समीक्षाः अग्नि स्पन्दन भित्र नारी चेतना



लेकप्रसाद प्याकुरेल

विषय प्रवेश

अग्नि स्पन्दन बाँकेमा रहेर साहित्य सिर्जनकर्ममा क्रियाशील साहित्यकार कल्पना पौडेल जिज्ञासुको सातौँ साहित्यिक कृति हो। ५२ वटा फुटकर कविताहरूलाई सङ्ग्रह गरी तयार पारिएको प्रस्तुत कृति ऐराउती प्रकाशनद्वारा २०८३ मा प्रकाशित गरिएको हो। १३४ पृष्ठको मध्यम लमाइगत आयाम धारण गरेको अग्नि स्पन्दनभित्र आमा ती हुन्, प्रगतिशील नारी हुँ म, छाउपडीकी छोरी, जातकी श्रीमती, सीताको अग्नि परीक्षा लगायतका शीर्षकहरूमा दृश्यात्मक रुपले र अन्य कैयौं शीर्षकहरूमा अदृश्यत्मक रुपबाट नारीवादी चेतले प्रविष्टि पाएको छ। कृतिभित्रका एक तिहाई भन्दा बढी कविताहरूमा प्रयुक्त विषयवस्तुले नारीवादी स्वरहरूको सन्धान गरेका छन् । हुन त कृतिभित्र देश परिवर्तनका संवाहक जेन्जी र जेन्जी आन्दोलनमा बगेको रगत र अस्ताएका नक्षत्रहरू केन्द्रित विषयवस्तु, प्रवासी नेपालीहरूको जन्मभूमिप्रतिको अगाध स्नेह र स्मरणहरू, निम्न वर्गप्रतिको सहानुभूति एवं उच्च वर्गको थिचोमिचोप्रतिको विरोध, देखाउनका लागि गरिएका कथित सभ्यताप्रति व्यङ्ग्य, हरेक प्राणीको प्राण भर्ने जीवनदायी एवं मनोरम प्रकृतिको चित्रण, विद्यार्थीको सपना अभिभावकको भरोसा देश र निर्माणको आधारशिला बनेका माझी रुपी शिक्षकहरूको दिनचर्या,आँसु र रगतले कोरिएका सिमानाको सिमितता भन्दा माथि उठेर प्राप्त गरिने विश्वबन्धुत्वको चाहना, जातीयताका आधारमा गरिएका विभेद, खाडीको चर्को घाम खान बाध्य पारिएका सहिदका सन्तानहरूको दुखेसो, साहुको मेलामा जीवन नाप्दै गरेका मनमायाहरूको कारुणिक दिनचर्या, जनयुद्धले उपहार स्वरूप दिएको गोलीको टुक्रो शरीर भित्रै राखेर विगत सराप्ने बखतेहरूका कथा तथा अन्य थुप्रै सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विकृतिहरू पनि कविता बनेर आएका छन् यद्यपि कृतिमा सशक्त ढङ्गले उठाइएको महत्वपूर्ण पक्ष नारी चेतना नै हो। नारी चेतना अन्तर्गत केही कविताहरूले नारीहरूको दयनीय स्थिति प्रस्तुत गर्दै उनीहरूको जनजीवनमा परिवर्तन ल्याउनका लागि आवाजहरू बुलन्द गर्नुपर्ने आवश्यकता महसुस गराएका छन् भने केही कवितामा नारीहरूलाई थप सशक्त क्रान्तिकारी र अग्रगामी बन्नका लागि प्रेरित गरिएको छ । केही कविताले नारीहरूको निरीहता, कमजोरी र लाचारीपन प्रस्तुत गरेका छन् भने केही कवितामा नारी क्रान्तिकारी, अग्रगामी र प्रगतिशील भएर देखिएका छन् । समग्रमा जिज्ञासुको अग्निस्पन्दनभित्र नारीकेन्द्रित विषयवस्तुको बाहुल्यता रहेको छ।

नारीवादी चिन्तन

महिला र पुरुषबिच समानता स्थापना गर्नु, महिलामाथि हुने सबै प्रकारका विभेद, शोषण र दमनको अन्त्य गर्नु तथा महिलालाई स्वतन्त्र, सम्मानित र अधिकारसम्पन्न मानवका रूपमा स्थापित गर्नु हो। नारीवादले महिलालाई पुरुषभन्दा माथि राख्ने होइन, बरु दुवैलाई समान अवसर र समान सम्मान दिनुपर्ने विचार प्रस्तुत गर्छ। यसले समाजमा विद्यमान पितृसत्तात्मक सोच, लैङ्गिक असमानता तथा सामाजिक अन्यायको विरोध गर्दछ। समग्रमा नारीवादी चिन्तनभित्र समानताको पक्षधर, शोषण र दमनको विरोध,स्वतन्त्रता र आत्मनिर्णय मा जोड,आत्मसम्मान र पहिचानको खोजी,पितृसत्तात्मक सोचको विरोध,सामाजिक न्यायको स्थापना लगायतका विशेषताहरू समेटिएका हुन्छन्। नेपालका सन्दर्भमा नारीवादी आवाज उठ्नुको कारक तत्व महिलाहरू माथि गरिएको शिक्षामा विभेद, शिक्षामा रोक, सम्पत्तिमाथि अधिकारको अभाव, बालविवाह, सतीप्रथा, बहुविवाह, महिलाको भूमिका घरभित्र सीमित राख्ने कुचेष्टा र पछिल्लो समयमा आएर दाइजो प्रथा, छाउपडी प्रथा, घरेलु हिंसा जस्ता सामाजिक समस्याहरूले निम्त्याएका नकरात्मक प्रभावहरूलाई लिन सकिन्छ। योगमाया न्यौपाने, मंगलादेवी सिंह लगायतका सामाजिक अभियन्ताहरूले उठाएका आवाजहरू नेपाली नारीवादी चिन्तनको इतिहास हो भने नेपालको पारिजात हुँदै बानिरा गिरी, प्रेमा शाह, सुधा त्रिपाठी, उषा शेरचन लगायतका नारी स्रष्टाहरूले उठाएका नारी केन्द्रित आवाजहरू नारीवादी चिन्तनको वर्तमान हो। यही वर्तमानको आँगनमा नारीवादी चिन्तनको विजारोपण हुनेगरी आएको कृति हो कल्पना पौडेल जिज्ञासुको अग्नि स्पन्दन। अतः अग्नि स्पन्दनभित्र प्रविष्ट नारीवादी चेतलाई प्रस्तुत गरिनु सान्दर्भिक देखिन्छ।

नारी चेतना र अग्नि स्पन्दन

कल्पना पौडेलकृत अग्नि स्पन्दन कविता सङ्ग्रहको मूल स्वर नारीवादी चेत अभिव्यक्त गर्नु नै हो। कृतिभित्र नारीहरूको यथार्थ, सृजनशीलता, पीडा, छटपटी, सान्त्वना र विद्रोही रूपहरूको अनेक स्वरूप प्राप्त हुन्छ। नारीहरू कतै विसङ्गतले निम्तो दिएको पलायनवादी सोचलाई प्राथमिकतामा राख्न बाध्य छन् भने कतै स्वयं नै विसंगतका शिकार बनेका छन्। त्यसो त अस्तित्वको लडाईँमा खरो भएर उत्रिएका क्रान्तिकारी चेतसहितका नारीहरू पनि कृतिभित्र परेका छन्। कृतिभित्र नारी पराइका कोखबाट जन्मिदिएकी लाचार सन्तान होइन बरु आमा हो, आफ्नै दिदीबहिनी हो र सिङ्गो घरलाई घरजस्तो बनाउने जीवनसंगिनी पनि हो। यो सबै सृष्टि यदि सम्भव छ भने उसैका कारण छ। उल्लिखित यथार्थप्रति आँखा चिम्लिएर नारीको अस्मितामाथि घिन लाग्दा प्रहार गर्ने, मानौँ उनीहरू लुछ्नकै लागि बनाइएका हुन् वा लुछिनकै लागि धरतीमा अवतरण भएका हुन् भने जसरी गिजोलेर उनीहरूको देहलिलालाई नै चुड्ने जघन्य पाप दिनानुदिन बढ्दै गइरहेको छ। अझै यस्ता जघन्य घटनाहरू पहुँचवाला र ठूला भनाउँदाहरूले घटाउँदा अदालत र प्रहरी प्रशासन नै रमिते बनेका उदाहरणहरू यत्रतत्र छँदैछन्। यस घटनाप्रति असन्तुष्टि जाहेर गर्दै सांकेतिक रूपबाट न्यायालयको सुधारिएको रूप हेर्न चाहेकी कवयित्री कविता मार्फत यसरी पोखिएकी छन्,
नेपथ्यमा अस्मिता लुछिँदा

