नेपालगन्जको सुर्खेत रोडमा भवन पर्ने पुष्पाजस्तै नागरिकहरूले उपमहानगरपालिकाले लाखौँ क्षति हुनेगरी पटकपटक संरचनाहरू भत्काउन लगाएर सास्ती दिइरहेको भन्दै आक्रोशित छन् । उनीहरू सरकारले दीर्घकालीन योजना ल्याएर त्यसमा नागरिकहरूलाई सहमत गराएर एकैपटक भत्काउनुपर्नेमा पटकपटक दुःख दिने गरेको भन्दै सरकारप्रति रुष्ट छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके नेपालगन्जको धम्बोझी चोकमा रहेको एक हार्डवेयर पसलकी सञ्चालक पुष्पा गुप्ताको घरको नक्सा त्यही उपमहानगरपालिकाले पास गरेको हो जसले अहिले फुटपाथ बनाउने भन्दै उनको घरमा डोजर लगायो । पुष्पाले भनिन्, ‘जतिबेला सरकारले यो मकानको लालपुर्जा दियो र घर बन्यो त्यहीबेला भन्नुपथ्र्याे यतिमा बनाउनुस् ।
अब घडीघडीमा तोडेपछि तीन लाख, चार लाख रूपैयाँ हाम्रो खर्च भइरहेको छ । म कहाँबाट दिम् ?’ नेपालगन्जको सुर्खेत रोडमा भवन पर्ने पुष्पाजस्तै नागरिकहरूले उपमहानगरपालिकाले लाखौँ क्षति हुनेगरी पटकपटक संरचनाहरू भत्काउन लगाएर सास्ती दिइरहेको भन्दै आक्रोशित छन् । उनीहरू सरकारले दीर्घकालीन योजना ल्याएर त्यसमा नागरिकहरूलाई सहमत गराएर एकैपटक भत्काउनुपर्नेमा पटकपटक दुःख दिने गरेको भन्दै सरकारप्रति रुष्ट छन् ।
अर्काेतर्फ संरचना भत्काउने तर योजना लामो समयसम्म पूरा नगरेर अस्तव्यस्त छाड्ने गरेकोले पनि उपमहानगरप्रति आक्रोशित रहेको पाइएको छ । नेपालगन्जको सुर्खेत रोडमै रहेको होटल सम्मानका सञ्चालक भाष्कर काफ्ले पनि आफ्नो होटलको भवनको नक्सा पनि उपमहानगरले नै पास गरेको नक्सा रहेको बताउँछन् । तर, अहिले उपमहानगरले फुटपाथ बनाउने योजना अघि सारेर आफैले पास गरेको नक्सा भएको भवनमा पनि डोजर लगाइदिएको उनले बताए ।
‘आफैले पास गरेका भवनहरू भत्काउँदा पनि हामीसँग कुनै सल्लाह उपमहानगरपालिकाले गर्नु आवश्यक ठानेन । नागरिकको लाखौँ रूपैयाँ नोक्सान हुनेगरी यस्तो तरिका किन अपाएको बुझ्न सकिएको छैन,’ काफ्लेले भने । सुर्खेत रोड नजिकै रहेको एक प्लाष्टिक सप्लायर्सका सञ्चालक र घरधनी श्यामबाबु गुप्ताले अहिलेसम्म चारपटक आफ्नो घर भत्काइसकेको बताए ।
सरकारले दीर्घकालीन योजनाबिनै विभिन्न समयमा अलि अलि गर्दै सडकको क्षेत्र पर्ने भनेर संरचना भत्काउन लगाउने गरेको भन्दै उनी आक्रोशित छन् । पछिल्लोपटक नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थित र अपांगतामैत्री फुटपाथ बनाउने योजनाका लागि उनको घरमा डोजर लगाइदियो । अहिले उनी उपमहानगरपालिकाले भनेअनुसार आफ्नो घरको अगाडिपट्टिको भाग भत्काउँदै छन् ।
‘सरकारले जति भन्यो त्यति भत्काउँदै आएका छौँ । कहिले १५ मिटर भन्यो भत्कायौँ । अब ७ फुटको फुटपाथ बनाउने भनेर भत्काइरहेको छ । कतिपटक यही सडकमा पर्ने घरहरू भत्काइरहने ?’ उनले प्रश्न गरे । अर्का व्यपारी जाकिर हुसेनले पनि विकास गर्नु आवश्यक भए पनि पटकपटक एकैठाउँका नागरिक र व्यापारीहरूलाई सरकारले दुःख दिइरहेको बताए ।
