खगेन्द्र गिरि ’कोपिला’
पानीको आवाज हुन्छ, भाषा हुन्छ । म प्रकृतिको सामीप्यतामा आफूलाई पूर्ण रुपमा हराउँछु । यस्तो आनन्द फेरि कहाँ पाइएला र? जस्तो लाग्दछ । यो झरनामा ‘सेभेज सिस्टर्स’ नामक फिल्म बनेको छ । यहाँसम्म आउँदाको यात्रा सम्झिन्छु । माझीहरुले डुङ्गा तानेर, ठेलेर, कतै उठाएर चट्टानी खोँच हुँदै यहासम्म ल्याएका थिए । हामी हरिया चट्टान, पहाड, कलकल बगेको नदी हेर्दै आएका थियौँ । फर्किदा भने आउँदाको जस्तो दुःख भएन । डुङ्गाहरु नदीको बहावसँगै तेज गतिमा बगिरहे । नदीको बहावसंग लड्दै अगाडि बढ्ने माझीहको संघर्ष बास्तबमै सम्झनलायक थियो । झरना भएको नदी बुम्बुनगन हो । जुन पागसन्जन नदीमा मिसिदोहरेछ । पछि पो माझीले भनेर थाहा पाएँ । जीवनलाई यात्रा भनौँ कि मनलाई यात्रा भनौँ म अलमलिन्छु । यस अलमललाई झन् अलमल्याइदिन्छन् यात्राका स्मृति र स्मृतिले दिने अनुभूतिहरुले पनि ।
कहिलेकाही पढ्न पाइने नियात्रा वा यात्रावृतान्तले पनि यात्रा गरेकै जस्तो सुखद् अनुभव गराइदिन्छन् । यात्राको आनन्दभोग गर्न खुट्टा र पैताला नै हिडाउन पर्छ भन्ने कुरो मिथ्या भैदिन्छ । यात्राभन्दा मीठो त यात्राको वर्णन गर्ने अक्षर हुँदारहेछन् । म यस कुराको स्वीकारोक्ति गर्न झन् दृढ भएँ कोहलपुरका यायावर सागर गैरेकृत ‘एउटा अल्बाट्रस’ पढेपछि । सागर गैरेका ३३ वटा यात्राकथाहरुको संगालो हो ‘एउटा अल्बाट्रस’ । माया पब्लिकेशनद्वारा जो हालै प्रकाशित भएको हो । पुस्तक पढ्नु अघि मलाई लागेको थियो सागरले पुस्तकको नाम ‘एउटा अल्बाट्रस’ किन राखे होलान् ? यस पुस्तकको नाम त ‘छोएर गएका छालहरु’ राखेको भए कति सुहाउँदो हो । पुस्तक पढिसकेपछि पनि म यही कुरामा झन् दृढ भएँ । उनले यो नाम राखेर पुस्तकमाथि अन्याय नै गरेका रहेछन् । किनकि एक त यो अंग्रेजी नाम भैहाल्यो । नेपाली भाषामा लेखिएको पुस्तकको नाम नेपाली भाषाका मौलिक शब्दमा नराख्नु भनेको आफ्ना छोराछोरीको नाम सुहाना, सिमरन, एन्जेल, रोशन, सुरज, पुनम, साहिल, रेमन, सिजन, सिसम आदिआदि राखेर नेपाली शब्दहरुलाई नपत्याएजस्तै भयो ।