चिसा परेला लिएर
जिन्दगीलाई धिक्कार गर्दैछे चेली।
अपराधी अट्टालिकामा बसेर नङ्ग्रा तिखार्दैछ।
सडकमा दिनहिन भेटिन्छ न्यायलय (पौडेल पृष्ठः ४२)।

जीवन आशा र निराशाको संगम हो। जसले आश राख्छ उसले वास्तविक जीवन भेटाउँछ भने जो निराशाको भुमरीलाई चिर्न सक्दैन उसले दुःख कारुणिकता र मृत्यु सिवाय केही भेटाउँदैन यसर्थ जीवनमा आश राख्नुपर्छ भन्ने आशावादी कोण जगाउन कृतिका केही हरफहरू सक्षम छन् । विगतमा नारीहरू सतीका नाउँमा, दाइजोका नाउँमा, बोक्सीका नाउँमा अथवा छोरो दिन नसकेका नाउँमा दन्किए र भस्म बनाइए। अबका नारी मात्रै खरानी बन्नका लागि दन्किँदैनन् बरु मौनतालाई चिरेर विद्रोहको अनल सल्काउनका लागि दन्किरहेका छन्। विगतले नारीको अस्तित्वलाई भष्म बनाइसकेको छ यद्यपि जसरी एउटा कुशल योद्धा पटकपटक पछारिँदा पनि शरीरको धुलो टकटक्याएर फेरि युद्ध मैदानमा होमिन्छ र जित निकाल्छ त्यसैगरी इतिहासले खरानी बनाइसकेको अस्तित्वलाई वर्तमानमा टकटक्याएर सुन्दर भविष्य कोर्नका लागि अथवा खरानी जस्तो निरिह होइन अग्नि जस्तो रवाफिलो अस्तित्व पुनर्लेखनका लागि एकदिन नारी अवश्य उठ्नेछन् भन्ने आशावादी आशय केन्द्रित हरफहरू कवितामा यसरी आएका छन्ः

हो म दन्किदैछु
केवल खरानी हुन होइन
आफूलाई पुनः निर्माण गर्न
आफ्नो अस्तित्वलाई भस्मबाट पुनर्लेखन गर्न
त्यो भसमा अस्तित्वको अन्त्य होइन
अग्निको निर्विकल्प गर्भ हो।…. यति बुझ
इतिहास शब्दहरूले मात्र लेखिँदैन
यिनै स्पन्दनमा सल्किएका दावानलहरूले लेख्नेछन् बुझ्यौ (पृष्ठ ११)

असंख्य व्यवहारका पहाडहरू छिचोल्दा छिचोल्दै थाकेर पनि थाके जस्ता नलाग्ने नारीहरू जो आँखामा समुन्द्र बोकेर व्यवहारले आकाश थाम्न बाध्य पारिएका छन्। तिनै नारीहरू जसले भित्रभित्रै सही नसक्नु साउनको कालो बादल बोकेर बाहिर सधैं वासन्ती मुस्कान मुस्कुराउने गर्छन्। यसर्थ यस्ता नारीहरू जे देखिन्छन् त्यो होइनन् र जे हुन् त्यो देखिँदैनन् भन्ने विरोध विरोधाभासपूर्ण वास्तविकतालाई पनि कविताका हरफहरुले प्रस्तुत गरेका छन्। मान्छे, मान्छे निर्मित देखिने फलामका हतियारहरूले प्रहार गर्दा कम घाइते हुन्छ यद्यपि शब्दका हतियारहरूले तिखा खन्जर भएर जब प्रहार गरिन्छ उठ्नै नसक्ने गरी घायल भएर ढल्छ। यही नियति भोग्न बाध्य छन् कतिपय नारी जो शब्दका तीखा खन्जरबाट एकपटक होइन पटकपटक आफ्नै घरभित्र प्रहारमा पारिन्छन्। हुन पनि श्रीमान् गुमाउँदाको घाउमा मलम लगाइदिनुपर्नेहरूले नै श्रीमान् टोकेका नाउँमा कटु वचन प्रहार गरी घरबाट निक्लिन बाध्य पारिएका नारीहरूको समाचार हाम्रा अखबारका लागि नौला होइनन्। छोरो जन्माउन नसकेको आरोपमा सौता खेप्न बाध्य पारिएका नारीहरुले नै दिनहुँ घरमा सहनु परेको वचन बाण ले छिया छिया परेको नारी मन अझै पनि हाम्रो समाजको आलो दुख्ने घाउ बनेर चह्र्याइरहेका छन्।