‘कहिले १५ को नाउँमा, कहिले १८ को नाउँमा, कहिले २१ को नाउँमा, कहिले २५ को नाउँमा भन्दा एकैचोटी काटिदिए हुन्छ । १५ को पनि नक्सा लिएका छन् मान्छेले, २१ को पनि नक्सा लिएका छन्, २५ को पनि नक्सा लिएका छन् । यो ठिक भइरहेको छैन,’ हुसेनले भने । उनले पटकपटक सुर्खेत रोडमै तोडफोड गर्नुभन्दा अन्य वैकल्पिक सडकहरूको निर्माणमा ध्यान दिनुपर्ने बताए ।
‘यहाँ चाप बढी भएको हो भने वैकिल्पक रूपमा रिङरोड र लिंकरोडहरू बनाउन सकिन्छ । त्यसले नयाँ ठाउँको विकास पनि हुन्छ । त्यहाँका मान्छेले पनि व्यापार गर्ने ठाउँ पाउँछन् । यसरी एकै ठाउँमा मात्रै पटकपटक तोडफोड गर्नु ठिक भएन,’ उनले भने । अहिले उपमहानगरपालिकाले नालीबाट ७ फिट चौडा फुटपाथ बनाउने योजना अघि सारेकोमा त्यसभित्र पर्ने सबै संरचना हटाउनका लागि डोजर लाएर सुर्खेत रोड अस्तव्यवस्त पारेको छ ।
तर स्थानीय नागरिकहरू फेरि अर्काेपटक अर्काे योजनाका नाममा फेरि संरचना भत्काउने काम हुँदैन भन्नेमा ढुक्क हुन सकेका छैनन् ।नेपालगन्जको पुष्पलाल चोकमा एक इलेक्ट्रिकल सामानको व्यापार गर्दै आएका दिनेश केशरवाल भन्छन्, ‘कोही कोही त्यहाँको कर्मचारीले भन्छन्, ३१ मिटरसम्म काट्छम् । त्यसो भयो भने त अगाडिका सबै घरहरू गैहाल्छन् । त्यसो भए यो सहरै पूरै उजाड्दिनुस् ।’
पुष्पलाल चोककै स्थानीय तेजकुमार गुभाजु त कस्तो योजनाका लागि संरचनाहरू भत्काइएको हो भन्ने विषयमा स्थानीयहरूसँग छलफल नै नभएको बताउँछन् । उनले फुटपाथ बनाउन सुरु गरिएको ठाउँतर्फ निर्माणकार्य निकै ढिलो भइरहेको वर्षाअगावै निर्माणकार्य नसकिएमा अर्काे सास्ती थपिने बताए । अहिले संरचना तोडफोडपछि अस्तव्यस्ताले व्यापार नै हुन नसकिरहेको व्यापारीहरू बताउँछन् ।
इलेक्ट्रिक सामानको व्यापार गर्दै आएका दामोदर सापकोटाले आफूहरूको व्यापारको सबैभन्दा उपयुक्त समय यही सिजन भएकोमा अहिले नै भएको तोडफोडले व्यापार हुन नसकिरहेको बताए । खाजा नास्ताको पसल सञ्चालन गर्दै आएका शिवकुमार कश्यपले त पछिल्लो चार दिनदेखि पसल ठप्प रहेको बताए । उनको पसलमा चढ्ने सिँढी नै भत्काइएको छ । ‘भत्काउनु भत्काइहालेको थिए । अब चाँडो चाँडो निर्माणको काम सकिदिए पनि हामीलाई व्यापार गर्न त सजिलो हुने थियो । तर, अगाडिको काम हेर्दा यो वर्षा लाग्नुअघि काम पूरा हुने छाँटकाँट देखिन्न,’ कश्यपले भने ।
कतिपय व्यवसायीहरू त सरकारले संरचना भत्काउँदा अपनाउने शैली र व्यवहार पनि सही नभएको बताए । धम्बोझी चोकमै साइकल पसल रहेका व्यवसायी मो. सरिफ बागवानले आफ्नो पसल रहेको भवनको छतको एउटा कुनाको ७ इन्च मात्रै फुटपाथमाथि पर्ने भए पनि डोजर लगाएर तोडफोड गरिएको बताउँछन् । उनले भने, ‘काम गर्ने तरिका नै मिलेन । व्यवसायीहरूसँग समन्वयको कुनै काम नै गरिएन ।’