अर्को कुरा अल्बाट्रस भनेको एउटा सामुद्रिक चराको नाम रहेछ । यो सबैभन्दा ठूला पखेटा भएको चरा मानिन्छ । यो कतै नरोकिइकन, नओर्लिकन निरन्तर हजारौँ किलोमिटरको यात्रा गर्न सक्छ । तर यसले धेरै जसो समय समुद्रमैं बिताउँछ । ऋतु परिवर्तनसँगै निश्चित समयको लागि निश्चित बाटो हुँदै कहि पुग्छ र फेरि आफ्नै समुद्र मैं फर्किन्छ । तर सागरले त बन्धनरहित स्वच्छन्द यात्रा गरेका छन् । निश्चित उद्धेश्य र निश्चित हेराईमा उनी बाँधिएका छैनन् । उनको मन कुनै एक भूगोल र एक दृश्यमा अडिएको छैन । उनी अल्बाट्रस जस्तो हिडेको हिडेई पनि गर्दैनन् । उडेको उडेइ पनि गर्दैनन् । हिड्दा र उड्दा उनी केही न केही चिन्तनमनन नै गरिहेका हुन्छन् । खुट्टाले पुग्न नसकेको र आँखाले हेर्न नभ्याएको कुरा पनि उनले जान्न र बुझ्न भ्याएका छन् । जे हेरेका छन् त्यसलाई नियालेका मात्र छैनन् । उत्खनन र चिरफार नै गरेका छन् । यस्तो लाग्छ कतै उनी शल्यचिकित्सक त हैनन् ? सागरको मन अल्बाट्रसको जस्तो नभएर पुतलीको जस्तो छ । उनको हेराई चराको जस्तो नभएर सिंहको जस्तो छ । उनले जहाँजहाँ पुगे त्यहाँ त्यहाँको बिहङ्गावलोकन मात्र नगरेर सिंहावलोकन नै गरेका छन् । सिंहावलोकन गर्दागर्दै कतिपय अनुुभूतिहरु उनीसितै थपक्क एकाकार भएर संगसंगै हिडेका छन् । कतिपय अनुभूतिहरु छोएर गएका छालजस्तै स्मृतिमा बगेका पनि छन् । उनले यस पुस्तकको नाम ‘छोएर गएका छालहरु’ राखेको भए कति राम्रो हुँदो हो । पुस्तक पढ्दा मलाई यस्तो लागिरह्यो । मूलतः यो पुस्तक भियतनाम, मलेसिया, फिलिपिन्स, भारत र जर्जियाको सेरोफेरोमा बिस्तारित छ । प्रायः विदेश भ्रमण गर्ने नेपालीहरुको मन, रुचि र उद्धेश्य मल, होटेल, सडक, समुद्री बीच, अर्धनग्न युवती, बियर, नाँच, पौडी, सपिङ र लङड्राइभमा केन्द्रीत हुन्छ । सागर भने यी कुरा भन्दा बढी त्यहाँको इतिहास, संस्कृति, कला र प्रकृतिका आयामहरु खोतल्ने गर्छन् । उनी मनोरञ्जन भन्दा बढी अध्ययनमा डुब्छन् । त्यही भएर यो पुस्तक एकजना डुलन्तेको यात्रावर्णन नभएर एकजना अध्येताको यात्रावृत्तान्त भएको छ ।
उसो भए यो पुस्तक के इतिहास हो त?
हैन !
उसो भए यो पुस्तक के भूगोल हो त?
हैन !
उसो भए यो पुस्तक के सामाजिक शिक्षा हो त?
हैन !
उसो भए के हो त यो ?
