शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकारमा फेरि एकपटक राजनीतिक समीकरण र आन्तरिक शक्ति सन्तुलनको प्रभाव देखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सोमबार पाँचौँपटक मन्त्रिमण्डल पुनर्गठन गर्दै केही मन्त्री तथा राज्यमन्त्रीहरूलाई हेरफेर गरेको छ । तर, पुनर्गठनको तयारीमा रहेको नेकपा एमाले भने अन्तिम समयमा आफ्नो निर्णयबाट पछि हटेपछि सरकारभित्रको शक्ति सन्तुलनको नयाँ चित्र देखिएको छ ।
मुख्यमन्त्री शाहले आर्थिक मामिलामन्त्रीमा विक्रमसिंह धामी, आर्थिक मामिला राज्यमन्त्रीमा जुना दानी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा मानबहादुर रावल, सामाजिक विकासमन्त्रीमा बेलबहादुर रानामगर तथा सामाजिक विकास राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सरकार गठन भएको करिब दुई वर्षको अवधिमा पाँचौँपटक मन्त्रिमण्डल पुनर्गठन गर्नु सुदूरपश्चिमको राजनीतिक अस्थिरता र दलभित्रको शक्ति संघर्षको संकेतका रूपमा हेरिएको छ । सरकार गठनदेखि नै मन्त्रालय बाँडफाँट, दलगत सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व तथा आन्तरिक गुट व्यवस्थापनका विषयले मन्त्रीपरिषद् विस्तार र पुनर्गठनलाई निरन्तर प्रभावित गर्दै आएको छ ।
पुनर्गठनलाई नेपाली काँग्रेसभित्र लामो समयदेखि बढ्दै गएको असन्तुष्टि व्यवस्थापनको प्रयासका रूपमा हेरिएको छ । सरकारमा सीमित व्यक्तिहरूले मात्रै अवसर पाएको, पार्टीभित्रका विभिन्न समूह र क्षेत्रलाई उचित प्रतिनिधित्व नगरिएको तथा मन्त्री चयनमा पक्षपात भएको आरोप उठ्दै आएको थियो । पार्टीभित्रको दबाब बढ्दै गएपछि मुख्यमन्त्री शाहले केही पुराना मन्त्री हटाएर नयाँ अनुहारलाई अवसर दिएका हुन् । ‘सरकार सञ्चालनसँगै पार्टी एकता कायम राख्नु पनि चुनौतीपूर्ण विषय बनेको थियो,’ काँग्रेस निकट एक नेताले भने, ‘त्यसैले पार्टीभित्रका विभिन्न समूहलाई समेट्ने गरी पुनर्गठन गरिएको हो ।’
एमाले पछि हट्यो
मन्त्रिमण्डल फेरबदल गर्ने विषयमा अन्तिम समयमा सुदूरपश्चिममा नेकपा एमाले पछि हटेको छ । आइतबार मन्त्रिमण्डल फेरबदल गर्ने भन्दै मुख्यमन्त्री कार्यालयमा नामावली पठाएको एमालेले अन्तिम समयमा आफना मन्त्रीहरू यथावत् राखेको हो । तर, अब बजेटपछि मात्रै मन्त्री फेरबदलबारे थप छलफल हुने जनाइएको छ ।
हाल एमालेबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकासमन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा छन् । यस्तै निर्मला साउद राज्यमन्त्री छन् । सोमबार एमाले संसदीय दलले पार्टीबाट सरकारमा गएका मन्त्री फेरबदल गर्ने निर्णय लिन बैठक बसिरहेको थियो ।
त्यही बेला अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर तत्काल सरकारमा रहेका मन्त्री नफेर्न निर्देशन दिएको एक नेताले बताए । ती नेताका अनुसार एमाले संसदीय दलमा बैठक बसिरहेको थियो । त्यही बेला ओलीको सचिवालयमा रहेकी निरुदेवी पालको नम्बरबाट एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई फोन आएको थियो । जसमा अध्यक्ष ओलीले आफैँ कुरा गरेर तत्काल मन्त्री नफेर्न आफैँ निर्देशन दिएको ती नेताले बताए ।
‘उहाँले अहिले बजेटको बेला छ । यस्तो बेला मन्त्री फेर्दा राम्रो सन्देश जाँदैन । त्यसैले तत्काल सबै मन्त्री यथावत् राखौँ भन्ने कुरा गर्नुभयो,’ ती नेताले भने । यसअघि सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको काँग्रेसभित्र किचलो भएपछि असन्तुष्ट पक्षका केही मन्त्री समेट्ने गरी मन्त्रीपरिषद् हेरेफेरको तयारी भएको थियो ।
सोहीअनुरुप एमालेमा पनि मन्त्री हेरफेरको कुरा उठेको थियो । जसअनुसार एमालेले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो । एमालेबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर दलका उपनेता सन्तोष शर्मा, चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री तथा राज्यमन्त्रीमा जानकी ऐर बमलाई पठाउने एमालेले तयारी थालेको थियो ।
काँग्रेस प्रमुख सचेतकमा खड्का
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (संशोधनसहित)को दफा २६ को उपदफा (२)बमोजिम खड्कालाई उक्त जिम्मेवारीमा मनोनयन गरेका हुन् । प्रमुख सचेतक विक्रमसिंह धामीले पदबाट राजीनामा दिएसँगै खड्कालाई नियुक्ति गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्