खजुरा (बाँके) ।
बाँकेको खजुरामा सम्पन्न प्रथम खजुरा गोल्डकप प्रतियोगिताको गाउँभेला गरेर हिसाबकिताब सार्वजनिक गरिएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको हिसाबकिताब शुक्रबार सार्वजनिक गरिएको हो । गोल्डकप सम्पन्न गर्न सहयोग पु¥याउने स्थानीयबासी र दाताहरूको भेला गरेर आयोजकले अन्तक्र्रियासहित प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरेको थियो ।
आर्थिक विवरण प्रस्तुत गर्नुअघि स्थानीयबासीलाई प्रतियोगिता र प्रतियोगिता सञ्चालनका क्रममा भएका कमीकमजोरी औँल्याउन आग्रह गरिएको थियो । भेलामा उपस्थित स्थानीयहरूले प्रतियोगिता सञ्चालनका क्रममा भएका कमीकमजोरीहरू खुलेर औँल्याएका थिए ।
सहभागिहरूले उठाएको प्रश्न र जिज्ञासाहरूको जवाफ दिँदै क्लबका अध्यक्ष बालाराम खत्रीले पहिलो पटक गोल्डकप आयोजना गर्दा अन्जानमा कतीपय कमी भएको स्वीकार गर्दै आगामी प्रतियोगितामा सहभागिको सुझाव अनुसार कमीहरूलाई हटाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले सबैको सुझाव र आलोचनाबाट शिक्षा लिँदै अझै प्रभावकारी व्यवस्थापनमा दोस्रो गोल्डकप आयोजना गरिने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा कूल आम्दानी ५१ लाख ९६ हजार ०७१ आम्दानी भएको र ४८ लाख १९ हजार ३०४ रूपैयाँ खर्च भई ३ लाख ७६ हजार ७६७ रूपैयाँ बचत भएको अध्यक्ष खत्रीले जानकारी दिए । आम्दानी मध्ये १४ लाख ८३ हजार ५०० रूपैयाँ उठ्न बाँकी रहेको उनले बताएका छन् ।
गत वैशाख ६ गते सम्पन्न प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोट्र्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको थियो ।
प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको थियो । खजुरा गाँपालिका–४ डि गाउँस्थित मिनी रंगशालामा सम्पन्न खेलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले पराजित गर्दै गोल्डकप हात पारेको थियो ।
प्रतियोगिताको विजेतालाई ७ लाख रूपैयाँ र द्वितीयलाई ४ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्