सम्पादकीयः बकर इदः त्याग, आस्था र सामाजिक सद्भावको पर्व



विश्वभरका मुस्लिम समुदायले मनाउने बकर इद अर्थात् इद–उल–अज्हा केवल धार्मिक पर्व मात्र नभएर यो त्याग, समर्पण, मानवता र सामाजिक सद्भावको महत्वपूर्ण सन्देश बोकेको पर्व हो । नेपालमा पनि मुस्लिम समुदायको उल्लेखनीय उपस्थिति रहेको छ र उनीहरूले हरेक वर्ष श्रद्धा, उत्साह तथा धार्मिक विधिअनुसार यो पर्व मनाउँदै आएका छन् । विविध धर्म, संस्कृति र परम्पराको साझा थलो नेपालमा यस्ता पर्वहरूले धार्मिक सहिष्णुता र सामाजिक एकताको भावना अझ बलियो बनाउने काम गर्छन् । बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिँदै आएको छ । यसले यो पर्व राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ । इद–उल–अज्हाको ऐतिहासिक तथा धार्मिक आधार निकै महत्वपूर्ण छ । इस्लाम धर्मअनुसार अल्लाहको आदेशमा हजरत इब्राहिम आफ्नो प्रिय पुत्र इस्माइललाई बलिदान दिन तयार भएको घटनासँग यो पर्व जोडिएको छ । जब इब्राहिमले अल्लाहप्रति पूर्ण समर्पण र आज्ञापालन देखाए, तब अल्लाहले पुत्रको स्थानमा जनावरको बलि स्वीकार गर्नुभयो भन्ने धार्मिक विश्वास छ । यही घटनाको स्मरणमा मुस्लिम समुदायले बकर इदका अवसरमा निश्चित मापदण्ड पूरा गरेका जनावरको कुर्बानी दिने परम्परा विकास भएको हो ।

तर, बकर इदको सन्देशलाई केवल जनावरको बलिदानमा सीमित गर्नु यसको वास्तविक मर्मलाई संकुचित गर्नु हुनेछ । यस पर्वको मुख्य सन्देश त्याग, आत्मसंयम र अरूप्रति सहानुभूति हो । मानिसले आफ्नो स्वार्थ, लोभ, घमण्ड र नकारात्मक प्रवृत्तिलाई त्याग गरेर समाज र मानवताको पक्षमा समर्पित हुनुपर्छ भन्ने शिक्षा यसले दिन्छ । आजको भौतिकवादी र स्वार्थकेन्द्रित समाजमा यो सन्देश झनै सान्दर्भिक बनेको छ । बकर इदसामाजिक सद्भाव र सहयोगको पर्व पनि हो । कुर्बानी गरिएको मासुको एक भाग गरिब तथा विपन्न व्यक्तिलाई बाँड्ने परम्पराले समाजमा समानता र सहयोगको भावना प्रवद्र्धन गर्छ । आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई पनि पर्वको खुसीमा सहभागी बनाउने सोचले सामाजिक न्यायको भावनालाई बलियो बनाउँछ । धार्मिक अभ्याससँगै मानवीय संवेदनालाई केन्द्रमा राखिएको यो पक्ष निकै प्रशंसनीय छ । नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँ प्रत्येक समुदायका पर्वहरूको समान सम्मान आवश्यक छ । एक समुदायको पर्व अर्को समुदायका लागि पनि सम्मान र शुभकामनाको विषय बन्न सकेमा सामाजिक सद्भाव अझ बलियो हुन्छ । विभिन्न समुदायका संस्कार र परम्परालाई सम्मान गर्नु लोकतान्त्रिक र सभ्य समाजको आधारभूत मूल्य हो ।

बकर इदले पनि यही साझा संस्कृतिलाई थप मजबुत बनाउन योगदान दिन सक्छ । यद्यपि, पर्व मनाउने क्रममा केही पक्षमा ध्यान दिन आवश्यक हुन्छ । धार्मिक स्वतन्त्रताको सम्मान गर्दै सार्वजनिक स्वास्थ्य, वातावरणीय सरसफाइ र सामाजिक संवेदनशीलतालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । कुर्बानीका क्रममा सरसफाइ, व्यवस्थापन र जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालन गर्न आवश्यक छ । स्थानीय निकाय र सम्बन्धित निकायले पनि यस विषयमा उचित व्यवस्थापन गर्नुपर्छ । धार्मिक अभ्यास र सामाजिक जिम्मेवारीबीच सन्तुलन कायम गर्न सकियो भने पर्वको गरिमा अझ बढ्छ । आज विश्वका धेरै भागमा धार्मिक असहिष्णुता, द्वन्द्व र सामाजिक विभाजनका चुनौती देखिएका छन् । यस्ता समयमा बकर इदले दिने त्याग, करुणा र भाइचाराको सन्देश अत्यन्त महत्वपूर्ण छ । कुनै पनि धर्मको मूल उद्देश्य मानव कल्याण र शान्ति स्थापना नै हो । त्यसैले धर्मलाई विभाजनको होइन, एकताको माध्यम बनाउन सक्नुपर्छ । बकर इदले मानिसलाई केवल धार्मिक कर्मकाण्डमा सीमित नराखी सामाजिक उत्तरदायित्वबारे पनि सचेत बनाउँछ । अरूको दुःख बुझ्ने, आफ्नो क्षमताअनुसार सहयोग गर्ने र समाजमा सकारात्मक ऊर्जा फैलाउने प्रेरणा यसले दिन्छ । यही सन्देशलाई आत्मसात् गर्न सकियो भने बकर इद केवल एउटा पर्व नभई मानवता र सहअस्तित्वको मार्गदर्शक बन्न सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार