जिल्लाको पत्रकारिता इतिहासलाई दस्ताबेजीकरण गर्ने महत्वपूर्ण काम गरेको छ ।
यस्तै सुर्खेतमा पहिलो पत्रिका प्रकाशन गर्ने तथा महासंघ स्थापना गर्ने अग्रज पत्रकारहरूलाई पहिचान गरी सम्मानित गर्ने अभियान पनि उनकै कार्यकालमा सुरु भयो । लामो समयसम्म ओझेलमा परेका संस्थापक र अग्रज पत्रकारलाई सार्वजनिक रूपमा सम्मान गरिएको तथ्यलाई पत्रकारिता क्षेत्रले ऐतिहासिक कदमका रूपमा लिइएको छ । डिजिटल प्रविधिको उपयोगतर्फ पनि महासंघ अघि बढ्यो ।
महासंघका गतिविधि, निर्णय र कार्यक्रमलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएको छ । यसले संस्थालाई थप पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुगेको पत्रकारहरूको भनाइ छ । शर्माको नेतृत्वको अर्को विशेषता भनेको पूर्वाधारभन्दा प्रणाली निर्माणमा केन्द्रित हुनु हो । उनले अध्यक्षीय कुर्सी नेमप्लेट वा व्यक्तिगत प्रचारमा भन्दा संस्थागत संरचना निर्माणमा ध्यान दिए । तीनवर्षे कार्ययोजना तयार गरी त्यसअनुसार काम अघि बढाइएको उनको दाबी छ ।
पदबाट बाहिरिँदै गर्दा उनले नयाँ नेतृत्वलाई केही अधुरा सपना पनि जिम्मा लगाएका छन् । महासंघभित्र पुस्तकालय स्थापना, सुर्खेतमा मिडिया मेला आयोजना, स्थानीय सञ्चार ऐन निर्माण अभियानलाई पूर्णता तथा निरन्तरता दिन उनको अनुरोध छ । ‘स्थानीय मिडियाको आर्थिक सुदृढीकरण र पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन मेरा प्राथमिक एजेन्डा हुन्,’ उनले भने, ‘विशेषगरी पत्रकार हितकोषलाई अझ बलियो बनाउने विषयमा मैले जोड दिए भने आफ्नो कार्यकालमा घण्टाघर क्षेत्रमा चिया बिक्री अभियान चलाएर दुई लाख २१ हजार रूपैयाँँ संकलन गर्न सफल भएँ । अब पनि कोष वृद्धिमा यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन आग्रह छ ।’
शर्माले महासंघमा पत्रकार छनोट र कार्यक्रममा सहभागी गराउने पुरानो अभ्यासलाई समेत अन्त्य गरेको उल्लेख गरेका छन् । पहिले विभिन्न निकायबाट ‘यति जना पत्रकार पठाइदिनु’ भन्ने पत्र आउने र सोही आधारमा सहभागिता तय हुने परिपाटी हटाइएको उनको भनाइ छ । उनका अनुसार आज पत्रकारिताको सबैभन्दा ठूलो आवश्यकता अनुशासित पत्रकार र मर्यादित पत्रकारिता हो । डिजिटल युग, आर्थिक संकट र गैरव्यावसायिक प्रतिस्पर्धाका कारण पत्रकारिता पेसा चुनौतीपूर्ण बन्दै गएको बेला महासंघले पेशागत शुद्धता र विश्वसनीयता जोगाउन अग्रसर हुनुपर्ने उनको धारणा छ ।
डेढ वर्षको छोटो अवधिमा कार्यविधि निर्माण, हितकोष स्थापना, इतिहास संरक्षण, अग्रज सम्मान, डिजिटल पारदर्शिता र दीर्घकालीन योजनाको आधार तयार गरेर शर्मा पदबाट बाहिरिएका हुन् । यही कारण धेरैले उनको कार्यकाललाई ‘समयभन्दा उपलब्धिले ठूलो’ नेतृत्वको रूपमा मूल्यांकन गरिरहेका छन् । महासंघको नेतृत्व अब नयाँ अध्यक्ष मधुवन बिसीको काँधमा पुगेको छ । तर सुशीलराज शर्माले निर्माण गरेका नीति, संरचना र संस्थागत अभ्यासहरूले आगामी नेतृत्वलाई मार्गदर्शन गर्ने आधार भने तयार भइसकेको छ । छोटो कार्यकालमै दीर्घकालीन प्रभाव छोड्न सफल नेतृत्वका रूपमा उनको नाम पनि सुर्खेत पत्रकारिता इतिहासमा स्मरणीय रहने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्