अर्काेतर्फ उपमहानगरकै यसअघिका सुस्तका कारण व्यवसायीहरूले आफै संरचना भत्काउन ढिलाइ गरेकोमा उपमहानगरले कम क्षति हुने उपाय अपाउनुको सट्टा आतंकित पार्ने काम गरेको व्यवसायीहरूको बुझाइ छ । एक अर्का व्यापारी फारुक खानले भने, ‘यसअघि पनि पटकपटक चिनो लगाउने तर वर्षाैँसम्म केही काम नगर्ने गरिएको थियो । यसपटक पनि धेरैले यो भन्नका लागि मात्रै हो भन्ने सोँचे । तर, यसपटक त्यस्तो हुँदैन । आफै भत्काउनुहोस् भनेको भए नागरिकहरूको चित्त बुझाउँदै आफै भत्काउन लगाएर क्षति कम गर्न सकिन्थ्यो ।’
व्यवसायीहरू उपमहानगरपालिकाले आफ्नो कार्यालय अघि र सञ्जीवनी अस्पताल अघि फुटपाथ बनाउने तथा संरचना भत्काउने काम नगरी पक्षपात गरेको आरोप पनि लगाएका छन् । स्थानीय नागरिक श्यामबाबु गुप्ताले भने, ‘सरकारमा बसेकाहरूले पहिला आफ्नो ठाउँबाट सुधारको काम सुरु गर्नुपर्छ । तर आफ्नै भवन अघि भत्काएको खै ?’ नेपालगन्ज उपमहानगरपालिकाले १५ दिने सूचना दिएर संरचना हटाउन भनेको थियो । तर, व्यापारीहरू भने उपमहानगरले माइकिङमार्फत सूचना जारी गरेको भए सबैले आफै संरचना हटाउने र क्षति कम हुने बताइरहेका छन् ।
यसअघि धेरैपटक सूचना जारी गरे पनि योजना अघि नबढाउने प्रवृत्ति रहेकोमा यसपटक स्थानीयहरूसँग प्रभावकारी सञ्चार नगरेर भत्काउने काममा मात्रै उपमहानगर लागेको नागरिकहरूको आरोप छ । नागरिकहरू अहिले उपमहानगरपालिकाले सुरु गरेको फुटपाथ निर्माणको काम समयमै सम्पन्न नभएमा थप दुःख पाइने चिन्तामा पनि छन् । अहिले धूलो सहिरहेका नागरिकहरू अब वर्षामा हिलो सहनुपर्ने हो कि भन्ने चिन्तामा रहेका पाइयो ।
हुन पनि उपमहानगरपालिकाले गणेशमान चोकदेखि धम्बोझी चोकसम्म फुटपाथ निर्माण एक वर्षमा गरिसक्ने भनेकोमा दुई वर्ष थप समय लाग्दा पनि अहिलेसम्म उक्त खण्डको निर्माणकार्य नै पूरा गर्न सकेको छैन । फुटपाथ निर्माणको काम २०८० सालको माघ महिनाबाट सुरु भई २०८१ जेठभित्र काम सक्ने भनेको उपमहानगरले एक वर्षसम्म गणेशमान चोकबाट औद्योगिक क्षेत्रसम्म मात्रै टायल बिछ्याउने र भत्काउने गर्दै सास्ती दिएको थियो ।
मुख्यसडक सुर्खेत रोडमा दुई हजार दुई सय मिटर क्षेत्रमा दुवैतर्फ नालीको किनारबाट ७ फुट चौडा फुटपाथ निर्माण गरी वृक्षारोपण समेत गर्ने योजना उपमहानगरको छ । नगरस्तरीय प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म र राँझा विमानस्थल नजिक आयल निगम चोकदेखि राँझा चोक जाने बाटोमा फुटपाथ निर्माण गर्न लागिएको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर भुपेन्द्र बोहराले बताए । उनले आगामी असार मसान्तसम्म निर्माण सकिसक्नुपर्ने लक्ष्य राखिएको जानकारी दिए । तर, उक्त अवधिभित्र निर्माण सम्पन्न हुने आधार अहिलेसम्मको गतिले नदिएको नागरिकहरूको भनाइ छ ।
फुटपाथ निर्माण योजनाका लागि दुई करोड १५ लाखमा ठेक्का खोलेकोमा गाउँले कन्स्ट्रक्सन÷पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले दुई करोड सात लाख ९९ हजार दुई सय ११ रूपैयाँ ६६ पैसामा ठेक्का पाएका छन् । आयल निगमदेखि दक्षिण तीन सय ९० मिटर र धम्बोझीदेखि कारकाँदोसम्म दुई हजार दुई सय मिटर फुटपाथ निर्माण गरिने योजना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्