नारी मनका यस्ता वेदना र र छटपटीमा आधारित अदृश्य घाउहरूलाई ’देखिँदैनन् यी घाउहरू’ शीर्षकीकरण गरेको कविताले उठाएको छ। कविता संग्रह भित्र कवयित्री पौडेलले घर घरायसीका कामका बोझले आफ्नै अस्तित्व नामीट हुने गरी थिचिँदा समेत मौन व्रत बस्न बाध्य परिवेशप्रति असन्तुष्ट भाव व्यक्त गर्दै यसरी अस्तित्व गुमाइएकाहरूलाई मौनव्रत बस्नुको साटो आफ्नो अस्तित्व खोजी गर्न सुझाएकी छन्। अहिलेको युग डिजिटल युग हो। वर्तमानद्वारा अर्पित हरेक डिजिटल सामग्री बिनाको जीवन अकल्पनीय जस्तै लाग्न थालेको छ। जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाका बीडका थुप्रै अनुयायीहरू डिजिटल सामग्रीहरूको दुरुपयोग गरी अबोध र अज्ञान नारीहरूको सिकार गरिरहेछन् जुन पक्ष कवयित्रीका लागि बिझाउने काँडा हो। काँचको पर्दाभित्र रहेर टिप्पणीका नाउँमा टोक्ने, इमोजी भित्र बसेर कोपर्ने अदृश्य किराहरू नारी जातिको सोझोपन र अज्ञानताको फाइदा उठाएर नग्न वा अश्लिल सामग्री बनाई आफ्नो घिनलाग्दो स्वार्थ परिपूर्ति गरिरहेका हुन्छन्। उनीहरूको यस्तै घृणित कर्मका कारण कसैको घर भत्कन्छ, कसैको देहलीला सधैँका लागि माटोमा बिलिन भइदिन्छ। यस्तो यथार्थलाई बुझेर पनि अबुझ बनेका समाजका दूषित किराहरूप्रति कवि जिज्ञासुले यसरी आवाज उठाएकी छन्,

उनको मौनता
सेफ्टी सेटिङ होइन
बाँच्ने उपाय हो।
आफैलाई जोगाउने अन्तिम पासवर्ड हो ।
एकदिन
उनी आफ्ना शब्दहरूलाई
फायरवाल बनाउने छिन्
आफ्नो आवाजलाई सिंहनाथ
त्यो दिन
काँचको पर्दा कैद खाना होइन
मुक्तिको आकाश हुनेछ (पौडेल, पृ.५५)।

