वीरेन्द्रनगर ।
युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले सप्ताहव्यापी ‘जेसीज सप्ताह–२०२६’ वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको छ । संस्थाले विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै सप्ताहव्यापी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको हो ।
सुर्खेत महिला जेसीजका अध्यक्ष मनु सुनारका अनुसार कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, रक्तदान, नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर र नारी सम्मानलगायत विविध गतिविधि सञ्चालन हुँदैछन् । ती कार्यक्रमहरूमा विभिन्न क्षेत्रका व्यक्तित्व, युवायुवती, विद्यार्थी तथा स्थानीयको सहभागिता रहने अपेक्षा गरिएको उनले बताइन् ।
जेसीज सप्ताहको उद्घाटन जेठ १५ गते वीरेन्द्रनगरमा आयोजना गरिने भएको छ । कार्यक्रमको नेतृत्व जेसी लक्ष्मी बीसी र जेसी झरना विष्टले गर्नेछन् । त्यसैगरी जेठ १६ गते बिहान ६ बजे मंगलगढी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । समाजमा रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन हुने कार्यक्रमको संयोजकको रूपमा जेसी रितु वयलकोटीले काम गर्ने जनाइएको छ ।
जेठ १७ गते शुभ होटलमा नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ । युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यक्तित्व निर्माणमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको तालिमको संयोजकको रूपमा जेसी बसन्ता कार्कीले काम गर्ने संस्थाले जनाएको छ । यस्तै जेठ २२ गते वीरेन्द्रनगर–६ कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
दिउँसो एक बजे सुरु हुने शिविरमार्फत स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक जेसी बालकुमारी सुनारले जानकारी दिइन् । जेसीज सप्ताहको समापन जेठ २३ गते शुभ होटलमा ‘नारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मार्फत गरिने उल्लेख छ ।कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरूलाई सम्मान गरिनुका साथै सप्ताहभर सञ्चालन भएका कार्यक्रमका उत्कृष्ट सहभागीलाई पुरस्कार वितरण गरिनेछ ।
कार्यक्रम संयोजकको रूपमा जेसी सुमित्रा चौधरी र जेसी सुस्मिता रिजाललाई तोकिएको छ । युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको जेसीजले जनाएको छ । वीरेन्द्रनगर जेसीजका महासचिव जेसी भावना रानाले सप्ताहव्यापी कार्यक्रममा सबैको सहभागिताका लागि आग्रह गरिन् । कार्यक्रम मूल संयोजक जेसी भिमा शाहीका अनुसार जेसीज सप्ताहले सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्