‘एउटा अल्बाट्रस’ भूगोल, इतिहास र सामाजिक जनजीवनका शब्दचित्रहरु बटुल्दै यात्रालाई जानकारीमुलक र सार्थक बनाउने सम्यक वृत्तान्त हो । यो यात्रा मात्रै नभएर अध्ययन पनि भएको छ । अनुसन्धान पनि भएको छ । पाठकहरुलाई प्रत्येक अक्षर र प्रत्येक परिच्छेदहरुले आफैसित हिडाइरहेका हुन्छन् । केही नयाँ कुरा सुनाइरहेका हुन्छन् । उनको यात्राका सहयात्रीहरु नयाँनयाँ परिकारको खानपिन र मनोरञ्जनमा व्यस्त भएको बेला पनि उनी भने आफ्नै अध्ययनमा डुबेका हुन्छन् । यहाँसम्मकी आफ्नी जीवनसाथीसित यात्रा गरिरहेको बेलामा पनि उनी प्रेमालाप तिर नलागेर केही न केही सोचिरहेका हुन्छन् । केही न के हीखोजि नै रहेका हुन्छन् । आफ्नी श्रीमतीसित मलेसिया डुलेर फर्किदै गर्दा विमानभित्रको अवस्थामा उनी लेख्छन् ः— ‘रात बिस्तारै गहिरिदै गयो । यात्रुहरु आँखा बन्द गरेर निदाउन थाले । म झ्यालको छेउमा थिएँ । विमानभित्रको बत्ती निभेपछि एक्कासी ताराहरु टिलपिलटिलपिल गर्दै चम्किरहेका दृश्य आँखामा परे । आकाश अत्यन्त सफा छ । मैले विमानको झ्यालबाटै सप्तऋषि र तीन तारा ठम्याउन सकेँ । ताराहरुले मलाई एक्लै बाल्यकालतिर फर्कादिए । अहिले आफूलाई धु्रवताराजस्तै एक्लै पाएँ ।’ हलाङ बे, सापा र फेन्सीपान जस्ता भीयतनामका प्रख्यात पर्यटन स्थलमा पुग्दा पनि लेखकको मन होचि मिन्हको जीवनीलाई सम्झिरहेकै हुन्छ । हनोईको ट्रेन स्ट्रिटमा डुल्दै गर्दा पनि उनी भीयतनामले अमेरिकी सेनालाई कसरी पराजित गरेर लखेट्यो होला भन्दै कल्पना गरिरहेका हुन्छन् । फिलिपिन्सका व्यस्त सडकहरुमा सपिङ् गरिरहेको बेलामा पनि उनी महान स्वतन्त्रता सेनानी जोसे रिजालको विषयमा चिन्तन गरिरहेकै हुन्छन् ।
जतिखेर पनि जहाँ पुगे पनि भूगोलको उत्खनन गर्नु र दृश्यहरुको आन्तरिक सौन्दर्य कोट्याउन खोज्नु उनको ध्येय बनेको छ । उनले लेखेका छन् — ‘बिहानको पाँच नबज्दै म क्रुजको छतमा पुगेँ । समुद्रमा सानो हलचल थियो । आकाश बादलले ढाकिएको थियो । चिसो सिरसिरे बतास बगेको महसुस गरेँ । क्रुजहरु समुद्रमा चुपचाप अडिएका छन् । म सागरमाथि बसेर सागरकै विषयमा सोच्दै छु ।’ सुत्ने बेला सुत्न छाडेर हेर्न जाने ! अनि हेर्ने कुरा हेर्न छाडेर सोच्न थाल्ने लेखकले नदेखिएका कुरा खेजिरहेका हुन्छन् जतिखेर पनि । लेखक जुनबेला पनि हतारमा छन् । आफ्नो मनले टिपेका सबै कुरालाई उनी जस्ताको त्यस्तै अक्षरमा उतार्न हतारिन्छन् । तर हात, कलम र अक्षरले उनको लयलाई राम्ररी समात्न सक्दैनन् । क्षणक्षण फेरिदै जाने दृश्यभन्दा छिटो दुगुर्छ उनको जिज्ञासु मन । कतै कतै त हवाईजहाज, रेल र बसभन्दा पनि छिटो दुगुरेका छन् उनका कुतुहलहरु । बरु आफ्ना सामानहरु छुटे छुटुन् तर स्मृतिहरुलाई भने सङ्लै बोकेर लैजाने जतिखेर पनि हुटहुटी हुन्छ लेखकसंग । यो हतारले पुस्तकको बेगलाई ठाउँठाउँमा कतेकतै बिथोलिदिएको पनि छ । प्रकाशन गृहले निकालेको पुस्तक भए पनि भाषा र व्याकरणमा थुप्रै त्रुटी भेटिन्छन् । लेखक लेख्ने हतारमा सन्दर्भहरुमा विगत र वर्तमानको कालविभाजन मिलाउन पनि ठाउँठाउँमा चुकेका छन् । जे भए पनि यात्राको गन्तव्य स्मृति नै हो । लेखकले जहाँ पुगेर जे देखे त्यो भन्दा बढी स्मृति बटुलेर फर्किएका छन् । आफूले बटुलेर ल्याएका स्मृतिहरु भन्दा पनि धेरै बढी पाठकहरुका सामु राखिदिएका छन् । यो पुस्तक पढ्दै गर्दा पाठकले रोमाञ्चक अनुभूति गरिरहन्छ । पाठकलाई गराउने यो रोमाञ्चक अनुभूति नै लेखकको सामथ्र्य हो ।
‘एउटा अल्बाट्रस’ भित्रका केही प्रसङ्ग
समुद्रको नुनिलो पानी आँखा नाक र मुखमा पसेको छ। घुँडाहरु बोटमा घिस्सिएर छाला दरफराएर दुखीरहेको छ । हामी डरले चिच्याइरहेका छौँ । आत्तिएर बोट चालकलाई स्पीड रोकरोक भन्दै चिच्यारहेका छौँ । रुन पनि सकिएको छैन । हाँस्न पनि सकिएको छैन । हामी मुस्किलले रुन्चे हाँसो हाँस्छौँ । चालकले स्पीड घटाउने कुनै छाँट निकाल्दैन । ऊ त झन् हौसिइहौसिइ कुदाइरहेको छ बोट । एक जना प्रोढ व्यक्तिले पत्रिका किनिसकेपछि पसलेबाट फिर्ता भएका चानचुन पैसा लिन अस्वीकार गरिरहेका थिए । मैले के बुझेँ भने उनले पत्रिका किने । पसलेले दिएको चानचुन पैसा तिमी आफै राख फिर्ता गर्नु पर्दैन भनिरहेका थिए । पसले त्यो पैसा राख्न मानिरहेका थिएनन् । अन्ततः पसलेले फिर्ता गर्नुृ पर्ने पैसा आफै राखे । ती अधबैंसे पसलेसंग केही भलाकुसारी गर्ने मेरो चाहना भाषाको कारणले पुरा हुन सकेन । हामी हाउभावले संकेत गरेर फोटो खिच्न भने सहमत भयौँ । जर्जिया यात्राका क्रममा थुप्रै भूगोलमा पुगेर आफ्नै आँखाले नियालेर अनेक अनुभवहरु सँगाल्ने सिलसिला करिबकरिब अन्त्यतिर आइपुगेको थियो । जर्जिया छाड्दै गर्दा एउटा पर्यटकको मनमा अनौठो मिश्रण थियो, बिदाइको न्यनोपन र सम्झनाको चिसो स्पर्श केही । त्बिलिसीका गल्लीहरु, कुरा नदीको मन्द ध्वनि र घण्टाघरको बिस्तारै बजने घण्टी सबै कुरा मानौँ हामीलाई रोक्न खोजिरहेका थिए । बसको झ्यालबाट हेर्दा मेरो आँखामा समेटिएको यो देश, पहाड, नदी र इतिहास सबै स्मरणगर्न लायकका छन् । चार दिनपछि जसरी आएका थियौँ, त्यसरी नै एउटा लगेज, एउटा हेण्डक्यारी, बोकेर हामी कोठाबाट निक्लिन्छौँ । कोठा जस्तो थियो, त्यस्तै अवस्थामा छाडेर हामी निक्लिएका हुन्छौँ । हामी आउनु भन्दा अघिल्लो दिन पनि यो कोठामा कुनै यात्रुले रात बिताएको थियो होला भन्ने सोच्छु । संभवतः आज साँझसम्मै यही कोठामा बस्ने गरी कोही नयाँ यात्री आइपुग्ने छ । होटलका अस्थायी कोठाहरु पनि जीवनका स्थायी सम्झना बन्ने रहेछन् । जसरी हाम्रा लागि सम्झना बने अरु यात्रीहरुका लागि पनि बन्दा होलान् । बिहान पिएको कफी, बेसिन साबर, कमोड, ऐना, टेबल ल्याम्प सबै स्मतिमा कैद गरेर म बाहिरिन्छु । ढोका ढप्काउँछु, आफ्नो भागको रुम की रिसेप्सनमा बुझाउँछु र होटलबाट चेक आउट हुन्छु । अब अर्को बिसौनी कुन शहरको कुन होटलमा कहिले हुन्छ थाहा छैन ।









प्रतिक्रिया दिनुहोस्