अग्नि स्पन्दन भित्र नारीलाई कारुणिकता सिर्जना गर्ने बिचारा वा कठैबरी नारीका रूपमा मात्र प्रस्तुत नगरी समाज परिवर्तनको संवाहक प्रगतिशील नारीको स्वरूपलाई पनि प्रस्तुत गरिएको छ। यस सन्दर्भमा प्रगतिशील नारी हुँ म शीर्षकीकरण गरिएको कविताले उठान गरेको विषयवस्तु सान्दर्भिक देखिन्छ । कविताभित्र सामाजिक प्रयोगशालामा प्रयोग गर्न राखिएको वस्तु जस्तो निरीह जीवन नभई विचारको कर्मशील छायाँ बनेर विचारले भोकाएकाहरुको भोकसमन गर्ने आधारका रूपमा नारीलाई चिनाइएको छ। अतः नारी चुलोकी देवी मात्र होइन बौद्धिकताकी खानी पनि हो भन्ने आधार कविताका हरफहरूले पुष्टि गरेका छन्। कविताभित्र काँधमा जिम्मेवारी बोकेर श्रम र पसिनाले जीवनको सार्थक गोरेटो कोर्ने अभियन्ताका रुपमा नारीहरू आएका छन्। नारीहरू मुक्तकण्ठले मुक्तिको गीत गाउन चाहन्छन्। रुढीवादलाई गाली गरेर परम्पराको जालो च्यात्न चाहन्छन् अनि कोरा अक्षरमा होइन व्यवहारमा प्रगतिशील चेतना प्रस्तुत गर्न चाहन्छन् भन्दै नारीलाई कर्मशील स्रष्टा जीवनरुपी गोरेटो प्रशस्त गर्ने अभियन्ता एवं विभेदरहित समाजको रूपरेखा कोर्ने प्रगतिशील व्यक्तित्वका रूपमा चिनाइएको छ। भनिन्छ भकुण्डो जति जोडसँग बजारियो त्यति नै माथि उठेर आफ्नो अस्तित्व जनाउँछ ठिक त्यसरी नै नारी जातिलाई जति दमन गरियो त्यो भन्दा डरलाग्दोसँग विद्रोहको ज्वाला सल्किन सक्छ यसर्थ यसप्रति बेलैमा सचेत हुन आग्रह गरिएको छ। जसले यो यथार्थलाई नबुझेरै आफ्नो सत्वको घमण्ड गर्छ त्यो एकदिन भान्साको धुवाबाट उठेको विद्रोहको सिकार हुन्छ र आफ्नै अस्तित्व सर्वनाश गर्छ भन्ने आसय केन्द्रित विद्रोह कवितामा यसरी प्रकट भएको छ, एकदिन ऊ बनाउने छे बारुद आफ्नै ममतालाई सवालमा बदल्ने छे। आफ्नो थकानलाई त्यो दिन बलियो र क्रान्तिकारी बादल उठ्नेछ भान्साको धुवाबाट (पृष्ठ १८)

साहित्यकार कल्पना पौडेल जिज्ञासुको साहित्यिक लेखनको प्रमुख विशेषता हो विद्रोह। समाजका होची अर्गेलीहरूले पिरोलिने साहित्यकार जिज्ञासु आफ्ना रचनाहरूमा नारीहरू माथि हुने शोषण दमन र उत्पीडन प्रति खबरदारी गर्न रुचाउँछिन्। जिज्ञासुको यही प्रवृत्ति अग्नि स्पन्दन कृतिहरूमा परेका केही रचनाहरुमा पनि देख्न सकिन्छ। आजको समाजमा नारी जेसुकै हुँदा पनि चुप लागेर बस्नुपर्छ, उसले हाँस्न बिर्सिनुपर्छ, कुनै पुरुषहरूसँग खुलेर कुरा गर्नु जतिको महापाप केही पनि हुँदैन जस्ता घेराहरू निर्माण गरी नारीहरूको स्वतन्त्रतालाई हनन गरिएको छ। यस्तो परिवेशमा अब नारी जातिहरू समाजरुपी लोटा ले थुनेर राखेको पानी बन्ने होइन स्वतन्त्र नदी बनेर बग्नुपर्छ भन्दै उठाइएको नारी विद्रोहको उदाहरण लाई यसरी प्रस्तुत गर्न सकिन्छ;

म चुप रहेँ, सभ्य कहलिएँ
प्रताडना सहेँ, असल कहलिएँ
हद नागेपछि बोलेँ विद्रोही कहलिएँ
अब म लोहोटाको बन्दी पानी बन्ने छैन।
म खेर फालिने हिउँदै झरी बन्ने छैन (पृष्ठ ३१)।

नारीका विविध स्वरूपहरूको चिनारी बोकेको अग्निस्पन्दन भित्र वास्तविक आमाहरूको स्वरूप पहिचान गर्न सकिन्छ।कृतिभित्र परेको आमा ती हुन् शीर्षकको कवितामा ती नारीहरू जसले बैसको उन्मादमा जन्माएका सन्तानहरुलाई फोहोरको डङ्गुरमा फालेर आफू सुसभ्य भएको चारित्रिक प्रमाणपत्र पेश गर्छन् उनीहरू किमार्थ आमा होइनन् बरु आमा शब्दका कलङ्क हुन् । यसर्थ वास्तविक आमा को हुन् र किन? को जानकारीमूलक परिचय यस कविताले प्रस्तुत गरेको छ। त्यसैगरी कवयित्री जिज्ञासुले नारीको कामलाई काम वा परिश्रम मात्रै मान्न पनि तयार नभएकाहरू प्रति व्यङ्ग्य गर्दै नारीलाई चुलो चौकोको देवी ठान्नेहरू तथा मान्छे कम र निशुल्क काम गर्ने मेसिन धेरै स्वीकार्नेहरूप्रति खबरदारी गरेकी छन्। जिज्ञासुको अग्नि स्पन्दन सङ्ग्रहभित्र सतीप्रथाका नवीन संस्करणहरूमाथि समेत औंला उठाइएको छ। कल्पना गर्न समेत गाह्रो पर्ने त्यही सतीप्रथाले स्वरूप बदलेको छ यद्यपि सार बदलेको छैन। सतीप्रथा उन्मूलन गर्ने चन्द्रशमशेर एकपटक जन्मिए पटकपटक जन्मिन सकेका छैनन् जसको फलस्वरूप अहिले पनि नेपालमा नयाँ संस्करणको सतीप्रथाबाट तमाम नेपाली महिलाहरू पीडित छन् जसको कारुणिक प्रस्तुतीकरणको प्रतिनिधित्व कविताका निम्न हरफहरूले गरेका छन्,

सतीप्रथा (६९)
हिजो
खुलेआम लोग्नेको मृतदेहका साथ जलाइन्थ्यो
आज
लुकी लुकी लोग्ने द्वारा नै जलाइन्छ (पौडेल, पृष्ठ,७०)।

कल्पना पौडेल जिज्ञासु स्पन्दन कविता सङ्ग्रहभित्र कतै नारीहरूको वास्तविकताको यथार्थ प्रकटीकरण गर्दै, कतै नारीहरूका विगत र वर्तमानमा दुखेका मनहरूलाई सान्त्वना दिने तवरले, कतै उत्साहित बनाएर विद्रोहका लागि हिम्मत जुटाउने गरी प्रस्तुत भएकी छन्। यसबाहेक पनि कविता सङ्ग्रहभित्र सन्तानका लागि बिदेसिँदा लान्छनाको झिरले हृदय छिया छिया पारी, शङ्काले उब्जाएका पर्खालले चरित्र घेर्ने प्रयासका कारण दुखेका नारी मनका आवाजहरू उठेका छन् त कतै बाबु बेखबर रहेको शिशुको आमा बन्दाका पीडा छटपटी र राहत होइन आहत दिने समाजले दिएको दुःखलाई प्रस्तुत गरिएको छ। कृतिभित्रको नारीचेतलाई प्रकाश पार्ने क्रममा पौराणिक मिथहरूको समेत उपयोग गरिएको छ। निर्दोष सीताहरू आफ्नैहरूबाट दोषी करार गरिन्छन् र पवित्रताको नाउँमा अग्निदाह गर्न बाध्य पारिन्छन्। सीताहरूको नैतिकता अग्निकुण्डमा जलिरहन्छ तर जल्न बाध्य बनाउने असंख्य रामहरू पुरुषहरूमा उत्तम (पुरुषोत्तम) कहलाउँछन्। सीताहरू जीवनको घनघोर वनतिर धकेलिरहन्छन्; रामहरू निर्धक्क सिंहासनमा विराजमान भई रवाफिला हुङ्कार डुक्रिरहन्छन् भन्दै पौराणिक मिथहरूको सहारा लिएर वर्तमानमा दुखेको जीवन बाँचिरहेका नारीहरूको यथार्थ प्रस्तुत गरिएको छ।

निष्कर्ष

कल्पना पौडेल जिज्ञासुको कवितासङ्ग्रह अग्नि स्पन्दनभित्र नारीवादी चेत विभिन्न कोणबाट प्रकटीकरण भएको छ। पृथ्वीभित्र चुलोकी देवी मात्रै भनिएकी नारीहरू, भान्साको धुवाबाट जन्मिन सक्ने क्रान्तिकारी नारीहरू, आमा स्वरूप धारण गरेकी सृष्टि सर्जक र संरक्षक नारीहरू, देवीको नाम दिएर सिमितताको बन्धनले बाँधिन बाध्य पारिएका नारीहरू, रक्षक र भक्षक दुवै स्वरूपमा उदाएका नारीहरू लगायतका नारीका विविध स्वरूप परेका छन् । कृतिभित्र स्रष्टा पौडेल नारीहरूको अदृश्य घाउप्रति चिन्तित छिन् र चराइरहेको घाउलाई शीतल बनाउने मलम बनेर स्वयं महिलाहरूलाई नै जुट्न आह्वान गर्छिन्। कृतिभित्र कृतिकार कतै सान्त्वनाको मलम लगाउन व्यस्त देखिन्छिन् भने कतै विद्रोहको संखनाद गर्नुपर्ने आवश्यकता औल्याउँछिन्। विगतका केही कृतिहरूमा उग्रनारीवादलाई समेत समेटेर रचना निर्माण गर्ने कल्पना पौडेल यस कृतिभित्र मात्रै संयमित नारीवादी स्रष्टाका रुपमा उदाएकी छन्। विगतका कृतिहरूका तुलनामा प्रस्तुत कृतिले कुराको भाषा भन्दा माथि उठेर साहित्यको भाषा प्राप्त गरेको छ तर केही कविताका हरफहरूमा गरिएका शब्दसंयोजन स्वस्फुर्त लाग्नुको साटो कृत्रिम र शब्दकोशको सहारा लिई जुराउनकै लागि जुराइएका जस्ता देखिन्छन्। नेपाल आमाको प्रश्न, काँचभित्र छायाँ, प्रमाणित न्याय, युगान्तकारी उज्यालो गाजाको बालक, ज्वलन्त आत्माहरूको देश लगायतका केही कविताहरू पाठकको मन जित्न सफल छन् यद्यपि कथाकार जिज्ञासुको लघुकथा सङ्ग्रहले निर्माण गरेको उचाइ अग्निस्पन्दनले लिन नसक्दा स्वयं जिज्ञासुप्रति नै चुनौती थपिएको छ। हुन त कविता लेखन र प्रकाशनको यात्रामा जिज्ञासुको अग्नि स्पन्दन एउटा बामेसराई मात्र हो तर जिज्ञासुलाई यसरी चित्त बुझाउने छुट भने अवश्य छैन। घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनलाई चिनाउन पर्याप्त छ। प्रारम्भिक चरणमै लेखिएको मुनामदनले देवकोटालाई चर्चाको शिखरमा पु¥यायो त्यसैले यसअघि ६ वटा साहित्यकृतिहरू प्रकाशनमा ल्याइसकेकी जिज्ञासुलाई पहिलो सङ्ग्रहको कसर मसर हो आगामी कृतिहरूमा थिग्रिँदै जानेछ भनेर चित्त बुझाउने छुट भने पटक्कै छैन। समग्रमा कल्पना पौडेल जिज्ञासुको अग्नि स्पन्दन कविता संग्रह देशको राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक विकृति विसंगतिहरूका कारण थलिएको वर्तमान नेपालको प्रतिविम्ब हो। निराशाजनक वर्तमानको प्रस्तुतीकरण गर्दै त्यसलाई आशावादी परिवेशमा रूपान्तरण गर्ने क्रममा आवश्यक परे विद्रोह गर्न उठ्नुपर्ने दरिला आवाजहरू उद्घोष गरिएको जिज्ञासुको अग्नि स्पन्दन कवितासङ्ग्रह नारीवादी चेतका दृष्टिले समेत सफल छ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार